लैगिकमैत्री सूचना सम्प्रेषणका चुनौती

पछिल्लो समयमा सञ्चारमाध्यम लैंगिक हिसाबले संवेदनशील बन्दै गएको देखिए पनि सञ्चारमाध्यममा लैंगिकमैत्री सूचना सम्प्रेषणमा विभिन्न समस्या छन् । प्राय:जसो राजनीतिक, अर्थ खेलकुद, मनोरञ्जन, शिक्षा तथा अन्य विषयले भरिने अखबारका पानामा आज–भोलि महिलाका विषयसँग सम्बन्धित समाचार पनि देखिन थालेका छन् । तथापि, महिलाका मुद्दा उठान गरिने शैलीमा भने ठूलो समस्या छ । जस्तै : अखबारमा बलात्कार, हत्याजस्ता हृदयविदारक महिला हिंसाका समाचारलाई पनि मनोरञ्जन सामग्रीका रूपमा प्रस्तुत गरिन्छ । केही समयअघि एक दैनिक पत्रिकामा आएको ‘यौनसम्पर्क गर्न नमान्दा श्रीमान्द्धारा श्रीमतीको योनिमा बन्चरो प्रहार’ शीर्षकको समाचार यसको एउटा उदाहरण हो । यसरी पीडितलाई थप पीडा पुग्ने गरी समाचारमा भाषाको प्रयोग गर्नु कतिको उचित हो भनेर सोच्नतिर कसैले ध्यान दिएको पाइँदैन ।
त्यसैगरी, समाचार लेख्ने मान्छेले पीडित पक्षको तस्बिर, दृश्य, पीडितको भनाइ तथा आºनो दृष्टिकोण प्रस्तुत गर्नु हुँदैन भन्दाभन्दै पनि पीडितलाई झन् समस्या पर्ने गरी समाचार आउनु नौलो होइन । जब एउटा महिला हिंसामा पर्छे भने उसले पीडाबाट मुक्त हुन आºना पीडा सञ्चारमाध्यमबाट सार्वजनिक गर्न चाहन्छे तर सचेत सञ्चारकर्मीले भने पीडितको प्रतिष्ठामा आहत नपुग्ने गरी यौनजन्य अपराधसम्बन्धी हिंसाका घटनाका सामग्री प्रसारण तथा प्रकाशन गर्दा पीडितका तर्फबाट सचेत व्यक्तिको स्वीकृति लिनुपर्ने हो । अझै नेपालको पत्रकारितामा त्यसो हुन सकेको छैन । जस्तो केही समयअघि पत्रपत्रिकामा ‘बाबुद्वारा बलात्कृत बालिकाले गर्भ बोकिन्’ भनेर आएको समाचारमा पीडक बाबुको नाम, थर, ठेगानासमेत उल्लेख गरिएको थियो । यसले ती पीडित बालिकाको पहिचान प्रस्टै खुल्छ । केही समयअघि छिमेकी मुलुक भारतमा घटेको बलात्कारको घटनामा पीडित महिलाको निधन भयो । घटनापछि भारतीय प्रधानमन्त्रीले कमजोर कानुन परिवर्तन गर्न निर्देशनसमेत दिए । पीडकलाई मृत्युदण्डको सजाय माग्दै लामो समय भारतीयहरू आन्दोलित भए र यो घटनाले अन्य मुलुकका नागरिकलाई पनि सजग बनायो । तर, उक्त घटनामा पीडित पक्षको खास परिचय अझै बाहिर आएको छैन ।
खासगरी अहिले सञ्चारमाध्यममा बलात्कार, हत्या, बोक्सीको आरोप, दाइजोलगायत विषयका समाचार आउने गरेका छन् । केही समयअघिसम्म बचेको ठाउँ भर्नका लागि मात्रै यस्ता विषयका समाचार प्रयोग गर्ने अखबारले शीर्ष समाचारका रूपमा महिला हिंसाका समाचार प्रस्तुत गर्न थालेका छन् भने आज–भोलि यस्ता विषयमा आउने समाचार संख्यात्मक रूपमा बढेको पनि देखिन्छ । यही आधारमा सञ्चारमाध्यम लैंगिक रूपमा सकारात्मक रहेको विश्लेषण गरिन्छ । तर, हामीकहाँ समाचारलाई कसरी प्रस्तुत गरियो भनेर हेर्ने परम्परा छैन । केही समयअघि ‘छोरीले बाबुको गर्भ बोकिन्’ भनेर आएको एक समाचारलाई उदाहरणका रूपमा लिन सकिन्छ । एउटा अबोध बालिकामाथि बलात्कारजस्तो जघन्य अपराध भएको थियो । त्यस घटनालाई कतिपय सञ्चारमाध्यमले मनोरञ्जन सामग्रीका रूपमा प्रस्तुत गरे । यसले ती महिलाको सामाजिक प्रतिष्ठामा कस्तो असर पर्‍यो होला ? यसले के संकेत गर्छ भने यस्ता घटनाका समाचार प्रस्तुत गर्दा अझै महिलाको आँखाबाट हेर्न सकिएको छैन । अझ भन्ने हो भने अधिकांश महिलामाथि हुने घरेलु हिंसामा महिला नै दोषी भएर समाचार आएजस्तो गरी प्रस्तुत गरिन्छ । पीडितलाई नभेटी प्रहरीले दिने सूचनाका आधारमा मात्र समाचार प्रकाशन /प्रसारण गर्दा यस्तो हुने गर्छ । त्यसो भनेर महिलाका विषयमा समाचारै आउँदैन र सबै महिलाका समाचार गलत मानसिकताबाट प्रेरित भएर आउँछन् भन्नेचाहिँ होइन ।
अहिले जति पनि महिलाका विषमा समाचार प्रकाशित /प्रसारित भएका छन् ती प्रया पत्रकार महिलाहरूले नै लेखेका छन् । त्यसो हुनाले पत्रकार महिला बढ्दै गए भने महिलाका विषयमा समाचार बढ्दै जानेमा दुईमत छैन । हुन त अहिले हरेक सञ्चारगृहले महिला विटको नै विकास गरेका छन् र उक्त विटमा समाचार लेख्ने अधिकांशमा पत्रकार महिला नै रहेका छन् । त्यसकारण पत्रकार महिलाको गुणात्मक उपस्थिति हुँदा पनि लैंगिकमैत्री सूचना सम्प्रेषणाका समस्या विस्तारै हल हुँदै जानसक्छ । त्यस्तै समय सन्दर्भले गर्दा महिलाका समाचारको स्रोत महिला बन्न नसक्दा र सूचना सम्प्रेषणमा पहुँच नहुँदा पनि महिलाका समाचार कमै आउँछन् । केही समयअघि राजधानीको अनामनगरस्थित कृष्ण प्रसाईंको घरमा काम गर्ने सरस्वती सुवेदीको मृत अवस्थामा भेटिइन् । उनको हत्यामा ओरोपितहरू हिरासतमा रहेका बेला ‘पीडकले पढ्न पाएनन्’ भन्ने समाचारलाई प्राथमिकता दिइयो । त्यति मात्रै होइन, केही उपल्ला भनिने पत्रकार महिला र महिला अधिकारकर्मी पीडकका पक्षमा खुलेरै लागेको देखियो । एक महिलाको हत्या हुनुभन्दा पीडकले पढ्न नपाउनु समाचारको विषय बन्नु एउटा उदाहरण हो ।
पहुँचका आधारमा सूचना सम्प्रेषणमा यस्ता समस्या प्राय: आउने गर्छ । त्यस्तै, पूर्वयुवराज्ञी हिमानी शाहले दोलखा भ्रमणका क्रममा आफूमाथि घरेलु हिंसा भएको खुलासा गरेकी थिइन् । उनको भनाइलाई सञ्चारमाध्यमले स्थान दिएका थिए तर त्यसपछि उनीमाथि कस्तो हिंसा भयो ? किन हिंसा भयो ? भनेर खोज्ने काम भएन । महिलाको विटमा समाचार संकलन/सम्प्रेषण गर्नेहरूको पूर्वराजपरिवारसम्म पहँुच नभएका कारण हिमानीमाथि भएको हिंसाबारे समाचार आउन नसकेको हो भन्न अप्ठ्यारो पर्दैन । महिलाले मात्रै महिलाका विषयमा लेख्नुपर्छ भन्ने मान्यताले गर्दा पनि महिलाका विषयमा समाचार सार्वजनिक हुनुमा प्रभाव पार्छ । त्यसकारण पनि समाचारदातालाई लंैगिक संवेदनाशीलतासम्बन्धी ज्ञान हुनु अत्यावश्यकता हुन्छ । यसका साथै पुरुष पत्रकार पनि महिला संवेदनशीलताबारे सचेत हुनुका साथै समाचारकक्ष समावेशी गराउन सकेमा मात्रै पनि लैंगिक मैत्री सूचना सम्प्रेषणमा देखिएका समस्या कम हुनेछन् ।

प्रतिक्रिया