आइओएमद्वारा भर्नामा कडाइ

काठमाडौं : त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले चिकित्साशास्त्र अध्ययनका लागि भर्नामा कडाइ गरेको छ । आइओएमले अब कलेजले विद्यार्थी भर्ना शैक्षिक सत्र सुरु भएको ३५ दिनभित्र मात्र गर्न पाउने व्यवस्था गरेको छ । यसअघि संस्थानबाट सम्बन्धन लिएका निजी कलेजले कोटा नपुगे वर्षैभरि विद्यार्थी भर्ना गर्दै आएका थिए ।
यो नियम एमबिबिएस, एमडी तथा पोस्ट ग्राजुएट (पिजी) सबै कार्यक्रममा लागू गरिएको आइओएमले जनाएको छ । आइओएम फ्याकल्टी बोर्डको बैठकले विद्यार्थी भर्नालाई व्यवस्थित गर्न भर्ना समयसीमा तोकेको आइओएमका सहायक डिन डा. शरद वन्तले जानकारी दिए । यही शैक्षिक सत्रबाट लागू हुने यो नियमले पहिलोपटक शिक्षा मन्त्रालयबाट छात्रवृत्तिमा एमबिबिएस पढ्ने विद्यार्थीलाई भने नछुने वन्तले बताए ।
आइओएमले पिजी पढ्ने विदेशी विद्यार्थीका लागि पनि प्रवेश परीक्षाको व्यवस्था गरेको छ । यसअघि नेपाली विद्यार्थीले मात्र प्रवेश परीक्षा दिनुपर्ने प्रावधान थियो । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन पाएका युनिभर्सल मेडिकल कलेज भैरहवा र नेसनल मेडिकल कलेज वीरगन्जले क्लिनिकल विषयमा पिजी सञ्चालन गरेका छन् ।
नेपाली विशेषज्ञ चिकित्सक उत्पादन गर्ने उद्देश्यले पिजी सञ्चालनका लागि निजी मेडिकल कलेजलाई अनुमति दिइएको भए पनि उनीहरूले विदेशी विद्यार्थीलाई प्राथमिकतामा पारेका थिए । पहिलोपटक भएकाले यसपटक परीक्षा भने कलेजले नै लिन पाउने भएका छन् । आइओएमले अर्कोपटकदेखि प्रवेश परीक्षा केन्द्रीकृत गर्ने तयारी गरेको वन्तले बताए । (सौस)

प्रतिक्रिया