७२ वर्षीया वृद्धालाई नागरिकता

nagariktaदेउखुरी, ३१ वैशाख । दुई घन्टाको बाटो हिँड्दै छोरा विश्रुसँग गाविस कार्यालय पुगेकी गोवरडिहा–९ निवासी ७२ वर्षीया मन्तुनी कुमाल नागरिकता लिन लाइनमा बसिन् । लाइनमा बसेको ६ घन्टापछि उनले नागरिकता पाइन् । इलाका प्रशासन कार्यालय लमहीका प्रमुख प्रदीपज्योति श्रेष्ठले उनलाई नागरिकता हस्तान्तरण गरे ।
‘बल्ल मेरो पनि नागरिकता बन्यो,’ आफ्नै भाषमा खुसी हुँदै भनिन्, ‘अब वृद्धभत्ता लिन पाइने भयो ।’ उनको नागरिकता नहुँदा सामाजिक सुरक्षा कार्यक्रमबाट वञ्चित हुँदै आएकी थिइन् । विसं १९९८ मा जन्मिएकी मन्तुनीले हालसम्म नागरिकता लिएकी थिइनन् । ‘हामी पनि बाहिर–बाहिर काममा व्यस्त हुन्थ्यौँ, बुबाको निधन र आमा वृद्ध भएपछि भत्ता पाउनका लागि नागरिकता बनाउन आएका हौँ,’ मन्तुनीका छोरा विश्रुले भने, ‘अब आमालाई सजिलो हुने भयो ।’ आमालाई लिएर उनी शिविरसम्म आइपुगेका हुन् । गाविस कार्यालयमा शिविर आउन लागेको थाहा पाएका विश्रु भैरहवाबाट एक दिनअघि नै घर आइपुगेका थिए । ‘कामको सिलसिलामा भैरहवा बस्छु, गाउँमा शिविर आउने थाहा पाएर एक दिनअघि नै घर आएँ ।’ छरछिमेकमा रहेका अन्य वृद्धवृद्धाले गाविसबाट नियमित भत्ता बुझ्छन् । गाउँमा आउने अन्य सेवा सुविधामा नागरिकता भएकै सहभागी हुन्छन् । तर, मन्तुनी त्यस्ता कार्यक्रमबाट वञ्चित हुँदै आएकी थिइन् । ‘गाविसबाट भत्ता बुझ्ने र कार्यक्रममा भाग लिने मन रेहे,’ मन्तुनीले भनिन्, ‘अब सजिल हुइल ।’
यस्तै, शिविरबाट गोवरडिहा–५ चिमचिमे निवासी गंगाराम थापाका जन्मजात अपांगता भएका छोरा टंक थापा र मसुरे थापाले नागरिकता प्राप्त गरे । बोल्न पनि नसक्ने, खान नसुन्ने र लठ्यौरा जस्ता देखिने उनीहरूको नागरिकता नहुँदा परिचयपत्र पाउनबाट वञ्चित थिए । ‘नागरिकता नहुँदा निकै समस्या पर्‍यो, सहयोग गर्नेहरूले नागरिकता खोइ भन्थे,’ छोराहरूको नागरिकता बनाउन शिविरमा आएका गंगारामले भने, ‘अब अलि सजिलो हुन्छ कि ?’
जन्मजात अपांगता भएका उनीहरूले नागरिकता नहुँदा अपांगता परिचयपत्र बनाउन सकेका थिएनन् । नागरिकलाई उनीहरूको घरदैलोमै सरकारी सेवा पुर्‍याउने उद्देश्यले सोमबारदेखि गोवरडिहा गाविस कार्यालयमा एकीकृत घुम्ती शिविर सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय दाङको अगुवाइमा भएको शिविरमा नागरिकता, मतदाता नामावली संकलन, स्वास्थ्य परीक्षण, कृषी र पशुका बारेमा परामर्श तथा उपचार लगायत सेवा प्रदान गरिएको छ । शिविरमा मतदाता नामावलीमा नाम दर्ता गराउनेहरूको संख्या बढ्दो रूपमा रहेको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ । नागरिकता बनाउने र पुराना नाम दर्ता गराउन छुटेकाहरूले शिविरमै पुगेर नाम दर्ता गराउने गरेको निर्वाचन कार्यालयका प्रमुख शेषमणि गौतमले जानकारी दिए । जिल्ला जनस्वास्थ्य कार्यालय दाङले सञ्चालन गरेको स्वास्थ्य शिविरमा समेत उपचार गराउनेको भिड लागेको छ । सो शिविर मंगलबारसम्म चल्ने तथा जेठ १ र २ गते लोहारपानी, काभ्रे र हाँसिपुर गाविसलाई लक्षित गरी हाँसिपुर गाविस कार्यालयबाट सेवा दिइनेछ भने ५ र ६ गते टरीगाउँ, उरहरी, फूलबारी र गोल्टाकुरी गाविसका लागि उच्च मावि उरहरीबाट सेवा प्रदान गरिने प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले जानकारी दिए । त्यस्तै, ७ र ८ गते पवननगर र शान्तिनगरका नागरिकलाई पवननगरको मावि भ्युडर सुनपुरबाट सेवा दिइने भएको छ ।

प्रतिक्रिया