इन्डो नेपाल अन्तरस्कुल कराते आज

काठमाडौं, ३० वैशाख । प्यारामाउन्ट एकेडेमी तथा जापान गोजुरियो कराते डो केन्वाकाईको आयोजनामा प्रथम नेपाल–भारत अन्तर स्कुल कराते प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा नेपालका १ सय २० र भारतका ३० गरी १ सय ५० खेलाडीले सहभागिता जनाउनेछन् । उनीहरूले टिम काता, एकल काता, कुमुतेलगायत गरी छात्र र छात्रातर्फ कुल २५ स्वर्णका लागि प्रतिस्पर्धा गर्नेछन् । कराते खेलको विकास विद्यालयस्तरबाटै गर्न सके राम्रा खेलाडी उत्पादन हुने बताउँदै प्यारामाउन्ट एकेडेमीका प्रिन्सिपल मुकुन्दकुमार पाण्डेले नेपाल र भारतका विद्यार्थीबीच प्रतियोगिता गरिएको बताए ।
प्रतियोगितामा ७ देखि ८ वर्ष, ९ देखि १० वर्ष, ११ देखि १२ वर्ष, १३ देखि १४ वर्ष र १५ वर्षमाथिका विद्यार्थीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा नेपालका आठ विद्यालय र भारतका सात विद्यालयले भाग लिनेछन् । प्रतियेगिताका लागि भारतीय खेलाडी नेपाल आइसकेका छन् । केन्वाकाईका प्रमुख प्रशिक्षक विसनसिंह खड्काले आफूहरूको लक्ष्य विद्यालयस्तरमा खेलाडी उत्पादन गर्नु रहेकाले आफूहरूले यस वर्ष भारतका केही विद्यालयको सहभागितामा खेल गराउन लागेको बताए । उनले अर्को वर्ष त्योभन्दा धेरै खेलाडीहरूको सहभागितामा खेल गराउने बताए । अघिल्लो वर्ष पन्जाबमा भएको छैटौँ एसियन गजुरियो करोत च्यामिपयनसिपमा कांस्य जितेका विशाल तामाङ, शंकर भण्डारी र नमराज गुरुङलाई आयोजक प्यारामाउन्ट स्कुलले कक्षा दससम्मका लागि छात्रवृत्ति दिएको थियो ।
प्रतियोगितामा यस वर्ष नेपालका आयोजक विद्यालयसँगै, फरवार्ड एकेडेमी, इन्टेन्सिभ इन्टरनेसनल, गिताञ्जली स्कुल, कलश विद्यामन्दिर, प्रिमियर इन्टरनेसनल, नेपाल जापान एकेडेमी तथा बुटवल गारगी एकेडेमीले सहभागिता जनाउनेछन् । त्यस्तै भारतबाट जिडिजी स्कुल, एनएचपी, एमएच र एमभी, भारतबाट भने सेन्ट जोन हाईस्कुल, न्यू कालवा र न्यू इंग्लिस हाइस्कुल सहभागी रहेका छन् । उनीहरूका खेलाडीलाई प्रतियोगिताको पूर्वसन्ध्यामा नेपालमा प्रशिक्षणसमेत दिइएको थियो ।

प्रतिक्रिया