नेपाल चौथो, अफगानिस्तान विजेता

Cricate-Nepalकाठमाडौं : मलेसियामा शनिबार सम्पन्न एसिसी यु–१९ एलिटकपमा अफगानिस्तान उपाधि रक्षा गर्न सफल भएको छ । साविक विजेता अफगानिस्तानले फाइनलमा युएईलाई १० विकेटले पराजित गर्दा गत संस्करणको उपविजेता नेपाल भने लज्जास्पद हारको सामना गर्दै चौथो स्थानमा रह्यो । तेस्रो स्थानका लागि भएको खेलमा नेपाल घरेलु टोली मलेसियाद्वारा ६  विकेटले पराजित भयो । नेपालले जितका लागि प्रस्तुत गरेको ११९ रनको लक्ष्य मलेसियाले ३८.३ ओभरमा चार विकेट गुमाएर भेटायो । नेपालका अविनाश कर्णले दुई विकेट लिए । नेपालको ब्याटिङ कमजोर रह्यो । निर्मल थापा(१२), अमित श्रेष्ठ(३२) र हरिशंकर शाह(२५)ले मात्र दोहोरो अंक छुँदा नेपाल ४४ ओभरमा समेटिएको थियो । नेपालका अन्तिम सात/आठ ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । नेपाल कुनै समय ६१–२ को स्थितिमा थियो । नेपाल सेमिफाइनलमा युएईसँग पराजित भएको थियो । शनिबार नै भएको फाइनलमा सानदार बलिङपछि प्राप्त ५८ रनको लक्ष्य अफगानिस्तानले ११.१ ओभरमा पूरा गर्‍यो । अफगानिस्तानका प्रारम्भिक ब्याट्सम्यान हस्मतुल्लाह सैदीले नटआउट ५० रन जोडे । प्रतियोगितामा कुल २४ विकेट लिएका नेपालका अविनाश बेस्ट बलर घोषित भए । यसअघि कुनै पनि नेपाली बलरले अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ विकेटसम्म लिएका थिए । (सौस)

प्रतिक्रिया