ठूलो सपना छैन, भिडियोमै रमाउँछु

Narayan-Rijalकाठमाडौं : पछिल्लो समय म्युजिक भिडियोले मोडलिङ क्षेत्रको ग्ल्यामर पनि बढाएको छ । ठूला पर्दाका चलचित्रभन्दा यस्ता भिडियोतिर कलाकारको आकर्षण बढ्दो छ । यस्तै, आकर्षणमा परेका छन् कलाकार नारायण रिजाल
दर्जनौँ रेडियो तथा स्टेज नाटक एवं आधा दर्जनभन्दा माथिका चलचित्रमा सानोतिनो भूमिका निर्वाह गरेका रिजालले पछिल्लो समय राजेशपायल राईद्वारा स्वरबद्ध ‘हे कान्छी….उम्मेरैमा भट्टी धाइयो गीतको भिडियोमा मोडलिङ गरे । यसमा आºनो राम्रो अभिनय रहेको उनले दाबी गरे । दाङ घर भएका रिजालले कलाको औपचारिक शिक्षा लिएका छैनन् । तर, उनले ०५४ सालमा सुर्खेतमा कलाकार हरिहर शर्मासँग अभिनयको प्रशिक्षण लिएका थिए । त्यसैलाई आधार बनाएर उनले नेपाली चलचित्रमा खुट्टा टेकेका हुन् ।
‘राम्रो अभिनय गर्न सक्छु,’ रिजालले भने, ‘भनसुन गरिदिने व्यक्ति नहुनाले पछि परे ।’
उनका सहपाठी कमल गाउँ, मुनाल घिमिरे अहिले नेपाली चलचित्रमा नाम कमाएका कलाकारका रूपमा काम गर्छन् । चलचित्रमा काम गर्न अवसर प्रशस्तै पाए पनि भनेजस्तो रोल नपाउँदा क्षमता देखाउन नसकेर पछि परेको उनले सुनाए । कलाक्षेत्रमा नाम र दाम कमाउने भन्दै ०५० सालमा काठमाडौंमा आएका रिजाललाई काठमाडौंको शंखमूलमा खुलेको एक अभिनय प्रशिक्षण केन्द्रले रकम कुम्ल्याएर ठग्यो । प्रस्तोता उज्ज्वल केसीले खोलेको शंखमूलको ‘भिज्युलाइजर्स एक्टिङ इन्स्चि्युट’ नामक संस्थाले दुई महिनाको रकम लिएर फरार भएको रिजालले बताए । उनले भने, ‘सो संस्थाले दिएको रसिद आफूसँग अझै सुरक्षित छ ।’
संस्थाले ठगी गरेपछि रन्थनिएका रिजालले बिजुलीबजारमा रहेको निर्देशक प्रताप सुब्बाको ‘डायमन्ड एक्टिङ सेन्टर’मा गएर गुनासो गरेका थिए । सुब्बाले कलाकारिता क्षेत्रबारे शिक्षा दिएपछि शान्त भएर घर फर्किएको उनको स्मरण छ ।
कलाकारिता क्षेत्रमा लागेपछि श्रोताको मायाभन्दा अरू केही नकमाएको उनको भनाइ छ । ‘रकम त कमाउन सकिनँ,’ उनले भने, ‘कला क्षेत्रमा पनि राम्रोसँग जम्न सकिनँ ।’ ठूलो सपनाभन्दा पनि म्युजिक भिडियो र अन्य साना अभिनय गरेर यस क्षेत्रमा रहिरहने आºनो योजना रहेको उनले सुनाए । (सौस)

प्रतिक्रिया