लघुजलविद्युत् परियोजना निर्माण सुरु

Babiya-Chaurबाबियाचौर : म्याग्दीको शिख गाविसमा सञ्चालित सामुदायिक लजमा विद्युत् आपूर्तिका लागि लघुजलविद्युत् परियोजना निर्माण सुरु भएको छ ।
मानवबस्तीदेखि टाढा रहेकाले केन्द्रीय विद्युत् प्रसारण लाइनको सम्भावना नभएपछि शिखको खोप्रा, बयलीखर्क र ढाँडखर्कस्थित सामुदायिक लजका लागि ४० किलोवाट क्षमताको घोस्तेखोर लघुजलविद्युत्् परियोजना निर्माण गर्न लागिएको हो ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत शिखको फलाते–ढाँडखर्क–बयलीखर्क हुँदै खोप्रा लेक जाने पदमार्गमा भ्रमण गर्ने पर्यटक बढ्न थाले पनि विद्युत् अभावमा उनीहरूलाई सुविधा दिन नसकेकाले स्थानीय समुदाय आºनै पहलमा परियोजना निर्माणमा जुटेका हुन् । एक करोड ५५ लाखको लगानीमा घोस्तेखोर खोलाको पानी प्रयोग गरेर निर्माण गरिने परियोजनाका लागि जिविसले जनसहभागिताको कार्यक्रममार्फत यस वर्ष १० लाख रुपियाँ उपलब्ध गराएको उपभोक्ता समितिका अध्यक्ष लोकबहादुर पाइजाले बताए ।
जिविसको अनुदानबाहेक बाँकी सबै स्थानीय स्रोत, दाताको सहयोग र समुदायको लगानीमा परियोजना बनाउन लागिएको उनले बताए । उनका अनुसार परियोजना निर्माणका लागि म्याग्दीका सामाजिक कार्यकर्ता महावीर पुन, बागवीर पाइजालगायत अगुवाले पहल गरेका छन् ।
शान्त र प्राकृतिक वातावरण, जैविक विविधता, हिमशृंखलाको नजिकबाट अवलोकन गर्न सकिने भएकाले यो पदमार्गमा पर्यटक बढ्न थालेका हुन् । पदमार्गमा स्थानीयवासीले विद्यालय सञ्चालनका लागि आयस्रोत जुटाउन सामुदायिक लज सञ्चालन गरेका छन् । लजमा उपयोग गरेर बचत भएको विद्युत् स्थानीयवासीलाई पनि वितरण गरिने योजना बनाइएको छ ।

प्रतिक्रिया