नागरिकता वितरणप्रति ‘नेकपा’को विरोध

maobadisकाठमाडौं, २२ वैशाख । ऋषिराम शर्मा नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जन्मका आधारमा वितरण गरिएको नागरिकताका कारण वास्तविक नेपाली नागरिक पुन: नागरिकता विहीन हुने जनाएको छ ।
नेकपाको आइतबार काठमाडौंमा बसेको बैठकले जन्मका आधारमा वितरण गरिएको नागरिकताप्रति ठूलो आशंका उत्पन्न भएको जनाएको छ । बैठक पछि जारी विज्ञप्ति अनुसार उसले जन्मका आधारमा वितरित नागरिकताको छानविनको माग पनि गरेको छ ।
‘गैर नेपालीलाई दिइएको नागरिकतालाई वैधता प्रदान गर्ने र वास्तविक नेपालीलाई नागरिकताबाट फेरि बञ्चित गर्ने कदमको घोर विरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘वास्तविक नेपालीलाई सहज तरिकाले नागरिकता उपलब्ध गराउन आग्रह गर्दछौं ।’
सो पार्टीले कथित चार दलीय कम्पनीको खारेजी गर्न पनि माग गरेको छ । उसले रेग्मी सरकारको बर्खास्ती, चैत–१ गतेको अध्यादेश मार्फत, अलोकतान्त्रिक तरिकाले गरिएको संविधान संशोधनको खारेज गर्न पनि माग गरेको छ ।

प्रतिक्रिया