टिम अस्पताल सञ्चालन गर

मानिसका लागि सबैभन्दा ठूलो सम्पत्ति स्वास्थ्य नै हो । स्वस्थ नागरिक राष्ट्रका अमूल्य सम्पत्ति मानिन्छन् । र, मानिसले सबैभन्दा बढी आफ्नै स्वास्थ्यको ख्याल गर्ने गरेको पाइन्छ । यति हुँदाहुँदै पनि मानिसको स्वास्थ्य थाहा नै नपाई बिग्रन्छ र अस्पतालको छहारी खोज्दै डाक्टरको शरणमा पुग्छ । यही अपर्झट आइलाग्ने रोगको उपचार गर्न अस्पताल आवश्यक भएको हो । वर्तमान अवस्थामा अस्पताल नहुने हो भने बिरामीले अकालमा मृत्युवरण गर्नुपर्ने हुन्छ । अंगभंग भएकाहरूको अवस्था अझ नाजुक बन्न पुग्छ । यसैलाई ध्यानमा राखेर विश्वका सबै मुलुकले मानव स्वास्थ्यलाई ठीक राख्न र जीवन भोगाईलाई सहज बनाउन अस्पतालहरू स्थापना गरेका छन् । जुन अस्पतालहरूमा उपचारपछि लाखौँ बिरामीले पुनर्जीवन पाएका छन् । अंगभंग भएका र अन्य विभिन्नखाले रोग बोकेर हिँडेकाहरूले सामान्य जीवनमा फर्किन पाएका छन् । यो सबै अस्पताल र त्यहाँ कार्यरत डाक्टरका कारण भएको हो । अर्थात्, वर्तमान अवस्थामा अस्पताल र डाक्टर मानिसका अभिन्न अंग बनेका छन् । नेपालकै हकमा पनि विभिन्न रोगका उपचार गर्ने थुप्रै अस्पताल स्थापना भएका छन् । सहरी क्षेत्रमा मात्र होइन दुर्गम र विकट क्षेत्रमा पनि अस्पतालको आवश्यकता पर्छ भनेर विभिन्न संघ–संस्था र दाताहरूले अस्पताल खोलेर बिरामीको सेवा गरेको पाइन्छ । नेपालमा जनसंख्या वृद्धिसँगै बिरामीको संख्या बढ्दै गएको छ । अस्पताल र डाक्टरको संख्या बिरामीको अनुपातमा कम भएको सर्वत्र महसुस गरिँदै छ ।
नेपाल जस्तो गरिब मुलुकको सरकारले सबै क्षेत्रमा अस्पताल स्थापना गरेर बिरामीलाई उपचार गराउन सक्ने अवस्था देखिँदैन । यसर्थ, सरकारले भएका अस्पताललाई टिकाउ बनाउँदै स्तरोन्नति गर्नुपर्ने देखिन्छ । तर, सञ्चारमाध्यममा आएअनुसार सात जिल्लाका बिरामीलाई सेवा पुर्‍याउँदै आएको डडेलधुरास्थित टिम अस्पताल बन्द गरिएको छ । ४० वर्ष अघिदेखि सुदूरपश्चिमका जनतालाई सेवा पुर्‍याउँदै आएको, नेपालकै राम्रो मध्येमा पर्ने, दुर्गमका जनताको अभिन्न अंग बनिसकेको टिम अस्पताल बन्द हुनु कुनै पनि हिसाबले राम्रो होइन । ४० वर्षअघि अमेरिकी नागरिक डा. सिमनले स्थापना गरेको उक्त अस्पताल हाल मानव विकास तथा सामुदायिक सेवा एचडिसिएम नामक गैरसरकारी संस्थाले सञ्चालन गरिरहेको थियो । केही समय अघिदेखि अस्पतालमा विवाद बढ्दै गएको थियो । अस्पतालमा विवाद बढ्दै गएपछि सरकारले उक्त टिम अस्पताललाई उपक्षेत्रीय अस्पताल बनाउने निर्णय गर्‍यो । यो निर्णयप्रति रुष्ट बन्दै अस्पताल व्यवस्थापनले बिरामीको वास्तै नगरी एक्कासि टिम अस्पताल बन्द गर्नु कुनै पनि हिसाबले राम्रो होइन । जेठ १ गतेसम्मको समय सरकारले दिएको थियो । तर, व्यवस्थापनले सेवा भाव र मानवीय संवेदनलाई समेत ख्याल नै नगरी अस्पताल बन्द गर्नु गैरजिम्मेवारपनको पराकाष्ट हो ।
अस्पतालमा विवाद भएपछि सरकारले त्यसको अनुगमनलाई निरन्तरता दिनुपर्ने थियो । सरकारले आफ्नो कर्तव्य पालना नगरेकै कारण अस्पतालका महत्त्वपूर्ण सामान हराएको छ । अस्पतालका महत्त्वपूर्ण र महँगा सामान हराएपछि अब उक्त अस्पतालको भौतिक संरचना मात्र बाँकी रहेको स्पष्ट हुन्छ । सेवाभावभन्दा पनि अस्पतालबाट मुनाफा मात्र कमाउन खोजिएको थियो भन्ने पनि पुष्टि भएको छ । दुर्गम क्षेत्रका जनतालाई सस्तो, सुलभ र सहज रूपमा स्वास्थ्य उपचार गर्न सकियोस् भनेर एक विदेशी सह्दयीले स्थापना गरिदिएको अस्पताल एक्कासि बन्द हुनुले नेपालको समेत बदनाम भएको छ । तसर्थ, मानवीय स्वास्थ्यलाई प्रत्यक्ष प्रभाव पार्ने अस्पताल नेपाल सरकारले तुरुन्त सञ्चालनमा ल्याउनुपर्छ र हराएका सामग्रीको खोजी गरी सामग्री लानेहरूमाथि कारबाहीसमेत गर्नुपर्छ ।

प्रतिक्रिया