निर्वाचन आयोगको निष्पक्षतामा शंका नगर : उप्रेती

Nilkantha-Upretiपोखरा, १८ वैशाख । निर्वाचन आयोगका प्रमुख आयुक्त नीलकण्ठ उप्रेतीले आयोगको निष्पक्षतामा शंका नगर्न आग्रह गरेका छन् । निर्वाचन आयोगको आयोजनामा मंगलबार पोखरामा सम्पन्न पश्चिमाञ्चलस्तरीय अन्तरक्रिया कार्यक्रममा उप्रेतीले आयोगका कामकारबाहीलाई शंका नगर्न आग्रह गरेका हुन् ।

उप्रेतीले आयोग कुनै एक पार्टी वा संस्थाको मात्र नभएर सबैको भएको बताउँदै साझा एजेन्डा बोकेको आयोगका काम निष्पक्ष हुने प्रस्ट पारे । ‘आयोगले सबै पार्टीलाई समान देख्छ,’ उप्रेतीले भने, ‘हाम्रो काममा शंका नगरौँ ।’ केही दिनयता पश्चिमाञ्चलका विभिन्न जिल्लाको भ्रमणमा रहेका उप्रेतीले संविधानसभाको चुनाव अपरिहार्य रहेको बताए । हालसम्म एक करोड १३ लाख जनताले फोटोसहितको मतदाता नामावली संकलनमा सहभागिता जनाइसकेको बताउँदै छुटेकालाई सहभागी हुन आग्रह गरे । उप्रेतीले विदेशमा रहेका नेपालीले मतदानमा भाग लिन पाउने कि नपाउने भन्नेबारे छलफल भइरहेको जानकारी दिए । ‘मतदान गर्न पाउने हरेक नागरिकको अधिकार हो,’ उप्रेतीले भन्ने, ‘यसका लागि दीर्घकालीन योजना बनाउँदै छाँै ।’
कार्यक्रममा आयोगका सचिव नारायणगोपाल मलेगोले संविधानसभा चुनावका लागि आयोगले तयार पारेको प्रक्रियामा नीतिगत सुधारका लागि अध्ययन गर्न आफूहरू जिल्ला भ्रमणमा रहेको बताए ।

प्रतिक्रिया