डकुमेन्ट्री द वेललाई गोल्डेन अवार्ड

काडमाडौं : सातौँ नेपाल अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव आइतबार सकिएको छ । दक्षिणी इथियोपियाली जनताले पानीका लागि गर्ने संघर्षको कथा रहेको डकुमेन्ट्री द वेललाई गोल्डेन अवार्ड दिँदै महोत्सव सकिएको हो । रिर्काडो रुसो र पाउलो बारबेले डकुमेन्ट्री निर्माण गरेका हुन् ।

महोत्सवको अन्तिम दिन नेवार समुदायको मौलिक भोजसहित ललितपुरको च्यासलस्थित ज्यापू समाज भवनमा आयोजित कार्यक्रममा डकुमेन्ट्रीलाई अवार्ड दिइएको हो । ताइवानी आदिवासीहरूलाई गलत रूपमा चित्रण गर्न तत्कालीन जापानिज शासकले स्थापना गरेको उ फेङको मिथकलाई भत्काउन गरिएको संघर्ष समेटिएका ताइवानी डकुमेन्ट्री द डेथ अफ उ फेङेले महोत्सवमा सिल्भर ड्रम अवार्ड पायो भने ब्रोन्ज ड्रम अवार्ड मगर लोक संगीतको नालीबेली समेटिएको सोरठी प्राप्त गर्‍यो । द डेथ अफ उ फेङे डकुमेन्ट्री कोलास योटाका र लि कुओ हाउले निर्देशन गरेका हुन् भने सोरठी हिमाल पुनको निर्देशनमा तयार भएको हो ।
ल्याटिन अमेरिकी चिल्डेरन अफ ज्यागुअर ले जुरी अवार्ड पायो । त्यस्तै २५ हजार रुपियाँसहितको प्रोत्साहन अवार्ड यसपटक लाजिम बुढामगर निर्देशित सेर्फड इन द स्काई डकुमेन्ट्रीको हातमा पर्‍यो । डकुमेन्ट्रीमा पश्चिम नेपालका हिमाली भेकमा भेडा चराउने दुई गोठालामध्ये एकले धोका दिएपछि अर्को गोठालोमा उत्पन्न मनोदशा समेटिएको छ । लघु फिल्म नालिसले भने यसपटक पब्लिक च्वाइस अवार्ड पायो ।
नेपाल पनोरमा अवार्ड गोविन्द नेपालद्वारा निर्मित तथा निर्देशित जात्रा हाँडीगाउँका ले पायो । तीन वर्ष लाएर निर्माण गरिएको १६ मिनेट लामो डकुमेन्ट्रीमा हराउँदै जान लागेको हाँडीगाउँको जात्राका समस्या समेटिएको छ ।
वैशाख १२ बाट सुरु भएको महोत्सवको नारा ‘आमसञ्चारमा अदिवासीको समान पहुँच र सहभागिता’ रहेको थियो । (सौस)

प्रतिक्रिया