लुम्लेबाट विस्थापित विद्यार्थीको पाल्पामा पुन:स्थापना

काठमाडौं, १७ वैशाख । कास्कीको लुम्लेस्थित बालमन्दिर माध्यमिक विद्यालयबाट विस्थापित विद्यार्थीलाई पाल्पाको तानसेनस्थित विद्यालयमा पठाइने भएको छ ।

शिक्षक र स्थानीयवासीको दुव्र्यवहारका कारण बालमन्दिरमा नफर्कने अडान लिएका विद्यार्थीहरू शिक्षा विभागले तानसेनस्थित जनता नमुना उच्चमाविमा पठाउने भनेपछि राजी भएका छन् । अभिभावकको उपस्थितिमा सोमबार विभागका प्रतिनिधिसँग भएको छलफलमा विद्यार्थीलाई जनता नमुना उच्चमाविमा पढाउने सहमति भएको हो । शिक्षा मन्त्रालयको निर्णयलाई लत्याउँदै विभागले विद्यार्थीलाई तानसेन पठाउने सहमति जनाएको हो । मन्त्रालयले भने ३ वैशाखमा विद्यार्थीलाई लुम्ले फर्केर वार्षिक परीक्षा दिन आग्रह गरेको थियो । आफूहरू कुनै पनि हालतमा फेरि सोही विद्यालयमा नफर्कने भन्दै विद्यार्थीहरू अभिभावकका साथ ९ वैशाखदेखि विभागमा धर्नामा बसेका थिए ।
विभागका निर्देशक टेकनारायण पाण्डेले पुन: सोही विद्यालयमा पढ्ने वातावरण नभएकाले विकल्प खोज्दा जनता नमुना उच्चमावि तानसेन पठाउने सहमति भएको जानकारी गराए । विद्यार्थी र अभिभावकको चाहनाअनुसार तानसेन छनोट गरिएको निर्देशक पाण्डेले बताए । ‘विद्यार्थीलाई फेरि त्यही विद्यालयमा पठाउने कुरा भएन,’ उनले भने, ‘विभिन्न विद्यालयको विकल्प दिइएको थियो तर उनीहरूले तानसेनमा रहेको विद्यालय छनोट गरे अनि त्यही पठाउने भयौँ ।’
विभागका अनुसार जनता नमुना उच्चमाविले विस्थापित विद्यार्थी राख्न सहमति जनाएपछि पठाउने निर्णय गरिएको हो । विद्यार्थीलाई अन्यत्र पठाएर पढ्ने वातावारण मिलाउन ढिलाइ हुँदा विद्यार्थीको पढाइ छुट्न लागेको थियो । त्यसैले विभागले काठमाडौंस्थित बल्खु आवासीय, सर्लाहीको जुरपानीस्थित नवजीवन मावि र कैलालीको टीकापुरस्थित वीरेन्द्र आवासीय विद्यालय पठाउने भने पनि विद्यार्थीहरूले मानेनन् । विद्यार्थीले आफूहरू एकै ठाउँमा पढ्ने भनेपछि विभागले जनता नमुना उमावि छनोट गरेको हो । ‘जनता नमुना विद्यालयले विद्यार्थी राख्न सहमति जनायो । हामीलाई पनि उक्त विद्यालय उपयुक्त लाग्यो,’ निर्देशक पाण्डेले भने, ‘विद्यार्थीले पनि एकै ठाउँमा पढ्छौँ भने अनि जनतालाई रोजेका हौँ ।’ यसअघि विभागले एकमुष्ट रकम दिएर आफूखुसी विद्यालयमा पढ्न प्रस्ताव गरे पनि अस्वीकार भएको थियो ।
विभागले आफूलाई तानसेन पठाउने निर्णय गरेपछि मंगलबार नयाँ विद्यालय जाने विस्थापित विद्यार्थी नीराजन भुसालले बताए । ‘विभागले धेरै दिनपछि हामीलाई अर्को विद्यालय पठाउने भएको छ,’ भुसालले सौर्यसँग भने, ‘आज नै जनता विद्यालय तानसेनमा अभिभावकसहित जान्छौँ ।’
अभिभावक मेघराज पुरीले विद्यार्थीको चाहनाअनुसार तानसेन पठाउने भएपछि आफूहरू आजै (सोमबार) जाने बताए । विद्यार्थीहरूले तानसेनमै गएर वार्षिक परीक्षा दिने भएका छन् । विभागले क्षेत्रीय शिक्षा निर्देशनालय पोखरालाई ती विद्यार्थीको आन्तरिक मूल्यांकन गरी वार्षिक परीक्षा दिलाउन निर्देशन दिइसकेको छ ।
२१ फागुनमा २२ जिल्लाका ७१ विद्यार्थी शिक्षक तथा वार्डेनको दुव्र्यवहार, कडा सजाय र मानसिक यातनाका कारण देखाउँदै लुम्लेस्थित विद्यालयबाट विस्थापित भएका थिए । त्यसमध्ये ५६ जना सरकारी छात्रवृत्तिमा अध्ययनरत विद्यार्थी छन् । यी विद्यार्थीका लागि मात्र विभागले व्यवस्थापन गरेको हो । अन्य भने आफूखुसी जानुपर्ने विभागले जनाएको छ । उनीहरू विद्यालयको छात्रावासबाट भागेर २२ गते पोखरा पुगेका थिए । कक्षा ५ देखि ७ सम्म अध्ययन गर्ने ५० छात्र र २१ छात्राले विद्यालय छाडेका थिए ।
छात्रा रेजिना बडुवालले आफूहरू मंगलबार नयाँ विद्यालयमा पढ्न जाने बताइन् । ‘ढिलै भए पनि हाम्रो मागको सुनवाइ भएको छ,’ बडुवालले भनिन्, ‘अब तानसेन गएर सबै जना पढ्छौँ ।’
मन्त्रालयले विद्यार्थीलाई यातना दिने लुम्लेको विद्यालयका प्रधानाध्यापक दयाराम सुवेदी र एक वार्डेनलाई निलम्बन गरिसकेको छ । विद्यार्थी विस्थापित भएपछि छात्रावासमा रहेका किताब र लुगा स्थानीयवासी र शिक्षकले जलाइदिएका थिए ।

प्रतिक्रिया