हरिवंशले ल्याए “चिना हराएको मान्छे”

hari-bansa-acharyaकाठमाडौं, १६ वैशाख । हास्य अभिनेता हरिवंश आचार्यद्वारा लिखित पुस्तक ‘चिना हराएको मान्छे’ सार्वजनिक भएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा हरिवंशकै व्यंग्यचित्र देखाएर कार्टुनिष्ट दुर्गा बराल (वात्स्यायन)ले पुस्तक सार्वजनिक गरे । स्वर्गीय पत्नी मीराको दोस्रो पुण्य तिथि पारेर आचार्यले पुस्तक सार्वजनिक गरेका हुन् ।

‘छोटाछोटा वाक्य, सरल र अत्यन्त मिठो भाषामा लेखिएको पुस्तक स्थापित लेखकको भन्दा कम छैन’ वात्स्यायनले कार्यक्रममा भने । पुस्तकमाथि टिप्पण्ँी गर्दै लेखक अमर न्यौपानेले यो पुस्तक एउटा दु:खद् घटनाले जन्माएको सुखद् आविष्कार भएको बताउँदै उनले भने, ‘यो जीवनकथा पढेपछि थाहा हुन्छ, हरिवंश आचार्य त्यस्ता कस्तुरी हुन्, जसलाई आफ्नो सुगन्ध बेलैमा थाहा भयो र त्यो अमूल्य सुगन्ध उनले नेपाल र नेपाली सामु उपहार दिए ।’ टिप्पण्ँीकार डा. रवीन्द्र समिरले पुस्तक शोकमा बगेको आँशुको भेललाई थुनेर निकालेको बताए ।
‘मैले सधैँ मीराको जन्मदिन मनाउँथे, आज श्राद्ध गरेर यहाँ आएको छु ।’ पुस्तक विमोचन कार्यक्रममा भावुक हुँदै आचार्यले भने, ‘मीरालाई भौतिक रूपमा छाडे पनि उनीलाई म कहिलै बिर्सन सक्दिन । पुस्तक मीराकै नाममा समर्पित छ ।’ सानो हुँदा कहिल्यै किताबमा रुची नभए पनि अहिले पुस्तक निकाल्न पाउँदा आफूलाई निकै खुशी लागेको आचार्यले सुनाए ।
पुस्तकमा आचार्यका जीवनका सुखदु:ख र सफलता समेटिएको छ । बाल्यकालमा गरेका उटपट्याङ, जीवन संघर्ष, कला क्षेत्रमा आउँदा भोगेका उतारचढावलगायत घटनाको अभिलेख पुस्तकमार्फत उनले उतारेका हुन् । ‘आफ्नो संघर्षको जीवनमा मदनकृष्ण श्रेष्ठको सहकार्य, वेदना र खुशीका पोका, अहिलेसम्मको महत्त्वपूर्ण क्षण सबै अटाउने प्रयास गरेको छु ।’ आचार्यले पुस्तकबारे जानकारी दिँदै थपे । पुस्तकमा दाम्पत्य जीवन, पत्नीको दु:खद् निधन, त्यसपछिको पीडा, दास्री पत्नी रमिलासँगको भेट र त्यसपछिको जीवनसँगै कलाकारिता र राजनीतिक घटनाका साथै गणेशमान सिंह, मनमोहन अधिकारी, मदन भण्डारीलगायतका नेतासँगको भेटका प्रसंग पनि समेटिएको छ ।
पुस्तक बिक्रीबाट उठेको रकम सामाजिक काममा खर्च गर्ने लेखक आचार्य र प्रकाशक फाइनप्रिन्टले जानकारी दिए । पुस्तक नेपालमा पहिलोपटक सीमित बाक्लो गाता संस्करण अर्थात् ‘लिमिटेड इडिसन’ यसै पुस्तकमार्फत आएको प्रकाशकले जनाएको छ । दुई हजार रुपियाँ राखिएको उक्त पुस्तकबाट उठेको ९० प्रतिशत रकम सबै मीरा आचार्यको संझनामा खोलिएको ‘मीरा चाइल्ड केयर सेन्टर’का लागि दिइने छ ।

प्रतिक्रिया