“सरकार चुनावको मिति तोक्न आतुर छ”

khilrajकाठमाडौं, १६ वैशाख । अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले सरकार संविधानसभा चुनावको मिति तोक्न आतुर रहेको बताएका छन् ।

राजधानीमा आइतबार आयोजित एक कार्यक्रममा अध्यक्ष रेग्मीले चुनावका विषयमा अनावश्यक टिप्पणी गर्नुभन्दा सकारात्मक तथा रचनात्मक धारणा राख्न आग्रह गर्दै सरकार चुनाव गराउन दृढ रहेको बताएका हुन् । ‘संविधानसभा चुनावका लागि राष्ट्र नै एकढिक्का भएर लाग्नुपर्ने अवस्था छ, सरकार छिटोभन्दा छिटो चुनावको मिति तोक्न आतुर छ,’ रेग्मीले भने, ‘यो सरकार त्यसकै लागि गठन पनि भएको हो र सरकार आफ्नो मूल कार्यप्रति सचेत एवं दृढ छ ।’
सरकारको काम मिति घोषणा मात्र नभई चुनावमा अधिकाधिक सहभागिता, चुनावको व्यावहारिक प्रयोग र चुनावको परिणामबाट गठन हुने संविधानसभाबाट दिगो संविधान निर्माण होस् भन्ने रहेको उनले स्पष्ट पारे । ‘यसका लागि चुनावसम्बन्धी कानुनी व्यवस्था, मतदाता नामावली अद्यावधिक, नागरिकता वितरण, चुनावका लागि स्रोतसाधनको व्यवस्थापन तथा चुनावमैत्री वातावरण निर्माण अत्यावश्यक छ,’ उनले भने, ‘त्यसो भएकाले त्यसतर्फ अहिले सरकार अत्यन्त सक्रिय छ ।’

प्रतिक्रिया