टोकेपछि सुआरेजलाई १० खेल प्रतिबन्ध

luis_suarez_1लन्डन : इंग्ल्यान्ड फुटबल एसोसिएसनले खेलका क्रममा चेल्सीका डिफेन्डर ब्रानिस्लाभ इभानोभिकको हात टोकेका लिभरपुलका स्ट्राइकर लुइज सुआरेजलाई १० खेलको प्रतिबन्ध सजाय सुनाएको छ । गल्ती स्वीकार गरे पनि उरुग्वेका यी फर्वाडले पछिल्लो कारबाहीले आफू छक्क परेको बताएका छन् ।
रेफ्रीले उक्त घटना नदेखे पनि टेलिभिजनमा दर्शकले सुआरेजले इभानोभिकलाई टोकेको प्रस्ट देखिएको थियो । लगत्तै तीव्र दबाबपछि सुआरेजले क्षमा मागेका थिए भने फुटबल एसोसिएसनले कारबाही प्रक्रिया अगाडि बढाएको थियो । लिभरपुलले सुआरेजलाई दुई लाख पाउन्ड जरिवाना गरिसकेको छ । सुआरेजले तीन म्याचसम्मको प्रतिबन्ध मनासिव हुने बताएका छन् । यसअघि खेलाडीलाई टोकेकै सम्बन्धमा सुआरेजले सन् २०१० मा सात खेलको प्रतिबन्ध सजाय पाएका थिए ।
नेदरल्यान्ड फुटबल संघले त्यतिबेला उनलाई कारबाही गरेको थियो । त्यतिबेला उनी अजाक्समा आबद्ध थिए र घटनालगत्तै स्वयं अजाक्सले पनि उनलाई दुई खेल प्रतिबन्ध गर्ने निर्णय गरेको थियो । सुआरेज रंगभेदी व्यवहारका कारण गत सिजन आठ खेलको प्रतिबन्धमा परेका थिए । म्यानचेस्टर युनाइटेडका फ्रान्सेली डिफेन्डर प्याट्रिक एभ्राविरुद्ध रंगभेदी व्यवहार गरेको भन्दै उनलाई उक्त सजाय सुनाइएको थियो ।

प्रतिक्रिया