माओवादीले यथास्थितिमा चुनावमा भाग नलिने

baidhyaकाठमाडौं, १३  वैशाख । सरकारविरुद्ध आन्दोलनरत नेकपा–माओवादीले यथास्थितिमा आगामी संविधानसभा चुनावमा भाग नलिने निर्णय गरेको छ । प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा गठित चुनावी सरकार गठन प्रक्रिया नै असंवैधानिक भएको उसको ठहर छ ।

मंगलबारदेखि काठमाडौंमा चलेको केन्द्रीय समिति बैठकमा बोल्ने सबै केन्द्रीय सदस्यले असंवैधानिक सरकारले गराउने चुनावमा भाग लिन नहुने धारणा राखेपछि बैठकले सोहीअनुरूपको निर्णय गरेको हो । बैठकपछि माओवादी प्रवक्ता पम्फा भुसालले अहिलेको सरकारलाई विघटन गरी दलको नेतृत्वमा राष्ट्रिय संयुक्त सरकार गठन गर्नका लागि आन्दोलनलाई थप सशक्त बनाउने निर्णय भएको बताइन् ।
बिहीबारको बैठकमा महासचिव रामबहादुर थापा र सल्लाहकार समितिका अध्यक्ष कृष्णदास श्रेष्ठले अध्यक्ष वैद्यले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि समर्थन जनाउँदै राष्ट्रवादीको मोर्चा बनाएर आन्दोलनलाई थप सशक्त बनाउनुपर्ने
धारणा राखेका थिए । बैठकले वैद्यको प्रतिवेदनलाई केही सुझावसहित सर्वसम्मतिले पारित गरेको छ ।
निर्वाचनप्रक्रिया अगाडि बढाउन सरकारले गरेको मतदाता नामावली संकलन कार्य र नागरिकता वितरण गर्ने प्रक्रियालाई बिथोल्ने निर्णय पनि माओवादीले गरेको छ । त्यस्तै गाउँदेखि केन्द्रसम्म संगठनलाई सुदृढीकरण गर्ने बैठकको निर्णय छ ।
बैठकले राष्ट्रिय स्वाधीनताको विषयलाई केन्द्रविन्दुमा राखेर आन्दोलन चर्काउने र गत १ चैतमा जारी भएको २५ बुँदे बाधाअड्काउ फुकाउ खारेज नभएसम्म सरकारसँग वार्ता नगर्ने पूर्ववत् निर्णय यथावत् राखेको छ ।
५१ सदस्यीय केन्द्रीय समितिलाई विस्तार गरी एक सय ५१ सदस्यीय बनाइएपछि माओवादीको पहिलो केन्द्रीय समितिको बैठक बसेको हो ।

प्रतिक्रिया