तोरी अभावले तेलमिल बन्द

जनकपुर, १२ वैशाख । लाखौँ रुपियाँ लगानी गरेर खानेतेल उत्पादनमा होमिएका कृषि उद्यमीहरू तोरी अभावका कारण तेलमिल बन्द भएका छन् ।

धनुषामा आव ०४५/४६ सम्म व्यावसायिक रूपमा किसानले तोरीखेती गर्ने गर्दथे तर तोरीखेती गर्न छाडेपछि तोरीको अभावका कारण तेलमिलहरू बन्द भएका हुन् ।
घरेलु तथा साना उद्योग कार्यालयको तथ्यांकअनुसार धनुषामा करोडौँ रुपियाँ लगानी गरेर करिब दुई दर्जनभन्दा बढी तेलमिल स्थापना गरिएको थियो तर तोरीको अभावका कारण अहिले सो मिल बन्द भएपछि ५ सयभन्दा बढी कामदारसमेत बेरोजगार भएका छन् ।
‘भारतबाट तस्करी भई निर्वाध रूपमा तोरीको तेल नेपाल भित्रिने गरेको छ भने अर्कोतिर तोरी उत्पादनमा कमी आएपछि तेलमिलहरू बन्द हुन गएका हुन्,’ बेँगाडावर–६ स्थित पूर्वे आयल मिलका सञ्चालक जयनारायण पूर्वेको गुनासो छ ।
धनुषा जिल्लाका किसानले अबचाहिँ व्यावसायिक रूपमा नभएर आफैँ खानका लागि थोरै मात्रामा तोरी उत्पादन गर्ने गरेको उनीहरूको भनाइ छ । तेलहन बालीका रूपमा रहेको तोरी धनुषा जिल्लामा आव ०६७/६८ मा किसानले दुई हजार ८ सय ८५ हेक्टर क्षेत्रफलमा गरी एक हजार ४ सय ४३ मेट्रिक टन उत्पादन गरेको जिल्ला कृषि विकास कार्यालय धनुषाले जनाएको छ ।
‘सुरुसुरुमा किसानले व्यावसायिक रूपमा तोरीखेती गर्ने गर्थे तर अब उत्पादनमा कमी आउन थालेपछि किसानले आफू खानका लागि मात्र तोरी उत्पादन गर्न थालेकाले तोरीको अभावका कारण तेलमिलहरू बन्द भएका हुन्,’ प्राविधिक मिथिलेश साहले भने ।
ग्रामीण क्षेत्रको अर्थव्यवस्थामा ती मिलको उल्लेखनीय भूमिका रहेको र तोरी अभावका कारण ती तेल मिलहरू बन्द भएपछि अहिले सरकारी राजस्वसमेत प्रभावित भएको छ । धनुषामा एकातिर तोरी उत्पादनमा कमी आयो भने अर्कोतिर भारतबाट निर्वाध रूपमा आउने खानेतेलका कारण तेलमिलहरू बन्द भएपछि करोडौँको लगानी डुब्न गएको मिल सञ्चालकहरूको गुनासो रहेको छ ।
तोरीको अभावका कारण बन्द भएका तेलमिलहरूलाई सरकारले रुग्ण उद्योगका रूपमा लिएर क्षतिपूर्ति दिनुपर्ने उनीहरूको माग रहेको छ ।

प्रतिक्रिया