खाद्यको चामल गोदाममै थन्कियो

chamalसोलुखुम्बु : बजार मूल्यभन्दा खाद्य संस्थानको चामल महँगो भएपछि खाद्य संस्थान सल्लेरीले बिक्रीका लागि ल्याएको अमेरिकन चामल बिक्री नभएर गोदाममै थन्किएको छ ।
खाद्य संस्थान सल्लेरीका प्रमुख गंगाप्रसाद शाहका अनुसार चालु आर्थिक वर्षका लागि छुटयाइएको दुई हजार दुई सय क्विन्टल चामलमध्ये चार सय क्विन्टल ८० केजी अमेरिकन चामल प्राप्त भएको छ । तर, त्यसको पनि बिक्री शून्य जस्तै छ । अहिले संस्थानको सल्लेरी शाखामा अरुवा सोना मन्सुली चामल प्रतिकिलो ३८ र अमेरिकन चामल ४२ प्रतिकिलो रहेको भए पनि बजारमा त्योभन्दा सस्तोमा र विभिन्न ब्रान्डका चामल रोजेर पाउने भएपछि संस्थानको चामल बिक्री नभएको हो ।
वर्षा लागिसकेकाले चामल ढुवानी गरिँदै गरेको भए पनि बिक्री नभएपछि संस्थानलाई चिन्ता परेको छ । वर्षा लागेपछि यातायातका साधन नचल्ने भएकाले त्यसबेला चामल बिक्री हुने आशा संस्थानसँग रहेको छ । उता दुई वर्षदेखि राजनीतिक सहमति नजुट्दा बिक्री गर्न नसकिएको लुक्ला डिपोमा भने यस वर्ष राजनीतिक भागबन्डा मिलेसँगै बिक्री सन्तोषजनक रहेको छ । लुक्लामा भने बजार मूल्यभन्दा खाद्य संस्थानको चामल आधा सस्तो भएपछि चामल लिनेहरूको तँछाडमछाड नै हुने गरेको छ ।
चालु आर्थिक वर्षका लागि खाद्य संस्थान सोलुखुम्बुमा दुई हजार एक सय ९५ क्विन्टल ७५ केजी चामल प्राप्त भएकोमा हालसम्म १ सय ७७ क्विन्टल ७५ केजी चामल मात्र बिक्री भएको छ ।
लुक्ला र सोताङमा भने चामल बिक्री राम्रो छ । डिपो कार्यालय लुक्लाका लागि छुट्याएको ७ सय क्विन्टल ४० केजी चामलमध्ये ६ सय २० केजी चामल बिक्री भइसकेको छ भने १ सय क्विन्टल २० केजी चामल जिल्लाबाट चलान भइसकेको छ । उता सोताङ डिपोका लागि प्राप्त नौ सय क्विन्टल चामल बिक्री भइसकेको छ । सल्लेरीका लागि प्राप्त चामल पनि सहमति जुटाएर सोताङ र लुक्लामा पठाउनुपर्ने त्यहाँका बासिन्दाले माग गरेका भए पनि खाद्य संस्थान सल्लेरीले भने यहाँको चामल जिल्लाको अन्य स्थानमा पठाउन नसक्ने भन्दै गोदाममा राखेको छ ।

प्रतिक्रिया