साढे ३२ अर्ब राजस्व असुली

काठमाडौं, ११ वैशाख । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कर राजस्ववापत ३२ अर्ब ४९ करोड ५६ लाख रुपियाँ संकलन भएको छ । करतर्फ २९ अर्ब ८५ करोड ७१ लाख र गैर करतर्फ २ अर्ब ६३ करोड ८५ लाख गरी कुल ३२ अर्ब ४९ करोड ५६ लाख रुपियाँ संकलन भएको हो । गत आवको यसै महिनामा १७ अर्ब २० करोड ८३ लाख असुली भएको तुलनामा यो २२ दशमलव ३० प्रतिशतले बढी हो ।

चैत्र महिनामा राजस्वको लक्ष्यतर्फ गत वर्षको असुलीको तुलनामा १८ दशमलव ५ प्रतिशतले वृद्धि गरी ३१ अर्ब ५६ करोड ४६ लाख रुपियाँ असुली गर्ने गरी लक्ष्य राखिएकोमा लक्ष्यभन्दा ९३ करोड १० लाख रुपियाँ बढी असुली भएको छ ।
गत आवको चैत्र महिनामा ६ अर्ब ६९ करोड ५८ लाख रुपियाँ मूल्य अभिवृद्धि कर संकलन भएकोमा यस वर्षको चैत्र महिनामा ७ अर्ब १४ करोड रुपियाँ असुली भई वृद्धि दर ६ दशमलव ६३ प्रतिशत भएको छ । यसै गरी भन्सार महसुलतर्फ गत आर्थिक वर्षको चैत्र महिनामा ३ अर्ब ८७ करोड ५२ लाख रुपियाँ असुली भएकोमा चालु आवको यस महिनामा ५ अर्ब १८ करोड ५ लाख रुपियाँ असुली भई वृद्धि दर ३३ दशमलव ६८ प्रतिशत रहेको छ । अन्त:शुल्कतर्फ गत आवको चैत्र महिनामा २ अर्ब ४५ करोड २५ लाख रुपियाँ असुल भएकोमा चालु आवको यस महिनामा ३ अर्ब ११ करोड ७९ लाख रुपियाँ असुली भई वृद्धि दर २७ दशमलव १३ प्रतिशत रहेको छ । आयकरतर्फ गत आवको यसै महिना ९ अर्ब ६ करोड ३४ लाख रुपियाँ असुली भएकोमा चालु आवको यस महिना ११ अर्ब ५३ करोड ६४ लाख रुपियाँ असुली भई वृद्धिदर २७ दशमलव २९ प्रतिशत रहेको छ । त्यसै गरी गत आवको चैत्र महिनामा रजिस्ट्रेसन दस्तुर र सवारी साधन कर ६६ करोड ३३ लाख रुपियाँ असुली भएकोमा चालु आवको यस महिनामा ८९ करोड १० लाख रुपियाँ असुल भएको छ ।
गत आर्थिक वर्षको चैत्र मसान्तसम्मको तुलनामा यस आर्थिक वर्षको चैत्र महिनासम्ममा निम्नानुसार राजस्व असुली भएको छ । यसरी राजस्व असुली उत्साहजनक रूपमा वृद्धि हुनुमा भन्सार मुल्यांकन प्रणालीमा गरिएको सुधार, मूल्यांकन प्रणालीलाई वैज्ञानिक बनाउने प्रयास, कर छली विरुद्धका अभियानहरू, चुहावट नियन्त्रणका प्रयास, मालवस्तुको आयातमा भएको वृद्धि विशेषत: मुख्य गरी सवारीसाधन, पेट्रोलियम पदार्थ, तयारी कपडा, सञ्चार उपकरण जस्ता वस्तु, भारतीय अन्त:शुल्कको खारेजी आदीका कारणले भन्सारबाट संकलन हुने राजस्व वृद्धी भएको छ । त्यसैगरी समग्र कर प्रशासनमा गरिएको सुधार प्रक्रिया, कार्यसम्पादनमा आधारित प्रोत्साहन प्रणालीको प्रयोग, सेवा क्षेत्रको बढ्दो विस्तार गरी बैंक तथा वित्तीय संस्थाहरू, करदाता शिक्षा र कर चेतना वृद्धीका लागि करदाता सेवा कार्यालयहरूको स्थापना र विस्तार, अनुसन्धानात्मक कर परीक्षण र थप कर दायित्वको सिर्जना, गैर कर राजस्वमा समेत सेवा क्षेत्रको बढ्दो योगदान, आर्थिक क्रियाकलापमा वाधक हुने बन्दहडताल जस्ता क्रियाकलापको कमी, मन्त्रालयबाट मातहत विभाग तथा कार्यालयहरूको नियमित अनुगमन, निरीक्षण तथा समन्वयमा तीव्रताका कारण देशको विद्यमान राजनीतिक अस्थिरताका बाबजुद पनि राजस्व संकलनमा उल्लेख्य प्रगति भएको छ ।

प्रतिक्रिया