कुलेखानी दोस्रोको उत्पादन बन्द

Kulekhaniकाठमाडौं, ५ वैशाख । कुलेखानी दोस्रो जलाशययुक्त जलविद्युत् आयोजनाको ट्रान्सफर्मरमा आगलागी भएको छ । हिउँदको बेलामा लोडसेडिङ न्यूनीकरणका लागि मेरुदण्ड मानिएको कुलेखानी दोस्रोमा आगलागीपछि विद्युत् उत्पादनसमेत बन्द भएको छ ।

मंगलबार राति वाइफेजको ट्रान्सफर्मरमा ब्रुसिङ भएर पड्केपछि आगलागी भएको आयोजना प्रमुख कृष्ण यादवले जानकारी दिए । ३२ मेगावाट क्षमता भएको आयोजनाले ट्रान्सफर्मर पड्कदा साढे चार मेगावाट मात्र विद्युत् उत्पादन गरिरहेको केन्द्रले जनाएको छ । मध्यरातमा कम मात्र विद्युत्को माग भएकोले कम उत्पादन भइरहे पनि पिक आवरमा भने बढी विद्युत् उत्पादन कुलेखानी दोस्रोबाट हुँदै आएको थियो ।
राति पौने १२ बजे आगलागी भएपछि स्थानीयवासी, नेपाली सेना, प्रहरी तथा दमकलको सहयोगमा एक बजे आगो नियन्त्रणमा लिएको प्रमुख यादवले जानकारी दिए । सिंगल फेजका तीन ट्रान्सफर्मरमा क्षति पुगेको र क्षतिको विवरण एकिन हुन नसकेको केन्द्रले जनाएको छ । ट्रान्सफर्मरको भित्री भाग क्षति भए नभएको टुंगो लागि नसकेकोको कारण क्षतिको विवरण एकिन हुन गाह्रो रहेको यादवले बताए । उनका अनुसार, भित्री भागमा क्षति पुगेमा पुन:निर्माणका लागि कम्तीमा ६ महिना र बाहिर मात्र क्षति भएमा करिब एक महिना लाग्छ । प्रचलित मूल्य अनुसार, एउटा ट्रान्सफर्मरको करिब १५ करोड रुपियाँ पर्छ । २४ वर्षअघिको उक्त ट्रान्सफर्मर पड्केकोबारे अनुसन्धान भइरहेको प्राधिकरणले जनाएको छ । गत वर्षसमेत ट्रान्सफर्मरमा समस्या देखिएपछि मर्मत गरिएको थियो । ‘वर्षांै पिच्छे समस्या आइरहेको छ, यो कसरी हुन गयो भनेर प्राधिकरणले अनुसन्धान गरिरहेको छ, जलविद्युत् आयोजनामा ट्रान्सफर्मर पड्कनु गम्भीर कुरा हो ।’– प्राधिकरणका एक अधिकारीले भने– ‘ट्रान्सफर्मर खराब हो कि के हो अनुसन्धान गर्नुपर्ने भएको छ ।’ समयमै आगलागी नियन्त्रण भएकोले थप क्षति भने हुन नपाएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरण भारप्रेषण केन्द्रका प्रमुख भुवन क्षेत्रीका अनुसार, कुलेखानी दोस्रोबाट प्रत्येक दिन सरदर साढे तीन लाख युनिट विद्युत् उत्पादन हुँदै आएको थियो । नेपालमा ६० मेगावाटको कुलेखानी पहिलो र ३२ मेगावाटको कुलेखानी दोस्रो मात्र जलाशययुक्त आयोजना हुन् । हिउँदमा अधिकांश जलविद्युत् आयोजनाहरूबाट एक तिहाई मात्र विद्युत् उत्पादन हुने भएकाले लोडसेडिङ न्यूनीकरणका लागि जलाशययुक्त आयोजनाहरूलाई मेरुदण्डका रूपमा लिइने गरिन्छ ।
कुलेखानी दोस्रोको उत्पादन बन्द भए पनि लोडसेडिङ नबढ्ने भारप्रेषण केन्द्र प्रमुख क्षेत्रीले जानकारी दिए । ‘उत्पादन बन्द भए पनि अरुतिरबाट तानतुन पारेर भए पनि लोडसेडिङ बढाउने पक्षमा छैनौँ ।’– उनले भने । प्राधिकरणका अनुसार, एक हजार मेगावाटको विद्युत्को माग रहेकोमा भारतबाट आयातित विद्युत्सहित करिब ४ सय ५० मेगावाट उपलब्ध छ भने ५ सय ५० मेगावाट विद्युत् अझै अभाव छ ।

प्रतिक्रिया