राष्ट्रिय भारत्तोलनमा कीर्तिमानको ओइरो

Tara-Devi-Punवीरगन्ज, ४ वैशाख । नेपाल प्रहरीकी तारा देवी पुनले ‘शालिमार प्रथम महिला तथा पुरुष खुला राष्ट्रिय भारत्तोलन प्रतियोगिता– २०७०’ को पहिलो दिन मंगलबार दुईपटक राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् । उनले स्न्याचतर्फ एक, क्लिन एन्ड जर्कमा दुई र कुलमा एक गरी चार राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् ।

०६९ मा काठमाडांैमा भएको दोस्रो ग्रान्ड प्रिक्समा स्न्याचतर्फ आफ्नो नाममा रहेको ६६ केजी तौलमा सुधार गर्दै ताराले ६७ केजी भार बहन गरिन् । क्लिन एन्ड जर्कमा आफ्नै नाममा ९० केजीको रेकर्डमा सुधार ल्याउँदै ९१ केजीको भार उठाउँदै नयाँ राष्ट्रिय कीर्तिमान राखिन् । उनले उक्त रेकर्डलाई तोड्दै ९५ केजी भार बहन गरी अर्को राष्ट्रिय कीर्तिमान कायम गरिन् । यसका साथै कुलतर्फ १ सय ५६ केजीको कीर्तिमान भंग गर्दै कुल १ सय ६२ केजी भार बहन गरिन् । उक्त स्पर्धामा स्न्याचमा सिरहाकी मनिता चौधरीले ४० केजी र क्लिन एन्ड जर्कमा ६५ केजी भार बहन गरिन् । उक्त स्पर्धामा दुई खेलाडीको मात्र सहभागिता रहेको थियो ।
वीरगन्जस्थित पौडी पोखरी तथा हेल्थ क्लबको आयोजनामा सम्पन्न प्रतियोगितामा नेपाल प्रहरीका खेलाडीहरूले राष्ट्रिय कीर्तिमान कायम गर्ने क्रमलाई बढाए । कीर्तिमान राख्ने क्रममा ५३ केजी तौलमा देवी चौधरीले स्नाचमा ०६६ सालमा नेपालगन्जमा सम्पन्न प्रतियोगितामा झन्त कटुवालको नाममा रहेको ५७ केजीको राष्ट्रिय कीर्तिमानलाई पछाडी पार्दै ५८ केजी भारका साथ राष्ट्रिय कीर्तिमान कायम गरिन् । फेरि उनले सो तौलमा सुधार ल्याउँदै ५९ केजीको भार बहन गर्दै अर्को राष्ट्रिय कीर्तिमान बनाइन् । उनले क्लिन एन्ड जर्कमा ७२ केजीको भार बहन गरिन् ।
सो स्पर्धामा स्नाचमा मोरङकी मनीषा चौधरीले ४१ केजी र कास्कीकी पुनम परियारले ४० केजी भार बहन गरे । क्लिन एन्ड जर्कमा कास्कीकी पुनम परियारले ५५ केजी र सीता चौधरीले ४५ केजी भार बहन गरिन् ।
५८ केजी तौल समूहमा नेपाल प्रहरीकी उत्तम खत्रीले क्लिन एन्ड जर्कमा ७८ केजी भार बहन गर्दै राष्ट्रिय कीर्तिमान कायम गरिन् । उनले ०६२ सालमा वीरगन्जमा नै सम्पन्न पहिलो राधिका स्मृती कपमा झन्ट कटुवालले राखेको ७७ केजी तौललाई उछिनेकी हुन् । उनले स्नाचमा भने ६० केजी भार बहन गरिन् । सो स्पर्धामा स्नाचमा चितवनकी राजकुमारी चौधरीले ५० केजी र कैलालीकी लक्ष्मी चौधरीले ३० केजी भार बहन गरिन् । क्लिन एन्ड जर्कमा राजकुमारीको ६० केजी र लक्ष्मीको ३७ केजी भार रह्यो ।
दुई दिने प्रतियोगिताको पुरुषतर्फको ५६ केजी तौल समूहमा नेपाल प्रहरीका लक्ष्मण रञ्जितले स्नाचमा ७५ केजी र क्लिन एन्ड जर्कमा ९५ केजी भार बहन गर्दै स्वर्ण पदक प्राप्त गर्न सफल भए । सोही क्लबका मुई लामाले ७२ केजी र ७५ केजीका साथ कुलमा १ सय ४७ केजीको भार बहन गर्दै दोस्रो स्थान पाए भने नारद चौधरीले ६३ केजी र ८० केजी भारका साथ कुलमा १ सय ४३ केजी भार बहन गरे । यस प्रतियोगितामा नेपाल प्रहरीको उच्च प्रदर्शन कायम रहनुका साथै अझै राष्ट्रिय कीर्तिमान कायम रहन सक्ने नेपाल प्रहरीका प्रशिक्षक सञ्जय महर्जनले बताए ।
प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामाले गरेका थिए । सो अवसरमा सदस्य–सचिव लामाले राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीहरूलाई परिषद्को तर्फबाट प्रत्येक कीर्तिमान वापत नगद पाँच हजार पुरस्कार प्रदान गर्ने बताए ।
त्यसअघि भारत्तोलन खेलको विकासमा सहयोग पुर्‍याउने विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो । उक्त सम्मान प्राप्त गर्नेमा प्रतियोगिताको मुख्य प्रायोजक शालिमार ग्रुपका प्रमुख एवं वीरगन्ज उद्योग वाणिज्य महासंघका अध्यक्ष अशोक वैद्य, नेपाल भारत्तोलन संघका महासचिव पार्थसारथी सेन गुप्त र सचिव एवं परिषद्का तालिम तथा प्रशिक्षण विभागका निर्देशक तिलक राउत, प्रशिक्षक राजेन्द्र प्रधान, प्रदीप श्रेष्ठ, रोहितकुमार टण्डन, रूपेशमान सिंह श्रेष्ठ, जयप्रकाश कोइरी, राजेशमान सिंह र विजेन्द्रविक्रम शाह छन् ।

प्रतिक्रिया