भूकम्प पीडितलाई सहुलियत ऋण दिने तयारी

इलाम, ४ वैशाख । दुई वर्षअघि गएको भूकम्पका पीडितलाई सहुलियतमा ऋण र अनुदान दिने तयारी सुरु गरिएको छ । गत १ असोज २०६८ मा गएको भूकम्पका पीडितलाई ‘भूकम्पपीडित ऋण तथा अनुदान निर्देशिका २०६९’ अनुसार सहुलियत ऋण तथा अनुदान दिन लागिएको हो ।

निर्देशिकामा भूकम्पबाट क्षतिग्रस्त घर तथा भवन पुन:निर्माण र पुन:स्थापनाका लागि ऋण वा अनुदान दिन सकिने व्यवस्था उल्लेख छ । सोहीअनुसार जिल्ला दैवी प्रकोप उद्धार समितिमा रहेका पीडितको सूचीका आधारमा क्षतिअनुसार बैंक तथा वित्तीय संस्थामार्फत पीडितलाई ऋण दिइने सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय इलामले जनाएको छ ।
निर्देशिकाअनुसार पूर्ण क्षति भएका भवनको हकमा एक लाख र आंशिक क्षति भएको भवनको हकमा ५० हजार रुपियाँसम्मको सहुलियत पूर्ण ऋण दिइनेछ । यस्तै पीडित परिवारले आपैँm पुन:निर्माण वा मर्मत कार्य सम्पन्न गरी सकेको तर भूकम्प प्रतिरोधात्मक निर्माण प्रविधि अवलम्बन नगरेको भए त्यस्तो परिवारलाई उक्त भवनको प्रतिरोध क्षमता अभिवृद्धि गर्न ५० हजार रुपियाँसम्म सहुलियतपूर्ण ऋण दिइने डिभिजन प्रमुख सुरेश नेम्बाङले बताए । उनले भने, ‘बैंक जमानी राख्न र नरम ऋण लिन नसक्ने विपन्न परिवारलाई १० हजारसम्म एकमुष्ठ अनुदान र प्रत्येक गाविसमा एउटा सामुदायिक भवन पुन:निर्माण वा मर्मत सम्भार गर्न बढीमा ५० हजार वा क्षति मुल्यांकन लागत अनुमानको ३० प्रतिशतमा जुन रकम कम हुन्छ त्यही रकम एकमुष्ठ अनुदान दिइनेछ ।’
कार्यालयले पीडितलाई ४ वैशाखसम्ममा तोकिएको ढाँचामा निवेदन दिन यसअघि नै सूचनासमेत जारी गरिसकेको छ । चालु आर्थिक वर्षभित्रै बैंक जमानी राख्न र नरम ऋण लिन नसक्ने विपन्न परिवारलाई १० हजार रुपियाँसम्म एकमुष्ठ अनुदान उपलब्ध गराउनेसमेत नेम्बाङले बताए । उनले भने, ‘सहुलियत ऋण र सामुदायिक भवनको अनुदानका लागि प्राप्त भएका निवेदन संकलन गरी स्वीकृत कार्यक्रम प्राप्त भएपछि कार्यक्रम सञ्चालन गरिनेछ ।’
पूर्वी नेपालको ताप्लेजुङ र भारतको सिक्किमको सीमानालाई केन्द्रविन्दु बनाएर गएको ४ दशमलव ५ रेक्टरस्केलको भूकम्पले इलाम, पाँचथर, ताप्लेजुङलगायत जिल्लामा बढी क्षति गरेको थियो । भूकम्पबाट यी तीन जिल्लामा मात्रै दुई हजार ६ सय बढी परिवार विस्थापित भएका थिए । जिल्ला प्रशासन कार्यालय इलामका अनुसार इलाममा एक अर्ब ३७ करोड ३८ हजार नौ सय रुपियाँको क्षति भएका थियो । जिल्लामा मात्र दुई हजार एक सय १५ घर पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो ।
कार्यालयका अनुसार पूर्ण विस्थापित र आंशिक रूपमा असर पुग्ने परिवारको ८१ करोड ४५ लाख ३३ हजार नौ सय रुपियाँ बराबरको क्षति भएको थियो । सरकारी संरचनातर्फ ९१ करोड एक लाख ५० हजार र सामाजिक संघसंस्थातर्फ एक करोड रुपियाँ बराबरको क्षति भएको प्रशासनको तथ्यांकमा उल्लेख छ । यसमा ३९ विद्यालय र १२ प्रहरी चौकीमा पनि पूर्ण क्षति भएको थियो ।
जिल्लाका पीडितलाई केन्द्रबाट आएको एक करोड रुपियाँ र जिल्ला तहमा संकलन भएको १५ लाख ८५ हजार सात सय ६२ रुपियाँ राहत वितरण गरिएको थियो । जिल्लाका दुई हजार तीन सय चार परिवारलाई अधिकतम १० हजार रुपियाँसम्म राहत वितरण गरिएको थियो ।

प्रतिक्रिया