नयाँ वर्ष सफल होस्

आजदेखि नव वर्ष २०७० प्रारम्भ भएको छ । राष्ट्रपति, अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष दलका नेता र अन्य विभिन्न वर्ग, तह र व्यवसायमा लागेकाहरूले नव वर्षको शुभकामना व्यक्त गरेका छन् । वास्तवमा कामना त सबैले नयाँ वर्ष राम्रो होस् नै भन्ने गरेका हुन्छन् । तर, धेरै नयाँ वर्ष राम्रा हुन सकनेन् । राजनीतिक, आर्थिक, समाजिक, धार्मिक र जातीय विवादमा फसेको यो मुलुकले अहिलेसम्म त्राण पाउन सकेको छैन । राष्ट्रलाई गतिशील र ऊर्जाशील बनाउने मुख्यमाध्यम राजनीति हो । राजनीति नै अस्थिर र संकटपूर्ण बन्ने साथै दलीय नेतृत्व अक्षम व्यक्तिहरूका हातमा पर्नु हाम्रो देशका लागि अभिशाप बनेको छ । यो अभिशाप हटाउन शुमकामनाले सक्ने अवस्था छैन । यसका लागि दलका नेताहरूमा मुलुक र जनताको भविष्य सपार्ने दृढ इच्छाशक्ति, लोभरहित सोच र क्षमताको आवश्यकता पर्छ । राष्ट्रका लागि आफू सफल बन्ने सोच नहुने र क्षमताको अभाव देखिनुका कारणले हाम्रो नेतृत्व असफल भयो । दलीय व्यवस्था धर्मराउने गरी नव वर्ष लाग्ने बेलैमा सत्ता परिवर्तन भयो । अर्बांै हिनामिना गर्ने नालायक र भ्रष्ट एउटा निकृष्ट सरकारलाई अपदस्त गर्न अर्को अस्वाभाविक प्रक्रिया अपनाइयो । गणतन्त्र त्यमसा पनि दलीय व्यवस्थामा यो प्रक्रिया आफैँमा आलोच्य छ । अब यस नयाँ वर्षले नेताहरूमा अचम्मसँग विकसित भएको राजनीतिक संकटबाट मुलुक र जनतालाई मुक्त गर्ने सद्बुद्धि तथा क्षमताको विकास होस् । जनताको तर्फबाट यहाँभन्दा बढी भन्ने ठाउँ छैन । योबाहेक शुभकामना अरू हुन पनि सक्तैन ।
एकपटक असफल बनाइएको संविधानसभाको पुन: निर्वाचन गर्न दलीय नेताहरू असफल भएपछि अहिले सर्वोच्च अदालतका बहालवाला प्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा अन्तरिम चुनावी सरकार गठन भएको छ । यो सरकाले नयाँ वर्षको मंसिरसम्ममा संविधानसभाको पुन: निर्वाचन गर्ने जिम्मा लिएको छ । निर्वाचन भएर राजनीतिक संकटबाट मुलुक मुक्त भएमा नयाँ वर्ष ऐतिहासिक बन्नेछ । अन्यथा विगतकै जस्तो केहीगर्न नसके नयाँ वर्षमा नेपालीले आदानप्रदान गरको शुभकामना पनि निर्थक हुनेछ । नयाँ वर्ष सफल र सुखद बनाउन सक्ने मार्ग प्रशस्त छन् । त्यसलाई दलका नेताहरूले आत्मासात गर्न सक्नुपर्छ । एकले अर्कोको अस्तित्व स्वीकार गर्ने, विश्वासको संकट हटाउने र राष्ट्र र जनताका लागि त्यागको भावना देखाउने हो भने नयाँ वर्ष ०७० ले सुनौलो इतिहास रच्न सक्छ । यही वर्षभित्र निर्वाचनपछि संविधानसभा बन्ने र त्यसपछिको समयमा नयाँ संविधानमा समेट्ने विषयहरू पर्गेल्ने कार्य हुन सक्छ । तर, नेतृत्वदायी भूमिका निर्वाह गर्ने दलका नेताहरूले व्यक्तिगत र दलगत स्वार्थ भने त्याग्नै पर्छ । यसले मात्र हामीलाई नयाँ वर्षमा त्राण प्राप्त गराउनेछ । होइन भने नेपालीले फेरि नराम्रो अवस्था भोग्नुपर्ने छ ।
अचाक्ली चुलिएको महँगी नियन्त्रण, भ्रष्टाचार, कुशासन र अराजक अवस्थाबाट मुक्तिलगायतका पक्षमा नयाँ वर्षमा केही हुनैपर्ने अवस्था छ । जनता निकै पीडित बनेका छन् । सुख, सुविधा, अमनचैन सबै खोसिएको अवस्था छ । मानवअधिकार हनन, महिला हिंसा र कुरीतिका कारण समाजमा व्याप्त दाइजो र बोक्सी आरोप पनि असाध्य बढेको छ । नयाँ वर्षमा सम्बन्धित पक्षले दीर्घकालीन योजनाहरू तर्जुमा गरेर उल्लिखित गतिविधि रोक्ने उपाय खोज्नुपर्छ अर्थात् नयाँ वर्ष ०७० नेपाली जनताका लागि फलदायी बनाउन सबै क्षेत्र जुट्नु पर्छ । ०७० सालमै राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिकलगायत सबै पक्षमा सवल बन्ने उपायहरू खोजी गर्न सके मात्र पनि ऐतिहासिक काम गरेको ठहरिनेछ । हर क्षेत्रमा नयाँ वर्ष सफल र शुभ हुन सकोस् । नेपालीका लागि यो ऐतिहासिक वर्ष हो । लोकतान्त्रि मूल्य, मान्यता, पद्धति र दलीय व्यवस्थालाई स्थायित्व दिँदै यो नयाँ वर्षलाई फलदायी बनाउन सकियोस् यही नै शुभकामना ।

प्रतिक्रिया