सेनालाई हतियार खरिद गर्न अनुमति प्रदान

simhadarbarकाठमाडौं, ३० चैत । सरकारले नेपाली सेनालाई नियमित कामका लागि आवश्यक पर्ने हतियार तथा बन्दोबस्तीका सामान खरिद गर्न स्वीकृति दिएको छ ।
सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सेनालाई नियमित कामका लागि आवश्यक पर्ने हातहतियार किन्न स्वीकृत प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री माधव पौडेलले जानकारी दिए ।
मन्त्रिपरिषद्ले केही नियमावली पनि संशोधन गर्ने निर्णय गरेको छ । राजतन्त्रको अन्त्य र गणतन्त्रमा प्रवेश हुँदा समेत केही शब्दावली परिवर्तन हुन सकेका थिएनन् । शाहिकालीन अधिराज्य, महाराजा, अञ्चलाधिकारीलगायतका शब्द हटाउन एक सय दुई वटा नियमावलीमा परिवर्तन गर्न लागिएको हो ।
सरकारले सशस्त्र प्रहरीका ८ जना नायब महानिरीक्षकको सरुवा गरेको छ । हालै बढुवा भएका ५ सशस्त्र प्रहरी नायव महानिरीक्षकको पदस्थापन पनि गरेको सञ्चारमन्त्री पौडेलले जानकारी दिए ।
बैठकले सिंचाइका लागि तराईका नौ जिल्लामा भारत सरकारले गरेको सहयोग लिन स्वीकृत प्रदान गरेको छ । भारतले सिंचाईका लागि २५ करोड ६७ लाख २० हजार सहयोग दिएको छ ।
संविधानसभा चुनावको तयारी, मतदाता नामावली संकलन, नागरिकता वितरणका विषयमा पनि छलफल भएको पौडेलले जानकारी दिए । सो विषयमा ठोस निर्णय भईसकेको छैन ।

प्रतिक्रिया