एक हजार सहकारीको अनुगमन

divijan-sahakari-officeकाठमाडौं, ३० चैत । डिभिजन सहकारी कार्यालय काठमाडौंले चालु आर्थिक वर्षको चैतसम्ममा एक हजार १३ सहकारी संस्थाको अनुगमन तथा निरीक्षण गरेको छ । २६ चैत सम्ममा कार्यालयले वार्षिक पाँच करोडभन्दा कम कारोबार गर्ने सहकारी संस्थाको अनुगमन तथा निरीक्षण गरेको हो ।

वार्षिक पाँच करोडभन्दा माथीको कारोबार गर्ने सहकारीको अनुगमन सहकारी विभागले गर्ने र सोभन्दा तलको कारोबार गर्नेको अनुगमन डिभिजन कार्यालयले गर्ने प्रावधान रहेको छ । तीन हजार सात सय सहकारी मध्ये दुई सय पाँच सय सहकारी पाँच सहकारी विभागले अनुगमन गर्ने भए पनि बाँकी डिभिजनले हेर्ने गरेको कार्यालयका वरिष्ठ सहकारी अधिकृत बलराम निरौलाले जानकारी दिए । ‘यस कार्यालयबाट अनुगमनका लागि चार जना खटिएका छन् ।’ निरौलाले भने, ‘अनुगमन तथा निरीक्षणमा सहकारी ऐन, नियमावली र मापदण्ड विपरीत सञ्चालन भएको भेटिएको थियो । ‘गत अर्थिक वर्षमा करिब १८ सय सहकारी अनुगमन गरेका थियौँ ।’ उनले भने, ‘कर्मचारी अभावले अनुगमनमा समस्या आएको छ ।’ ऐन, नियमावली र मापदण्ड विपरीत सञ्चालन भएका केही सहकारीलाई सुधार्न मौका दिएको समेत उनले बताए । यस्ता सहकारीलाई गल्ती सुधार्न निश्चित मौका दिएको र सो समय अवधिमा सुधार नगरे कारबाही गर्ने निरौला बताउँछन् ।
अनुगमनमा विनाधितो लगानी गरेको, सेयरलाई धितोका रूपमा लिने गरेको, ऋणीको एकाघरबाहिरको धितो स्विकार्ने गरेको, सदस्यको निक्षेप रकम घरजग्गालगायत अनुत्पादक क्षेत्रमा लगानी गर्ने गरेको, बचत तथा ऋणको ब्याजदरमा ठूलो भिन्नता भेटिएको थियो । त्यस्तै, लामो अवधिको मुद्दती निक्षेप स्वीकार गर्ने, ओभरड्राफ्ट कर्जा प्रवाह गर्ने, चल्ती खाता सञ्चालन गर्ने, सुनचाँदी धितोको कारोबार गर्ने र आकर्षक विज्ञापन गरी बचत संकलन गर्ने गरेकोसमेत भेटिएको थियो । संस्थाको सम्पत्ति खरिद तथा बिक्रीमा अपारदर्शिता, स्पष्ट लेखा नीतिको अभाव, कारोबारको उपयुक्त लेखांकनको अभाव, आन्तरिक नियन्त्रण प्रणाली कमजोर, सदस्यबीच विभेद, नाफा नदेखाउने तथा लाभांश बाँडफाँडमा अनियमितता र संस्थाहरूको लेखापरीक्षणसमेत कमजोर रहेकोलगायत दजनौँ गल्ती सहकारीमा भेटिएको थियो । पछिल्लो समयमा सहकारी संस्थाहरूले बचतकर्ताले आफ्नो बचत फिर्ता माग गर्दा फिर्ता दिन नसकेका, संस्थापकहरू बचत रकम नै लिएर भागेका वा बचतको दुरुपयोग गरेका घटनाहरू बाक्लै देखापर्न थालेको छ । विशेष गरी बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूले ठूलो कारोबार गर्न थालेका र संस्थागत सुशासन एवं पारदर्शिताको कमिका कारण तिनमा रहेका बचतको जोखिम बढ्दै गएको सहकारीका नियामक निकायले जनाएको छ ।
मुुलुकभरका करिब २७ हजारको हाराहारीमा विभिन्न विषयका प्रारम्भिक संस्था रहेका छन् । ११ हजार पाँच सय ९४ बचत तथा ऋण, चार हजार एक सय पाँच वटा बहुउद्देश्यीय सहकारी छन् । सहकारीको कुल सेयर पुँजी २७ अर्ब, बचत निक्षेप एक खर्ब ४० अर्ब र लगानी एक खर्ब ३४ अर्ब पुगेको छ ।

प्रतिक्रिया