सन्दीपले जिते कार

sandeepकाठमाडौं, ३० चैत । ‘एनसेल वर्ष फुटबलर अवार्ड’ राष्ट्रिय टोलीका स्टार सन्दीप राईले जितेका छन् । उनले १७ लाख रुपियाँ पर्ने हुन्डाइको इअन कार पाएका छन् । नेपाली खेलाडीले वर्षभरी गरेको प्रदर्शनका आधारमा दिइएको यो सबैभन्दा ठूलो पुरस्कार हो ।

एनसेल र अखिल नेपाल फुटबल संघ(एन्फा)बीचको वार्षिक प्रायोजन सम्झौता अनुसार दिइएको यो अवार्ड जित्न सन्दीपले राष्ट्रिय टोलीका स्ट्राइकरद्वय भरत खवास र अनिल गुरुङलाई पछारे । मतदानका आधारमा विजेता छनोट गरिएको हो । एसएमस मतलाई ६० प्रतिशत, प्रशिक्षक मतलाई २० प्रतिशत र खेल पत्रकारको मतलाई २० प्रतिशत आधार बनाएर विजेता छनोटमा गरिएको थियो ।
एसएमएसमार्फत कुल ५ लाख १९ हजार ६९ मत खसेका थिए । १ सय ११ जना प्रशिक्षक र ५४ जना खेल पत्रकार(रेडियो, टेलिभिजन र खेलकुदसम्बन्धी समाचार दिने अखबारमा आवद्ध) ले मत पनि दिएका थिए ।
सन्दीपले अवार्ड जित्नुमा उनलाई प्राप्त एसएमएस मत प्रमुख बन्यो । उनको निकटतम प्रतिद्वन्दी भरत बने । अनिल तेस्रो मत पाए । प्रशिक्षक र खेल पत्रकारको मतमा सबैभन्दा अगाडि रहेका भरतलाई एसएमएस भोटमा सन्दीपले लगभग शतप्रतिशतले पछाडि पारेका थिए ।
सन्दीपले १ लाख ११ हजार ३ सय १७ एसएमएस मत प्राप्त गरे । उनले प्रशिक्षकबाट ९ सय १२ र खेल पत्रकारबाट ४ सय ३९ मत पाए । त्यस्तै, भरतलाई ६१ हजार ४ सय ८ एसएमएस मत प्राप्त भएको थियो भने प्रशिक्षकले १ हजार २ सय ५६ र खेलपत्रकारले ७ सय ५८ मत दिएका थिए । प्रतिस्पर्धामा तेस्रो स्थानमा रहेका अनिलले ८५ हजार ९ सय ७० एसएमएस मत पाए भने प्रशिक्षकबाट ६ सय ६४ र पत्रकारबाट ४ सय १० मत पाए ।
एन्फाले मनोनयनमा पारेका २३ खेलाडीमध्ये तीन जनालाई मात्र बिहीबार काठमाडौंमा आयोजित एनसेल वर्ष फुटबलर अवार्ड विजेता घोषणा कार्यक्रममा बोलाएको थियो । धरानमा जारी बूढासुब्बा गोल्डकप फुटबलका कारण अधिकांश खेलाडी उतै छन् । ‘मसँग खुसी व्यक्त गर्ने शब्द छैन, सायद यस्तो दिन फेरि नआउन सक्छ’, पुरस्कारमा कार पाएपछि २४ वर्षीय स्टार सन्दीपले पत्रकारसित भने ।
सन् २००८ को २५ मार्चमा पोखरामा भएको पाकिस्तानविरुद्धको मैत्रिपुर्ण खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका सन्दीप पछिल्ला केही वर्षदेखि राष्ट्रिय टिमका खम्बाका रूपमा चिनिन्छन् । यसपटकको सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि थ्री–स्टारले जित्दा उनको योगदान रह्यो ।
अवार्ड जितेसँगै जिम्मेवारी थपिएको सन्दीपले बताए । ‘खेलिरहेको अवस्थामा यो अवार्ड प्राप्त भएको छ । यसले जिम्मेवारी थपिएको महसुस भएको छ’, उनले भने ।
अवार्ड थापेको केही घन्टापछि नै सुरु हुने बूढासुब्बा गोल्डकपको सेमिफाइनल खेल्न धरान उडेका सन्दीप त्यता भने सफल हुन सकेनन् । उनको कप्तानीमा सहभागी बनेको साविक विजेता थ्री–स्टार हङकङ–नेपालसँग पराजित हँुदै सेमिफाइनलबाटै बाहिरिएको छ ।

प्रतिक्रिया