नेपाली कांग्रेससंगको अपेक्षा

गिरिजाप्रसाद कोइरालाको मृत्युपछि नेपाली कांग्रेस एक प्रकारले नेताविहीन अवस्था भोग्दै छ । नेपाली कांग्रेस पुरानो पार्टी हो । यसका नेता–कार्यकर्ता आफ्नो पार्टीलाई प्रजातन्त्रको जननी र पहरेदार भन्न रुचाउँछन् । तर, कतिपय अवस्थामा यस दलले आफूलाई खरो उतार्न सकेको छैन । यस दलका नेतामा नेतृत्व क्षमताको अभाव र दीर्घकालीन सोचको कमी देखिनु सबैका लागि खड्किने विषय बनेको छ । कांग्रेस सबै पक्षमा सवल हुँदाहँुदै पनि दुर्बलताको रोगी जस्तो देखिनु आफैँले दुविधाग्रस्त मार्गको अवलम्बन गरेकाले नै हो । अहिले कांग्रेसको ‘मिनी महाधिवेशन’ अर्थात् महासमितिको बैठक नवलपरासीको त्रिवेणीमा सञ्चालन भइरहेको छ । मुलुक राजनीतिक र संवैधानिक संकटमा जेलिएको अवस्थामा भइरहेको यस महासमिति बैठकले ठोस् निर्णय गरेर आफूलाई कांग्रेसले गतिशील बनाउन सकेन भने यो दलको क्षयीकरण द्रूत गतिमा हुन सक्छ । र यसले प्रजधातन्त्रवादीहरूलाई चोट पुर्‍याउन सक्छ । तसर्थ, यसका नेता कार्यकर्ताले सोच, विचार पूर्ण, समय सापेक्ष र सर्वस्वीकार्य निर्णय गर्न जरुरी छ । अब इतिहास भजाएर कांग्रेसले चलखेल गर्ने समय छैन । आफ्नो धरातलीय यथार्थ बुझेर आफ्ना गतिविधिहरू चुस्त, दुरुस्त र पारदर्शी नबनाए जनताले पत्याउँदैनन् । यो पक्षलाई कांग्रेसले आत्मसात गर्न सक्नुपर्छ । आफूलाई गतिशील, समयसापेक्ष र जनचाहना अनुरूपको बनाउन नसक्ने दलहरू धेरै लामो समयसम्म टिक्ने अवस्था अब देखिँदैन ।
कांग्रेसको महासमिति भेलाले राष्ट्रिय, अन्तर्राष्ट्रिय साथै आफ्नै दलभित्रको वास्तविक वस्तुस्थिति माथि गम्भीरतापूर्वक छलफल गरेन भने यो भेला कुम्भ मेला मात्र सावित हुनेछ । नेपालका प्रत्येक लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेको कांग्रेस अहिले नेतृत्व गर्न नसक्ने अवस्थामा पुगेको हो कि भन्ने शंका बढेको छ । यसका नेता कार्यकर्ताले जेल, नेल, प्रवास र विभिन्न दु:ख भोगेका थिए । उनीहरूले नेपालमा प्रजातन्त्र ल्याउन र त्यसलाई स्थायित्व दिन थुप्रै यातना भोगे । तर, यो दल आफैँभित्रको कलह, अहं र व्यक्तिगत स्वार्थका कारण निरीह र अर्काको निर्देशनमा चल्ने दलका रूपमा परिणत भएको छ । यही कारणले देशको संकटपूर्ण अवस्थामा पनि कांग्रेसको निर्णायक भूमिका नदेखिएको हो । यस भेलाले प्रत्येक आन्दोलनको नेतृत्व गर्न सक्ने र राष्ट्रलाई संकटबाट मुक्त गर्ने दलको रूपमा आफूलाई कांग्रेसले उभ्याउने प्रयास गर्नुपर्छ । अन्यथा लोकतान्त्रिक आन्दोलन कमजोर हुने र कांग्रेस पनि जनताबाट उपेक्षित हुने अवस्था आउन सक्छ ।
नेपाली कांग्रेसको अगुवाइमा सम्पन्न भएको ०६२।६३ को जनआन्दोलनद्वारा प्राप्त लोकतन्त्रमाथि अहिले चारैतिरबाट आक्रमण भइरहेको छ । संस्थागत भइनसकेको कलिलो लोकतन्त्र नरूचाउने तत्व दलका नेताहरूको अकर्मण्यताका कारण उत्साहित बनेर दलीय व्यवस्था समाप्त पार्न लागि परेका छन् । बहुलवाद र लोकतन्त्र नमान्ने दुई खाले तत्व व्याप्त संकटको फाइदा उठाएर आफ्नो अभीष्ट पूरा गर्ने दाउमा देखिन्छन् । जब लोकतन्त्रका पक्षपाति दलहरू कमजोर बन्छन् त्यसबेला स्वाभाविक रूपमा लोकतन्त्रमाथि खतरा हुन्छ । यसतर्फ पनि कांग्रेसले सोच्नुपर्छ । साथै संविधानसभाको निर्वाचन हुँदै छ । निर्वाचनमा लोकतान्त्रिक शक्तिको नेतृत्व गरेर सम्मानजनक स्थान हासिल गर्न कांग्रेस चुक्यो भने राष्ट्रलाई नै घाटा लाग्नेछ । यस भेलाले सबै विषयलाई उठाउँदै मुलुकमा व्याप्त सबै खाले समस्या समाधान गर्ने मार्ग पहिल्याउनुपर्छ । तब मात्र कांग्रेसप्रति पुन: जनविश्वास जाग्नेछ ।

प्रतिक्रिया