खिलराज रेग्मीलाई कसले बहादुर बनायो ?

anil-yogi-1खिलराज रेग्मी नेपालका राजनीतिक दलका नेताहरूले आफ्नै विवेकले प्रस्ताव गरेका पात्र हुन् भन्ने भ्रम नेपालका ठूल्ठूला राजनीतिक ज्ञाताहरूका दिमाखमा अझै कायम छ । विचरा खिलराज मात्र होइन कोही पनि व्यक्ति खिलराजको ठाउँमा आउन सक्ने अवस्था दलका नेताहरूले नै सिर्जना गरेका थिए । खिलराजले मान्नुपर्ने अवस्था देशभित्रको अराजक्ता र अव्यवस्थाको अन्त्य गरेर देश प्रगतिको मार्गमा लैजानका लागि निर्माण गरिएको होइन र थिएन । यो गुप्त योजनाको भित्री कुरा विस्तारै बाहिर आउँछ त्यो समय हामीले पर्खनै पर्छ । खिलराजलाई सबै राजनीतिक दलका नेताहरूले यसरी बोक्नुपर्ने बाध्यताका विषयमा सबै राजनीतिक दलका प्रमुख नेताहरूलाई सबै कुराको जानकारी छ । उनीहरूले भन्न मिल्दैन । नेपाली जनताको राजनीतिक योग्यता कति हो भन्ने कुरा दलका नेताहरूलाई राम्रोसँग जानकारी छ । चुनाव असारमा नहुने लगभग पक्का भएको छ । राजनीतिक दलका नेताहरूको नौटंकीलाई राजनीति ठान्छन् यो देशका विद्वान्हरू । यो देशको अस्तित्व धरापमा परिसकेको चाल पाएका छैनन् ठालुहरूले ।

विगतको संविधानसभामा ठूलोदलका रूपमा अगाडि आएको माओवादी यतिबेला आपसमै जुधेर सकिने गरी चोइटिएको छ । माओवादीलाई जनताले ठूलो दल बनाएकोमा उसले आफ्नो काँधमाथि आएको जिम्वेवारी पूरा गर्न सकेन, त्यति मात्र होइन उसले जनताको मत अरू राजनीतिक दलसँग लड्ने आफ्नो दादागिरिको औजार बनायो । विगत सम्झिन मन लाग्यो, राष्ट्रिय जनमोर्चाले संघीयताको देशव्यापी विरोध गरिरहेकै अवस्थामा उसको आन्दोलन राजधानी केन्द्रित भएको थियो । त्यस आन्दोलनमा माओवादीले मैतीदेवीमा हस्तक्षेप गर्‍यो र प्युठान सुजा गाविसका सूर्यबहादुर नेपालीको माओवादीका कार्यकर्ताले नाक काटिदिए । ठूलो दल हुनु भनेको फरक विचार राख्नेका नाककान काट्नु र दबाउनु हो भन्ने ठान्यो माओवादीले ।
आफँैले सिर्जना गरेका समस्याले थला परेका राजनीतिक दलका नेताहरूलाई फरकफरक धारमा उभिएर झगडा गरिरहेकै अवस्थामा रातारात कसले मिलाइ दिन्छ ? सबै कुरामा विदेशीको हस्तक्षेप देख्नु पनि एक प्रकारको समस्या हो भन्नेहरूले यतातिर ध्यानदिन आवश्यक ठानेका छैनन् । राष्ट्र बर्बाद बनाएर आर्यघाट पुगिसकेको विगतको बेकामे संविधानसभा जस्तै राष्ट्र र जनताको भारका रूपमा अर्को भजन मन्डली तयार गर्ने जिम्मा खिलराज रेग्मीलाई यो पनि रातारात कसले दियो ? खिलराज रेग्मी चुनाव गर्ने गफ गर्दै हुनुहुन्छ । यति बहादुर खिलराज रेग्मीलाई कसले बनाउँदै छ भित्रभित्रै ? हामी नेपालीहरू राजनीति गर्न स्वाधिन छैनाँै भन्ने कुरा आमनेपाली जनताले नबुझ्दासम्म गरिने कुनै पनि चुनावको औचित्य र अर्थ छैन ।
अनुशासित राजनीतिक नेतृत्वबिना र राज्य आफ्ना विवेकले सञ्चालन गर्ने थिति नबसाली गरिने चुनाव आत्मघाति कदमबाहेक अरू केही हुन सक्दैन । वैद्य माओवादीले चुनावी क्षेत्रलाई युद्धमैदान बनाउन आफ्नो पार्टी पंक्तिलाई निर्देशन जारी गरिसकेको छ । लिम्बुवान राज्यको माग गर्नेहरूको लगभग त्यस्तै कार्यक्रम बन्दै छ भन्ने सुनिँदै छ । मधेस आन्दोलनका मसिया उपेन्द्र यादव यो चुनावका पक्षमा छैनन् । राजसंस्था, धर्मनिरपेक्षता र संघीयताका विषयमा कुनै टुंगो लागेको छैन । कसरी गर्ने हुन्, खिलराज रेग्मीले यो चुनाव नेपाली जनतालाई कति ढाट्ने हो र ! आफ्नो र राज्यको राजनीतिक मर्‍र्यादा राख्न नसक्ने फगत सभा केका लागि कसलाई आवश्यक पर्‍यो ? यो आजको आमजनताको प्रश्न हो । सबै समस्याको अचूक समाधान संविधानसभा मात्र हो भन्ने तर्क अब गर्न मिल्दैन । अरू विकल्पको खोजी नगरीकन संविधानसभाबाट मात्र समाधान निस्किन्छ भन्ने भनाइ जाहेज छैन । विगतको संविधानसभाले कुनै काम नगरी आफ्नो अन्त्य गरायो फेरि त्यही जम्भो सभा बनाएर केही गरिबहरूलाई धनी बन्नु परेको मात्र हो भने त चुनाव गराउँदा हुन्छ ।
यो देश राजनीतिक दलका नेताहरू र अन्य अदृश्य राजनीतिक शक्तिको झगडा गरी खेल्ने भाँडो होइन, कसैले भन्न सक्दैन । विगत राजाका खुट्टामा दाम राखेर ढोग्नेहरू हुन वा राजावरिपरि घुम्ने दासहरू हुन् उनीहरूले राज्य कसरी सञ्चालन गर्ने भन्ने विषयमा विचार तयार गर्न नसक्दाको परिणति हो, आजको जटिल अवस्था र अव्यवस्थाभन्दा अन्यथा हुनेछैन । डरलाग्दा विवादका पक्षलाई नकेलाई गरिने कुनै पनि निर्वाचन त्यो निर्वाचन हुन सक्दैन । त्यसबाट आउने परिणाम अर्को विवादको कारण बन्न सक्छ भन्नेतर्फ हेक्का राखिएन भने राष्ट्र आजको अवस्थाभन्दा चरम बरबादीमा पर्न सक्छ । सडकमा आंगकाजीहरू र ठूलाठालु क्षेत्री बाहुनहरू उतारेर रमाइलो गर्ने कसैलाई रहर पुगेको छैन भने त यो नाटक मञ्चन गर्दा हुन्छ । राष्ट्रलाई परिणाम दिने गतिलो चुनाव गर्नका लागि सबै पक्ष खुसीका साथ भयरहित ढंगले निर्वाचनमा भागलिने वातावरण नबनाईकन निर्वाचन गर्नु राष्ट्रका हितमा हुने देखिँदैन ।
एक जुगमा एकपटक मात्र हुने भनिएको संविधानसभाको चुनाव हुँदा दलका नेताहरूको जतिसुकै कम्जोरी भए पनि आमजनताले उत्साहपूर्वक सहभागिता जनाएका थिए । त्यो जनभावनाको दलका नेताहरूले कदर गर्न सकेनन् । संविधानसभा पछि देश झनै कम्जोर बन्दै गएको अवस्था जग जाहेर छ । देश बलियो बन्नुको ठीकविपरीत सिक्किमीकरणको मार्गमा उन्मुख गराउने काम दलका नेताहरूबाट किन हुँदै छ ? जनताकाबीचमा दलका नेताहरूले गरेका प्रतिबद्धताहरू पूरा गर्नुपर्दैन ? जसले संविधानसभाको मागराखी एक दशकसम्म देशभित्र हिंसात्मक आन्दोलन सञ्चालन गरे, उनीहरूकै हातबाट संविधानसभा भंग गराउने काम कसले गर्‍यो ? राज्यसत्ता सञ्चालनको चाबी सीमाबाहिर राखेर लोकतन्त्रको गफ गर्न दलका नेताहरूलाई त लाज लागेन, सुन्नेहरूले कसरी पचाएको यो गम्भीर सवाल ।
चुनाव भनेको जनताले आफ्ना प्रतिनिधिमार्फत आफ्नो विचार दिने लोकतान्त्रिक पद्धति मात्र हो चुनाव गाउनु मात्र समाधान हो भन्न सकिँदैन । चुनावका लागि नेपाली जनताको मानसिकता तयार भएको छैन । यदि चुनाव गर्ने नै हो भने पनि जनताको मागबमोजिम गर्ने हो, दलका नेताहरूले लादेको चुनावमा जनताले भाग लिनै पर्ने कुनै बाध्यता हुन सक्दैन । चुनावको विरोध गर्नेहरू पश्चगमनकारी हुन् भन्नेहरू पनि छन्, यो कुरा सत्य होइन । देशलाई बन्धक बनाएर राख्ने काम अग्रगमन हुन सक्दैन । रातारात आ–आफ्ना अडानहरू परिवर्तन गर्दै हिँड्नुलाई अग्रगमन भन्न मिल्दैन । आफूसँग देशलाई सञ्चालन गर्ने औकात नहुनु भनेको पनि प्रतिगमनको आधारभूमि हो भन्ने कुरा हाम्रा नेताहरूले जानेका छैनन् । राजनीतिमा नैतिकताको खडेरी परेको अवस्थामा राष्ट्रले सजिलो समाधानको मार्ग पहिल्याउन सक्दैन ।
आमनेपाली जनताले यो देशका नेताहरूलाई सोध्नुपर्‍यो, तपार्इंहरू यो देशको विकास चाहनु हुन्छ ? यो देशका जनता सुख र शान्तिपूर्वक बाँचुन भन्ने चाहनु हुन्छ ? यो राष्ट्र तपार्इंहरूका आफ्नै विवेकले चलाऊँ भन्ने चाहनु हुन्छ ? विदेशीको हस्तक्षेपबिना नै हाम्रा आपसी विवादहरूको समाधान गरौँ भन्ने चाहनु हुन्छ ? नेपाली जनतालाई स्वाधिन राष्ट्र भित्र शिरठाडो गरेर बाँच्ने वातावरण बनाइदिन चाहनु हुन्छ ? हाम्रा आपसी विवादले राष्ट्रपछाडि परेको हो, अब विवाद गर्नुको कुनै औचित्य छैन भन्ने कुरामा सहमत हुनुहुन्छ ? जनताको पीडा सुन्न चाहनु हुन्छ ? राष्ट्रको बर्बादी गर्नु र जनतालाई बारम्बार पीडा मात्र दिनुहुँदैन भन्ने कुरामा सहमत हुनुहुन्छ ? त्यसो हो भने अझै सबै कुरा बिग्रिसकेको छैन । देशभित्रका राजनीतिक शक्तिहरू आपसी एकता गर्ने प्रयास गर्नुहोस् र हाम्रा पुर्खाको कठोर मेहनतबाट निर्माण गरेको यो राष्ट्रको रक्षा गरिदिनुहोस् । जनतालाई शान्तिपूर्वक बाँच्न दिनुहोस् । यदि देशको धरातलीय यथार्थलाई आत्मसाथ नगरी जनतालाई ढाँट्दै विदेशीका कुरा मात्र सुनेर दलका नेताहरू अगाडि बढे भने भोलि के हुन्छ कसैले जानेको छैन । सबैलाई चेतना भया ।

प्रतिक्रिया