युएईविरुद्ध इतिहास बनाउने चुनौती

काठमाडौं, २० चैत । चौथो एसियाली क्रिकेट काउन्सिल (एसिसी) टी–ट्वान्टी कप–२०१३ का दुवै सेमिफाइनल खेल मंगलबार हँदै छन् । कीर्तिपुर क्रिकेट मैदानमा हुने पहिलो खेलमा अफगानिस्तान र हङकङ तथा दोस्रो खेलमा नेपाल र युएईबीच प्रतिस्पर्धा हुनेछ ।

हङकङ र नेपाल क्रमश: समूह ‘ए’का विजेता र उपविजेता हुन् । त्यस्तै, युएई विजेता र अफगानिस्तान उपविजेताका रूपमा समूह ‘बी’बाट सेमिफाइनलमा प्रवेश गरेका हुन् । हालसम्म यस प्रतियोगितामा सेमिफाइनलभन्दा अगाडि बढ्न नसकेको नेपाल मंगलबार युएइविरुद्ध जित हात पार्दै ऐतिहासिक यात्रा तय गर्ने प्रयासमा छ । नेपाल गत संस्करणमार्फत पहिलोपटक यस प्रतियोगितामा सेमिफाइनल पुगेको थियो । त्यतिबेला अफगानिस्तानसँग पराजित भएपछि घरेलु टोली फाइनल पुग्न भने सकेको थिएन ।
एसिसी स्तरमा उच्चकोटिको प्रदर्शन गर्दै आइरहेको टोली युएईले नेपालविरुद्ध कठिन चुनौती दिनसक्ने अनुमान गरिएको छ । नेपालले युएईलाइर् अहिलेसम्म टी–ट्वान्टी क्रिकेट संरचनामा पराजित गर्न सकेको छैन । हाल वल्र्ड क्रिकेट लिग डिभिजन वानमा रहेको उसले नेपाललाई अहिलेसम्म टी–ट्वान्टी क्रिकेटमा एकपटक भेटेकामा दुई वर्षअघि नेपालमै आयोजित यस प्रतियोगिताको पछिल्लो संस्करणमा सहजै पराजित गरेको थियो ।
समूह चरणमा यसअघिका सबै संस्करणको विजेता अफगानिस्तानलाई पराजित गर्नुका साथै हरेक खेलमा सानदार प्रदर्शन गरेको युएई उच्च लयमा देखिएको छ । गत संस्करणमा नेपालविरुद्ध विजयी भए पनि नेट रनरेटमा नेपालभन्दा पछि रहँदै समूह चरणबाटै बाहिरिएको युएई उक्त इतिहासलाई बिर्साउने प्रयासमा रहेको छ । समूह चरणबाटै बाहिरिएपछि युएईले आºनै देशमा आयोजित टी–ट्वान्टी विश्वकपको विश्वस्तरको छनोटमा समेत सहभागी हुने अवसर पाएको थिएन । समूह चरणमा कुनै आश्चर्यजनक नतिजा निकाल्न नसकेको नेपाल युएईविरुद्ध सफलता हात पार्दै आºनो उपस्थिति बलियो बनाउने प्रयासमा छ । यसअघि पछिल्ला केही भेटमा लगातार नेपालसँग पराजित भएको हङकङले समूह चरणमा घरेलु टोलीलाई पराजित गरेको थियो ।
त्यसो त युएईविरुद्ध पछिल्लो समय नेपालले ठूला सफलता हात पारिरहेको छ । केही समयअघि आयोजित एकदिवसीय स्वरूपको एसिसी ट्रफीमा बलियो प्रतिद्वन्द्वी युएईलाई समूह चरणमा पराजित गरेको नेपाल सोही टोलीलाई फाइनलमा बराबरीमा रोक्दै पहिलोपटक एसिसी ट्रफी जित्न सफल भएको थियो । यद्यपि, यस पृष्ठभूमिकै आधारमा अहिले अनुमान लगाउन भने गाह्रो छ । समूह चरणमा माल्दिभ्स, सिंगापुर र मलेसियालाई पराजित गरे पनि नेपाली टिमले उपाधिको दाबी गर्नयोग्य प्रदर्शन गर्न सकेको छैन ।

प्रतिक्रिया