इतिहासप्रति संघको दायित्व

dhakaram-sapkotaत्रिभुवन विश्वविद्यालयले आफ्नो स्थापनाकालदेखि पढाउँदै आएका विषयमध्ये इतिहास पनि एक हो । त्रिविले पढाउने गरेका विषयलाई समयसापेक्ष बनाउने उद्देश्यले समय–समयमा त्यस्ता पाठ्यक्रमलाई परिमार्जित गर्ने गरेको छ । त्यसरी परिमार्जित गर्ने क्रममा इतिहास विषयको स्नातक तहको दुईवर्षे पाठ्यक्रमलाई २०५४ सालमा तीनवर्षे बनायो । अब छिट्टै चारवर्षे बनाउने योजनामा छ । त्रिविबाट प्रमाणपत्र तह फेजआउट भएपछि प्रविणता प्रमाणपत्र तहमा हुने गरेको इतिहासको पठनपाठन पनि स्वत: फेजआउट भएको छ । समय–समयमा हुने यस किसिमका फेरबदलपछि पाठ्क्रममा समावेश गरिएका नयाँ विषयवस्तुबारे पठनपाठन गर्ने गराउने सवालमा देखिएका समस्या र तीनको समाधान गर्ने उद्देश्यले इतिहास केन्द्रीय विभागले विभिन्न गोष्ठी चलाउँदै आएको छ । यसै सिलसिलामा २०५४ साल मंसिर ४ देखि ६ गतेसम्म मिथिला राज्यको राजधानी सिम्रौनगढमा राष्ट्रिय गोष्ठी आयोजना गरेको थियो । त्यस गोष्ठीमा क्याम्पस पढाउने प्राध्यापकहरूको मात्र सहभागिता थियो । गोष्ठीमा प्राध्यापकबाहेक इतिहासमा चासो राख्ने र बुझ्न खोज्नेलाई सहभागी गराउन विभिन्न कारणले अप्ठ्यारो थियो । तर, उनीहरू सहभागी हुन चाहिरहेका थिए । यसै बेलादेखि इतिहासबारे जान्न र बुझ्न खोज्ने, खोज र अनुसन्धानमा लाग्ने सबै क्षेत्रका व्यक्ति सहभागी हुनसक्ने एउटा साझा संघको अभाव खड्कियो । जसको फलस्वरूप प्रा. डा. तुलसीराम वैद्यको अग्रसरतामा इतिहास विषयको प्राध्यापन, अध्ययन, अनुसन्धान र मुलुकको इतिहास लेखन कार्यमा दत्तचित्त रहेका इतिहासविद्हरूबीच आपसी भाइचारा सहयोग, सद्भाव र सौहार्दपूर्ण सम्बन्ध कायम भयो । देशका सम्पूर्ण पक्षको इतिहास लेखन र यस विषयमा रहेका विवादास्पद पक्षको निराकरण तथा राष्ट्रहितका लागि ऐतिहासिक तथ्यहरूको खोजी, अनुसन्धान र प्रकाशन गर्ने लक्ष्यका साथ २०५५ सालमा नेपाल इतिहास संघको स्थापना भएको हो ।
कानुनी रूपमा मान्यता पाउन सम्बन्धित ठाउँमा दर्ता हुनुपर्ने भएपछि आवश्यक प्रक्रिया पूरा गरी २०५७ साल चैत्र १७ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा नेपाल इतिहास संघ विधिवत् रूपमा दर्ता भयो । संघको विधान(२०५६) को प्रस्तावनामा संघ शुद्ध प्राज्ञिक, पेसागत तथा मुनाफारहित संस्था हुनेछ भनी उल्लेख गरिएको हुँदा नाफा आर्जन नगर्ने, विशुद्ध इतिहासको खोज तथा अनुसन्धानमा लाग्ने उद्देश्यका साथ स्थापना भएको यस संघले २०६९ चैत्र १७ गते काठमाडौंको पद्मकन्या क्याम्पसमा आफ्नो चौधौँ वार्षिक कार्यक्रम मनायो । सुरुसुरुमा संघमा असाध्यै उत्साह भए पनि देशको अस्थिर राजनीतिको प्रभावलगायत विविध कारणले केही समयपछि त्यो उत्साह हराउँदै गएको भान हुन्थ्यो । तर, पछिल्लो समयमा आइपुग्दा नेताहरूको बोली, व्यवहार र इतिहासमाथि भइरहेको प्रहार आदिका कारण जातजाति, भाषाभाषी र क्षेत्रकै भए पनि फेरि एकपटक आ–आफ्नो इतिहास खोज्ने काम सुरु भएको छ । सबै जातजाति, भाषाभाषी, वर्ग लिंग र क्षेत्रका मानिसले इतिहासबारे चासो दिइरहेका बेला नेपाल इतिहास संघ पनि सशक्त हिसाबले अगाडि बढ्न थालेको देखिन्छ । यसैक्रममा फागुन १९ र २० गते विराटनगरमा दुईदिने राष्ट्रिय गोष्ठी सम्पन्न गर्‍यो भने ३० फागुनमा इतिहास शिरोमणि बाबुराम आचार्यको जन्मजयन्ती नेपाल प्रज्ञाप्रष्ठिानमा मनायो । समय–समयमा विभिन्न कार्यक्रम गर्दै आफ्नो उपस्थितिलाई फराकिलो पार्दै लगेकाले संघका कार्यक्रममा इतिहासका विज्ञ तथा चासो राख्ने शुभेच्छुकको उपस्थिति क्रमश: बढ्दो छ ।
त्यस बेला अनौपचारिक रूपमै सबैले संघका कामको प्रशंसा गर्दै इतिहासका बारेमा चासो राख्दै यसको महत्त्वलाई जनस्तरसम्म पुर्‍याउने भूमिकाबारे चिन्ता जाहेर गरिरहेको देखिन्थ्यो ।
संघले केकति मात्रमा इतिहासको महत्त्व बुझाउन सक्यो, संरक्षण गर्न र प्रकाशमा आउन नसकेका कति कुरालाई प्रकाशमा ल्यायो ? आफ्नो उद्देश्यअनुसारको काम गर्न कति सफल
भयो ? तिनको समय–समयमा मूल्यांकन हुन पनि आवश्यक छ । एकपटक तात्ने अनि सेलाउने कामले टिकाउ हुने खालको परिणाम दिन सक्दैन । तसर्थ, अहिले जुन जागरुकता संघले देखाएको छ, त्यसले निरन्तरता पाइरहनुपर्छ ।
संघ सबैको साझा चौतारी भएको हँुदा संघको यो उत्साहलाई निरन्तरता दिँदै अझै प्रभावकारी हिसाबले अगाडि बढाउन के गर्न सकिन्छ, त्यसका लागि सबैले सोच्नुपर्ने आवश्कता छ ।
इतिहासका विषयमा रुची राख्ने, खोज अनुसन्धानमा लाग्ने जो कोही पनि आवश्यक प्रक्रिया पूरा गरी सदस्य बन्नसक्ने व्यावस्था संघले गरेको छ । नेपाल इतिहास संघको गठनपछि इतिहास केन्द्रीय विभागले समेट्न नसकेका (हुन त इतिहास केन्द्रीय विभाग भनेको त्रिविको एउटा अंग हो, त्यसमा सबै समेटिन सम्भव पनि छैन) तर त्रिविको दायराभन्दा बाहिर रहेका धेरै व्यक्तिलाई यसले समेट्न सफल भएको छ । यति हँुदाहुँदै पनि देशका नीतिनिर्माताले इतिहास नै बुझेका छैनन् भने हिजोबारे के थाहा पाउँछन् र आजको जगमा उभिएर भोलिको मार्ग कोर्छन् । इतिहासले हिजो मात्र सिकाउँदैन, आजलाई भोलिसँग पनि जोड्छ भन्ने कुरा ती नीतिनिर्मातालाई बुझाउन सक्नुपर्‍यो । सधैँ विद्यार्थी संख्यामा कमी भयो भन्दै कराउँदै हिँड्ने होइन, इतिहासको महत्त्व बुझाउन सकिएन भन्ने मान्यताका साथ नेपाल इतिहास संघ अघि बढ्यो भने उद्देश्यमा पुग्न सक्छ ।
नेपालको इतिहास विदेशीले लेखिदिने परम्परा हालसम्म कायमै छ । यो परम्परालाई तोड्दै नेपाल र नेपालीसँग सम्बन्ध राख्ने लुकेर रहेका ऐतिहासिक तथ्यहरु उजागर गर्नु र आफ्नो इतिहासलाई जीवन्त बनाउँदै लैजानु हरेक नेपालीको दयित्वभित्र पर्दछ । यसै तथ्यलाई हृदयंगम गरी यस संघ स्थापनाको आफ्नो उद्देश्यअनुरूप अगाडि बढ्दै गएर नेपालको यथार्थ इतिहास आफैँ लेख्ने र राष्ट्रिय स्वाभिमानलाई जोगाउने कार्य गर्नुपर्छ । यस कार्यले मात्र संघको औचित्य पुष्टि हुनेछ अन्यथा संघको मूल उद्देश्य सार्थक हुनेछैन ।

प्रतिक्रिया