प्रकाशकीय

प्रकाशनको करिब १३ महिनापछि हामी ब्रोडसिट आकारमा गएका छौँ । यसबीच ट्याबलोइड पत्रकारिताको धर्म एवं मर्मअनुरूपका कर्मबाट सौर्यले पाठक तथा आमजनताको मन जितेको प्रमाण खोज्न भौंतारिरहनु पर्दैन । अनेक प्रतिकूलताबीच पनि अनवरत प्रकाशन तथा बजार एवं आमपाठक दुवैबाट यसले पाएको स्नेहपूर्ण र दरिलो साथ पर्याप्त छ, सौर्यप्रतिको जनधारणा बुझ्न ।
ट्याबलोइड आकारमै हामीले दबिएर रहेका पृथक् धारका समाचार प्रकाशन गरेर सनसनी मच्चाएको सर्वविदितै छ । आवाजविहीनहरूको आवाज बन्न तथा लोकतन्त्र, मानवअधिकार, राष्ट्रियता एवं जनताको आधारभूत आवश्यकता परिपूर्तिका लागि दबाबमूलक भूमिका निर्वाह गर्न हामीले आºनो ठाउँबाट जिम्मेवार पहल गरेकै हौँ र यसैलाई अर्जुनदृष्टि बनाउने संकल्प पनि गरेकै हौँ ।
हामीले आजैदेखि लघुकायलाई त्यागेका छौँ । देश, जनता र पत्रकारिता जगत्ले सौर्यबाट बढी अपेक्षा गरेको महसुस गर्दै आगामी दिनमा यसप्रति आफूलाई थप प्रतिबद्ध बनाउने संकल्प गरेका छौँ । व्यावसायिक पत्रकारिताका आधारभूत मूल्य–मान्यताप्रति कुनै सम्झौता नगरी देश र जनताको हितमा विगतमा झैँ लागिरहनेछौँ । सौर्यलाई अहिलेको अवस्थासम्म ल्याउन सहयोग पुर्‍याउने पाठकवर्ग, सम्पादकीय समूहका सहकर्मी, कर्मचारी, विज्ञापनदातालगायत सबैप्रति आभार व्यक्त गर्दछौँ र आगामी दिनमा पनि निरन्तर सहयोग पाउने अपेक्षा गर्दछौँ । सबैको सहयोगविना सत्य, निर्भिक एवं व्यावसायिक पत्रकारितामार्फत रखवाली गर्दै मुलुक तथा जनताका पक्षमा सूचनाको प्रकाश छर्नु सौर्यका लागि असम्भव हुनेछ । आमपाठक, सामथ्र्यहीन भएका/बनाइएका जनता, राष्ट्र र राष्ट्रिय स्वार्थप्रति हामी थप प्रतिबद्ध बन्दै जानेछौँ । आशा छ, सौर्यको ब्रोडसिट आकारले पनि विगतकै जसरी सबैको माया र साथ पाउनेछ ।

प्रतिक्रिया