दुई दशकदेखि पूर्वी नेपालका झापा र मोरंग शिविरमा बस्तै आएका भुटानी शरणार्थी तेस्रो मुलुकमा पुन: स्थापना गरिँदै छन् । झन्डै २० वर्षअघि भुटान सरकारले आफ्नो थातथलोबाट निर्ममतापूर्वक लखेटेका नेपालीमूलका भुटानी जनताले शिविरमा रहेर निकै ठूलो दु:ख कष्ट बेहोरे । आफ्नै मुलुक भुटान फर्किनका लागि विभिन्न खाले संघर्षमा पनि शरणार्थी उत्रिएका थिए । तर, मानवीय संवेदना र नागरिकप्रति गरिने व्यवहारबाट च्यूत भएको भुटान सरकारले शरणार्थी मुद्दालाई ठट्टाका रूपमा लियो । जसले गर्दा शरणार्थीहरू तेस्रो मुलुक जान बाध्य भए । नेपालीभाषी भएकै कारण आफ्नो मातृभूमि छोड्नु परेका शरणार्थीको आफ्नै मुलुक फर्किने इच्छा पूरा भएन । नेपाल सरकार र भुटान सरकारबीच विभिन्न चरणमा शरणार्थी फिर्तासम्बन्धी वार्ता पनि भए । तर, यसलाई भुटानले नाटकको रूपमा लियो भने छिमेकी मुलुक भारतले मौन रूपमा भुटानकै समर्थन गर्यो । यही कारणले गर्दा वेश, भाषा, धर्म र सांस्कृतिक वातावरण नमिल्दा नमिल्दै पनि ती भुटानी शरणार्थी युरोप र अमेरिकाका विभिन्न मुलुकमा जान विवस भए । शरणार्थीको ठूलो हिस्सा तेस्रो मुलुक स्थानान्तरण भएपछि नेपाललाई हल्का भए पनि मानवीय दृष्टिले हेर्ने हो भने यो राम्रो काम होइन । उनीहरूलाई भुटान नै फर्काउन सकेको भए त्यो राम्रो काम हुने थियो ।
अहिले भुटानी शरणार्थीहरू विभिन्न आठवटा मुलुकमा स्थान्तरण गरिएका छन् । विश्वका ती सम्पन्न मुलुकमा बसोवास गर्न पाए पनि आफूले सिर्जना गरेको श्रीसम्पत्ति, आफ्नो जन्मथलो र आफू हुर्की बढी खेलेको भूमि छोड्नु पर्दा उनीहरूको मन कुडिँएको छ । कोही पनि आफ्नो जन्मथलो छाडेर पराइ मुलुक जान रुचाउँदैन । यसलाई भुटान सरकारले गम्भीरतापूर्वक लिन सकेन जसले गर्दा भुटानी शरणार्थी तेस्रो मुलुक जानुपर्यो । संयुक्त राष्ट्र संघको सहयोगमा भुटानी शरणार्थीलाई विभिन्न आठ विकसित मुलुकमा पुन: स्थापना गर्ने काम अहिले भइरहेको छ । अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, डेनमार्क, नेदरल्यान्ड, न्युजिल्यान्ड र नर्वेमा उनीहरूलाई पुन: स्थापना गरिएको हो । यो कार्य संयुक्त राष्ट्रसंघ मातहतका युएनएसीआर र आइओएम नामक दुई संस्थाको सहयोग र नेपाल सरकारको सहयोगमा भइरहेको हो । शरणार्थीको समस्या दिगो रूपमा समाधान गर्न पुन:स्थापनाको काम थाल्दा नेपालमा शरणार्थीको संख्या एक लाख आठ हजार मात्र थियो । अहिले त्यो संख्या आठ हजारले बढेको छ । संयुक्त राष्ट्रसंघले जम्मा ९६ हजार शरणार्थी मात्र तेस्रो मुलुकमा स्तान्तरण गर्ने स्वीकृति दिएको छ । यसपछि नेपालमा २० हजार शरणार्थी बाँकी रहने देखिन्छन् ।
नेपाल सरकारले अब २० हजार शरणार्थीका हकमा गम्भीरतापूर्वक सोच्नुपर्ने बेला आएको छ । बाँकी भुटानीहरूलाई सकिन्छ भने आफ्नै मुलुक भुटान फर्काउने पहल नेपाल सरकारले थाल्नुपर्छ । यदि सकिदैन भने पुन: संयुक्त राष्ट्रसंघसँग अनुरोध गरेर तेस्रो मुलुकमा पुन:स्थापनाको व्यवस्था मिलाउनुपर्छ । नेपालको अवस्था शरणार्थी पाल्न सक्ने खालको छैन । यहाँ विभिन्न खालका भूमिगत गिरोह र आन्दोलनकारी तत्त्वले शरणार्थीलाई प्रयोग गर्न सक्छन् । तसर्थ, बाँकी शरणार्थीका हकमा के गर्दा उपयुक्त हुन्छ त्यो कुरा बेलैमा गर्नुपर्छ । शरणार्थीलाई जहिले पनि शिविरमा राख्ने स्थिति रहनु हँुदैन । भरसक बाँकी शरणार्थी स्वदेश फर्किन सक्ने वातावरण बनाउने र त्यो अवस्था नरहे तेस्रो मुलुकमै स्तान्तरण गर्न सक्ने मार्ग पहिल्याउनु पर्छ । शरणार्थी पनि मानिस हुन । उनीहरूलाई समाजमा बाँच्न सक्ने वातावरण चाहिन्छ । तसर्थ, यसका लागि नेपाल सरकारले पहल गर्नै पर्छ ।
प्रतिक्रिया