महिलाका रोमाञ्चक कहानीहरू

Ramji-Balamiयस्ता थुप्रै विचित्र र प्रतिनिधिमुलक भनाइ समेटिएका छन् पत्रकार अश्विनी कोइरालाको किताब ‘उनी’ मा । हालै प्रकाशित यस संग्रहमा ३९ पात्रको विचित्र र रोचक अन्तर्वार्ता समाविष्ट छ । महिलाको आँखाले पुरुष, नेपाली समाजलाई हेरिएको किताब हो उनी । महिलाहरूको अन्तर्वार्तामार्फत किताबमा लेखिएका छन् अनेक कथाहरू–संघर्ष, प्रवृत्ति, जीवनशैली, यौन र ममताका ।
संग्रहमा गृहिणी, तेस्रोलिंगी, मोडेल, राजनीतिज्ञ, कलाकार, साहित्यकारलगायत थुप्रै क्षेत्रका विचित्र प्रतिभालाई समेटिएको छ । हरेक महिलाको व्यथा र ती आँखामा सजिने सपनाको यथार्थ पुस्तकमा छ । विगत र वर्तमान परिवेशमा महिलाबीच आएको विविध परिवर्तित आयामको अध्ययन गर्न पनि पुस्तक उपयोगी छ । पुस्तक पढ्दै जाँदा बिस्तारै नारीको कोमलता, चाहना, रहस्य, मर्म, पीडा र भावना बुझ्न सहयोग पुग्नेछ । यसमा समेटिएका केही अन्तर्वार्ताले अधिकांश महिलाको प्रतिनिधित्व गरेका छन्, जसबाट उचित मार्गदर्शन पनि लिन सकिन्छ ।
धादिङकी लक्ष्मी राई जो श्रीमान्को समेत माया नलाग्ने जवाफ फर्काउन बाध्य छिन् । ‘सुत्ने बेला मात्रै चिल्लो घस्ने’ श्रीमान्को माया नलाग्ने बताउँछिन् उनी । भक्तपुरकी देवकी रावत, मिडिया एक्टका निर्देशक सिर्जना जोशी, गोरखाका माओवादी कमान्डर कमला नहर्कीका अन्तर्वार्ता पनि उत्तिकै दमदार छन् । त्यस्तै, माओवादी जनयुद्धको समग्र पीडा बुझ्न बिन्दा अधिकारीलाई पढ्दा पुग्छ । उनको अन्तर्वार्ताले पाठकलाई जीवनको दार्शनिक पक्षबारे सोच्न बाध्य पार्छ । आफ्नो छोराले नेतालाई हात हाल्ला कि भन्ने चिन्ता बोकेर बाँचिरहेकी अधिकारीको जस्तै पीडा अझै पनि कैयौँ नेपालीले भोगिरहेका छन् ।
स्मिता थापा जसले ‘पुरुष जातिलाई खेलाउने’ भनेर उद्घोष गरेकी छन् । यति मात्रै होइन, एक पुरुषसँग कारमै सम्भोग भएकोसमेत बताउन उनी चुकेकी छैनन् । उनको भनाइले युवापिँढीमा छाएको विकृति र छाडापनलाई मात्रै छर्लंग गरेको छैन, आधुनकिताको नाममा छाएको सीमाहीन विकृतिलाई पनि उजागर गरेको छ । गायिका आनी छोइङ डोल्माको जीवनीबाट जीवनको सारतत्त्व बुझ्न सकिन्छ । त्यस्तै, कुख्यात अपराधी मानिने चाल्र्स शोभराजसँग विवाह गरेको बताउँदै आएकी निहिता विश्वासको शक्तिवाण भनाइ गृहिणी सोनी श्रेष्ठको वास्तविकता, समाजलाई नै चुनौती दिएकी विमला ढकाललगायतका अन्तर्वार्ता पनि रोमाञ्चकताले भरिपूर्ण छ ।

सर्वाेत्कृष्ट निजामती कर्मचारीको रूपमा नाम लेखाएकी पार्वती शर्माको मिहेनतीको कथाले आममानव जीवनलाई संघर्षको पाठ सिकाएको छ । कामलाई सानो ठान्नु हुन्न भन्ने शिक्षासहितको सविता श्रेष्ठको अन्तर्वार्ता, मृदुला कोइरालाको सफलताको कथा, यौनकर्मीबाट उद्धार कार्यमा परिवर्तित पात्र मेनुका थापालगायतको साहसलाई पनि पढ्न पाइन्छ । वसन्तदेवी झा, डा. लुना भट्टराई, साहित्यकार झमक घिमिरेहरूको मिहिनेत, परिश्रम, साहस, पीडा र सफलताको कथा पनि नजिकबाट अनुभव गर्न पाइन्छ । तेस्रोलिंगी सुमन तामाङ र बेचिएकी चेली चरिमाया तामाङको संघर्ष पनि लेखकले लहरै उन्न भ्याएका छन् ।
अंग प्रत्यारोपणबाट छोरी बनेकी केट्लिन पन्तको कहानी त अझ रोमाञ्चक छ । यौनकर्मी सीता बराल र उनीहरूको अध्ययन गरिरहेकी डा. लक्ष्मी घिमिरेको अन्तर्वार्ताले नेपाली यौनकर्मीको पीडा र बाध्यतालाई उजागर गरेको छ । कलाकार करिस्मा मानन्धर र मनीषा कोइरालाको अन्तर्वार्ताले चलचित्र क्षेत्रमा महिलाको पीडा, उपस्थिति र यथार्थ बुझ्न सघाउ पुग्नेछ । मानवअधिकारकर्मी पद्मरत्न तुलाधरकी पत्नी नीलशोभा तुलाधर, प्रहरी अधिकृत रमेश खरेलकी पत्नी रञ्जु खरेल, साहित्यकार मनुजबाबु मिश्रकी पत्नी रवला मिश्र, आख्यानकार मनु ब्राज्राकीकी पत्नी ज्ञानु भण्डारी, जयप्रकाश गुप्ताकी पत्नी सरस्वती पुरी, नारायणमान बिजुक्छेकी पत्नी शोभा प्रधान, सीताराम हाछेथुकी पत्नी बिजु प्रधान, साहित्यकार विमल निभाकी पत्नी रीता श्रेष्ठ, राजनीतिक विश्लेषक सिके लालकी पत्नी अर्चना र कलाकार हरिवंशकी स्व. पत्नी मीरा आचार्यका अन्तर्वार्ता पनि समेटिएका छन् ।
त्यस्तै, एचआइभी पीडित भएर पनि साहसका साथ सार्वजनिक भई अन्य पीडितलाई साथ दिन तल्लीन आशा क्षत्रीको भनाइले यस्ता थुप्रै एचआइभी पीडितलाई हौसला प्रदान गर्छ । अन्त्यमा कृष्णप्रसाद भट्टराईको सेवामा जीवन समर्पण गरेकी अमिता कपालीको अन्तर्वार्ताले महिलामा हुने ममताको गाँठो फुकाउने कोसिस गरिएको छ । हरेक अन्तर्वार्तामा महिलाको साहस, मिहिनेत, सफलता र जीवनगाथा समाविष्ट छन् ।
महिला जगत्को रहस्य, अधिकार, चेतना स्तर, यौनचाहना, पारिवारिक बन्धन, सोच, पेसाप्रतिको लगाव, जीवनशैली, भावना, दृष्टिकोण, प्रवृत्ति, व्यवहार, मानवीयता, ममता र अपेक्षा बुझ्न पुस्तक निकै उपयोगी देखिन्छ ।

प्रतिक्रिया