इन्द्रबहादुर राई : एउटा पूर्ण विश्वविद्यालय

Rajan-Mukarungउनन्सत्तरी सालको दसैँ सकियो । ‘धङधङी’ भने अलिअलि बाँकी थियो नै भनूँ । ‘दमिनी भीर’को अन्तिम लेखन गर्ने चाँजोपाँजो बुन्दै थिएँ म । एक बिहान धीरेन्द्र रुम्दालीको फोन आयो । उनले भने, ‘तपाईंको लागि गजबको कुरा छ । फोनमा भन्दिनँ । चिया–पसलमा आउनोस् † तुरुन्तै ।’
धीरेन्द्र मेरा सबै किताबका आग्रही पाठक हुन् । यतिसम्म आग्रही कि मैले लेख्दालेख्दैको अंश छाप्न उनलाई हतारो भइहाल्छ । मैले लेखेका सबै किताब मेरो दराजमा कहीँकतै भेटिँदैन तर उनको दराजमा भने स–प्रेम पाइन्छ । एउटा कवि–लेखकले पाउने सबैभन्दा ठूलो प्राप्ति पनि यही त हो । धीरेन्द्रको आदेश नै भनूँ या ठानूँ । म चिया–पसलतिर हाँकिएँ ।
उही चिया–पसल । कोटेश्वरको सरस्वती डेरी, जहाँ हामी बिहानभरको समय अनेक छलफलमा सक्छौँ । पत्रिकाका मुख्य समाचार त्यहीँ पढिसक्छौँ । म पुग्दा धीरेन्द्र आइपुगिसकेका थिए । उनले उत्साहित भएर भने, ‘इन्द्रबहादुर राईलाई भेट्न जानोस् अरे † बूढाले ‘हेत्छाकुप्पा’ खुब मन पराएछन् । अरू पाँचप्रति पनि तुरुन्तै पठाइदिनोस् अरे †’
‘हेत्छाकुप्पा’ बजारमा ल्याएपछि ममाथि जातिवादी, साम्प्रदायिक आदि–इत्यादिको आरोप घच्चीले लाग्यो । मैले पनि उत्पीडित जाति र समुदायको आवाज लेख्दा त्यसो भनिन्छ भने ‘सही’ भनेर सकारेँ । इन्द्रबहादुर राई आफँैमा छुट्टै विम्ब लाग्छन् मलाई । उनको प्रवचन दिने शैलीले म यति प्रभावित छु कि लाग्छ– बूढाले बोलेजति पनि लेख्न सकिएन । उनैले ‘हेत्छाकुप्पा’ मन पराउनुको कारणचाहिँ के होला त ? प्रश्न उठिहाल्यो । धीरेन्द्रले संकेत गरे– भाषा, शिल्प, शैली अनि मुद्दा । अरू बुझ्न इन्द्रबहादुर राईसँगै भेट्नुपर्नेमा उनले जोड गरे ।
धीरेन्द्र र उनका साथीहरू अर्थात् मेरा पनि–दीपेन बाला राई, अर्जुन जम्नेली राई, उत्तम राई, सुनिल राई र नगेन्द्र राई उम्दा युवा हुन् । किन उम्दा हुन् भने यिनीहरू नेपाली राजनीतिमा प्रत्यक्ष दाबा गर्छन् । ‘पहिचानसहितको संघीयता’को पक्षमा पहाड भएर उभिन प्रतिबद्ध छन् । यिनीहरूसँग नेपाली समाज बदल्ने दरिलो आत्मविश्वास छ । आफ्नो पहिचान स्थापित गर्ने पक्षमा एक इन्च पनि पछि हट्दैनन् भन्ने बुझाइ छ मेरो ।
धीरेन्द्रहरू दसैँ मान्दैनन् । त्यही भएर दसैँको लामो बिदा छल्न दार्जीलिङ–सिक्किम हाँक्किएका थिए । मेरा लागि ‘निम्तो’ लिएर आए । म पुलकित नहुने कुरै भएन ।

धीरेन्द्रसँग छुट्टिएपछि मलाई लाग्यो– बूढालाई भेट्न रित्तो जानु हुन्न । चार वर्षअघि छापिएको किताब मात्रै बोकेर कसरी जाने ? हामी कवि–लेखकको कोसेली भनेको आफ्नै कृति त हो । अझ नयाँ लेख्न सकिएको होस् । मैले ‘दमिनी भीर’ लिएर जाने निर्णय गरेँ । एक खालको ऊर्जा थपियो । दसैँको धङधङी पनि सकियो ममा । मैले त्यसै दिनदेखि फेरि लेख्न थालेँ–‘दमिनी भीर ।’
‘आज रमिता छ’ मैले धेरैपटक पढेको उपन्यास हो । ‘विपना कतिपय’ले आज पनि मेरो दिमाग हल्लाइरहन्छ ।
‘कथास्था’ले निकैचोटि मलाई ‘ह्याङ’ गराएको छ । ‘साहित्यको अपहरण : माक्र्सवादी चिन्तन’ त म सिरानीमुनि नै राख्छु । यस्ता कृतिका लेखक इन्द्रबहादुर राईलाई मैले पहिलोपटक उनन्साठी सालमा भेटेको हँु । उनकै निवास दार्जीलिङको गुन्द्री बजारमा । दार्जीलिङमा उनलाई ‘राई सर’ भनेर सम्मान गरिन्छ । मैले पनि त्यसबेला ‘सर’ भनेर सम्बोधन गरेँ । त्यसबेला उनले ‘लीला लेखन’बारे धेरै बताए, दार्शनिक पारामा कथाहरू हाल्दै । त्यसपछि कवि ईश्वर बल्लभको घरमा एकसठ्ठी सालको अन्ततिर भेटेको हँु । त्यसबेला चिन्तनका कुरा गरिएन । व्यवहारिक कुरा मात्र भए । पहिलो ‘एनसेल लिटरेचर फेस्टिभल’मा भलाकुसारी गर्ने मौकै मिलेन क्यारे †
अस्ति भर्खरको असारमा मात्रै मैले राई सरलाई
‘हेत्छाकुप्पा’ पठाइदिएको थिएँ संगीतकार मणिकमल क्षेत्रीको हातबाट । सँगै एउटा चिर्कटो लेखेको थिएँ— ‘सर, ‘दमिनी भीर’ लेख्दै छु । अर्को उपन्यास । त्यो लिएर सरलाई भेट्न आउनेछु ।’ त्यही भएर यति पछाडि मात्रै मलाई ‘राई सर’को निम्तो आएको हो, भनूँ न ।
‘दमिनी भीर’ पुसको पहिलो हप्ता प्रेसबाट आयो । म तुरुन्तै हङकङ उडिहाल्नुपर्ने भयो । ‘हङकङ नेपलिज फाउन्डेसन’ले गर्ने ‘नेपाली सप्ताह’ कार्यक्रमको अतिथि थिएँ । यसपटकचाहिँ ‘दमिनी भीर’ पहिलोचोटि ‘राई सर’लाई नै दिन्छु, सोचेथँे । पूरा भएन ।
फागुन १३ गते फेसबुकमा ‘ह्याप्पी बर्थ डे’का म्यासेज आउन थालेपछि म झस्किएँ । अहो † एक वर्ष बूढो भइएछ । अनि पो ‘राई सर’को सम्झना भयो । बूढालाई भेट्न जाने कुरा त भुसुक्कै भएछ । मैले तुरुन्तै ट्राभलमा फोन गरेँ । १४ गतेको टिकट ‘कन्फर्म’ भयो । दिउँसो दुई बजेको फ्लाइटबाट म विराटनगर ओर्लिएँ । साँझ दमक पुगेँ । कवि तथा चलचित्र निर्देशक प्रकाश आङदेम्बे निवास । ‘देश खोज्दै जाँदा’ नामको चलचित्रको छायांकन सुरु गर्ने चटारोमा रहेछ ऊ । कवि मित्र उपेन्द्र सुब्बा पनि चलचित्रकै काममा व्यस्त हुने भए । दुवैलाई लिएर जाऊँ भन्ने लागेको थियो । ‘सुटिङ’का कारण अवसर मिलेन तर प्रकाशले नै मणिकमल दाइसँग जान सुझायो । किनभने, राई सर यतिबेला सिलगुडीको सालबाडी झरेका छन् भन्ने पत्ता लाग्यो । उनको निवास म चिन्दिनथेँ, मणिकमल दाइलाई थाहा थियो । तर, दाइको समय १७ गते मात्र जुर्‍यो ।
यसैबीच गौतम राई आइपुगे बुटवलबाट । कवि विराट् किरातीले पनि ‘राई सर’ भेट्ने तीव्र इच्छा व्यक्त गरे । अर्थात् सामेल हुने भए यात्रामा । १७ गते बिहान सिलगुडीका लागि दमकबाट बस चढ्यौँ हामी । काँकडभिट्टा पुग्ने बस ।
मेची पुल तर्दै गर्दा नेपाली सीमाना मिचिँदै गरेकोप्रति चसक्क मन भएकै हो । मैले जंगेपिलरलाई नमीठो दर्दले हेरेकै हो । भावनामा भारतीय बलमिचाइप्रति घृणा लागेकै हो । तर, ‘राई सर’लाई भेट्नु थियो । भाषा, साहित्य र सिर्जनाको नाता बलियो बन्यो अनि ।
भारतीय राष्ट्रियता छ राई सरसँग । उतैका नागरिक हुन् । नेपाली भाषी भारतीय हुन् । तर, नेपाली भाषा र साहित्यको श्रीवृद्धिका लागि राई सरको योगदान मेची पुलले नेपाल–भारत जोडेभन्दा गुणौँ गर्विलो छ । उत्तिकै दम्भिलो पनि । लागेको यही हो ।
दिनको दुई बज्दा हामी राई सरको निवास पुग्यौँ । उनकी ठूली छोरीको घर रहेछ । ढोकाबाट छिरेर ‘सिटिङ रुम’मा बस्नै पाएका थिएनौँ— चिम्सा आँखामाथि पारदर्शी चस्मा, सेतो सर्ट र हल्का पँहेलो पेन्ट लगाएका राई सर भित्री कोठाबाट निस्किए । हामीले समूहमै नमस्कार गर्‍यौँ । मणि दाइ पालैपालो चिनाउन खोज्दै थिए । मैले ‘दमिनी भीर’ राई सरको हातैमा थमाइहालेँ । अनि पो सरले धाप मारिहाल्नुभयो र भन्नुभयो– ‘आ, मुकारुङ ? हेत्छाकुप्पा ? लु बसुङ †’
सोफामाथि बस्दाबस्दै राई सरको कुरो सुरु भइहाल्यो– ‘त्यो छ नि, गाउँमा भैँसी लखेट्दा ठेस लागेको केटोले घाउमा माटैले टालेको, कत्रो विश्वास हकि माटोमा ? त्यो बिहेको प्रसंगमा बोल्ने भाषा, त्यहीँ जुझी निस्किने । कस्तो राम्रो हकि ? आयो नि त नेपाली साहित्यमा । आयो नि त नयाँ कुरा । हामीसँगै र छ त नि कतिकति कुरा । मलाई खुब मन परेको हो ‘हेत्छाकुप्पा’ । यताका साथीहरूलाई पढाउनुपर्ने हो, किताबै पो पाइँदैन त ।’
सरको कुराले त्यसै फुरुङ्ग थिएँ म । मैले भनँे, ‘उताचैँ पढ्नै चाहँदैनन् सर ।’
‘आ, ब्राम्हण–क्षेत्री साथीहरूलाई अलि बढी नै घोचेको हो कि ? तर, त्यो त यही समय र समाजले भनेको हो नि । साहित्यलाई त त्यसरी पो पढ्नुपर्छ, बुुझ्नुपर्छ त ।’
त्यसपछि राई सर अरू साथीसित परिचयमा व्यस्त भए । मैले सरलाई नियालेँ । आँखाहरू निक्कै नै सुन्निएका । आँसु बगिरहँदो रहेछ । अरूको कुरा सुन्नुपर्दा कान चनाखो बनाउने । ८६ वर्ष पुग्दै गरेका राई सरको शरीर पनि निकै कमजोर भइसकेछ । ‘जार’ कथामा बाघसँग लाप्पा खेल्ने इन्द्रबहादुर राई । ‘खीर’ पकाउँदा जिन्दगीको परिभाषा भन्ने राई सर । ‘रातभरि हुरी चल्यो’मा आशाका अनगिन्ती छानाहरू छाउने उबेलाका राई । अहो † थकाउँदै ल्याएछ आफ्नै उमेरले । म विचलित भएँ । लाग्यो– जिन्दगीको यो अनौठो रीत छ । बुढेसकालले लघार्छ सबैलाई । तर, तन थाक्दै आए पनि राई सरले आफ्नो मनलाई फुर्तिलो बनाए । निखार पाइसकेको मस्तिष्कबाट दार्शनिक प्रश्न उठाए । यसरी– ‘हामी मान्छे साह्रै चकचके । झेली, लोभीपापी प्राणी । यस्तो प्राणीलाई ईश्वरले किन सृष्टि गरेको होला ?’
हामी सबै मुखामुख भयौँ ।
राई सरले नै थालेका हुन् कुरो–‘यस्तो प्राणी (मान्छे)लाई किन तिम्रो प्रभुले सृष्टि गरेको ? भनेर पादरीहरूलाई सोध्यो, उत्तरमा भन्छ– किनभने, तिनीहरूले प्रभुको प्रशंसा गर्छन् । मान्छे त प्रभुको प्रशंसा गर्ने मात्रै पो र’छ । यसैगरी मुस्लिमहरूलाई सोध्यो, तिम्रो अल्लाहले किन मान्छे बनाको भनेर ? उत्तरमा त किनभने तिनीहरूले अल्लाहको आदेश मान्छन्, पो भनिदिन्छ । मान्छे त आदेश मान्ने पो र’छ । हिन्दूहरूलाई किन ईश्वरले मान्छे बनाको ? भनेर सोध्यो, कति पनि अप्ठेरो नमानी भनिदिन्छ– किनभने, मान्छेले ईश्वरलाई पूजा गर्छ । पूजा गरिमाग्न पो मान्छे बनाको र’छ । बरु, हकि हाम्रो नाक्छोङ, बिजुवाहरूलाई किन तिम्रो माङले मान्छे बनाको ? भनेर सोध्यो भने ‘प्रकृतिलाई सजाउन’ भन्दो र’छ । तर, राम्ररी आएको छैन नि त यस्तो कुरा । हाम्रो साहित्यमा आउनुपर्‍यो नि अब ।’
राई सरका धेरै कुराहरू हाम्रा लागि ज्ञानवर्धक थिए । उत्तर–आधुनिकतावादका बारे पनि धेरै कुरा भए । उनले जगदीश शमशेर राणाको ‘उत्तरआधुनिक र बाहुल्य बिस्फोट’ नामक किताब पढ्न सुझाए । वर्गका कुरोमा राई सर अहिले पनि ‘साहित्यको अपहरण : माक्र्सवादी चिन्तन’कै छेउनेर उभिए । उनले त्यहाँ माक्र्सवादी चिन्तकहरूलाई इंगित गर्दै लेखेका छन्, ‘तपाईंहरूले भन्नुभएको बुर्जुवा मासु, भात पनि भेटेका बेला हामी डम्फाइदिन्छौँ । गरिब नै भए पनि सिस्नु र ढिँडो मात्रै खाँदैनौँ । सामान्य दालभात खाने वर्गमा पर्छौँ हामी ।’ यहाँ पनि उनले थपे– ‘युरोप–अमेरिकामा चाहिँ नयाँ मोडेलको कार किन्न सकेन भने गरिब हुँदो र’छ । हाम्रोतिरचाहिँ एकछाक भात खान पाइएन भने गरिब होइँदो र’छ । गरिबकै पनि ठाउँअनुसार फरकफरक बुझाइ हुँदो र’छ ।’
अन्तिमतिर राई सरले मेरो परिवारबारे सोधे । मैले ‘बाबा–आमा हुनुहुन्छ’ भन्नासाथ ‘अहो † तपाईं कति भाग्यमानी †’ भनिहाले । अनि सोधिहाले– ‘बुहारी नि ?’
‘कोरिया ग’को छ । पैसा कमाउन,’ मैले भनेँ ।
‘अहो † झनै राम्रो । पैसा त नभइ नहुने कुरा भयो । भिटामिन एम । मनी । ए, बी, सीभन्दा पनि आवश्यक भो नि मान्छेलाई ।’
हामी हास्यौँ ।
अरू धेरै कुराहरू आए राई सरबाट । ज्ञानगुनका । साहित्यका । चिन्तनका । शास्त्रका । लागिरह्यो– एउटा अर्कै विश्व–विद्यालयमा पढिरहेका छौँ हामी ।
अन्तमा उनले एउटा गुनासो गरे, ‘नेपालमा साहित्यमा नयाँ के हुँदै छ भन्ने थाहै पाउन गाह्रो भइसक्यो । पत्रपत्रिकाहरू आउँदैनन् । अचेल त ‘गरिमा (मासिक पत्रिका)’ पनि आउन छोड्यो । नेपालतिरबाट त पठाइदिए मात्रै पाइन्छ ।’
राई सरका आँखाबाट फेरि एकपटक बाक्लै गरी आँसु बगिरहेका थिए । मन नमीठो गरी कुँडियो तर लाग्यो– बुढ्यौलीले सताएर आँसु बगे पनि त्यो त नदी हो अनन्त चिन्तन, ज्ञान र सिर्जनाको । राई सरका आँसुमा हामीले भेटाउने त्यही हो ।
करिब दुई घन्टाको भलाकुसारी सकेर हामी मनभित्रैबाट ‘नक्सलबाडी’लाई सलाम गर्दै मेची पुल आइपुग्यौँ । गाडी रोकेर हामीले सीमानाको दाबी गर्दै फोटो खिच्यौँ । पुल तर्ने बेलामा भन्यौँ, ‘फेरि भेटौँला राई सर † चाँडै ।’ सायद हामीले इन्द्रबहादुर राईलाई यतिबेलासम्म पनि साथैमा पाइरहेका थियाँै ।

प्रतिक्रिया