बन्द हुंदै गाईफार्म

Cow-Chiwanचितवन, १५ चैत । अर्थतन्त्रको ३५ प्रतिशतभन्दा बढी हिस्सा ओगटेको कृषि व्यवसाय दक्ष प्राविधिक र कामदार अभावले संकटमा पर्न थालेको छ । सोही कारण यहाँका गाईफार्म समस्याग्रस्त देखिएका छन् ।

रोजगारीको खोजीमा प्रतिदिन युवा पलायन हुन थालेपछि चितवनका पशुपालन फार्म मजदुर अभावमा बन्द हुने अवस्थामा पुगेका हुन । केही वर्ष यता उन्नत नश्ल सुधार भएका गाईको स्रोत केन्द्रका रूपमा ख्याति कमाएकोमा चितवनमा गाईफार्ममा काम गर्ने मजदुर अभाव हुन थालेपछि कृषकहरू चिन्तित बनेका छन् । जिल्ला पशु सेवा कार्यालय चितवनको तथ्यांक अनुसार अहिले चितवनमा सञ्चालित करिब आठ दर्जनभन्दा बढी व्यावसायिक पशु फार्ममध्ये धेरैजसो फार्ममा गाईहरू छन् ।
यहाँ सञ्चालित केही गाईफार्म मजदुर अभावमा बन्द भइसकेका छन् भने दर्जनौँ फार्म बन्द हुने अवस्थामा पुगेका छन् । दूध र दुग्ध उत्पादनमा अग्रभागमा रहेको चितवनमै गाईफार्महरू बन्द हुन थालेपछि अधिकारीहरू पनि चिन्तित हुन थालेका छन् । जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख डा.तेजबहादुर रिजालले दूध र दुधजन्य पदार्थ उत्पादनमा राम्रो नतिजा निकालिरहेको चितवनमा मजदुर अभावमा फार्महरू बन्द हुन लाग्नु दु:खद पक्ष भएको बताए ।
१० वटाभन्दा बढी पशु व्यायसायिक रूपमा पाल्दै आएका किसानहरू मजदुरको अभावमा आफ्नै परिवारको श्रमबाट मुस्किलले धान्न वाध्य छन् । ‘म त अब गाईको संख्या घटाउने सोचिरहेको छु,’ २६ वर्षदेखि पशुपालन पेसामा संलग्न पटिहानी–७ मा अवस्थित तिमल्सिना लाइभस्टक फार्म एन्ड रिसर्च सेन्टरका सञ्चालक खेमराज तिमल्सिनाले भने । हाल चितवनमा सबै व्यावसायिक फार्ममा गरेर तीन सय बढी मजदुरको अभाव रहेको छ । व्यावसायिक दुग्ध उत्पादक कृषक समाज चितवनका अध्यक्ष आनन्द न्युरे भुसालले किसान रातदिन आफ्नो फार्ममा श्रमको लागि जुट्नुपर्दा नयाँ प्रविधिको प्रयोग र फार्म व्यवस्थापनमा कठिनाई परेकोमा जोड दिए ।
चितवनका पशु फार्ममा करिब चार सयभन्दा बढी मजदुरले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा श्रम गर्दै आएका छन् । प्रति १० गाई एक जना मजदुर रहनुपर्नेमा मजदुर अभावको कारण २० गाई बराबर एक जना मजदुर पनि पुग्नसकेका छैनन् । यस्तै मजदुर अभावमा पशुको स्याहार अपुग हुन गई विभिन्न खालका रोग लागि पशु मर्ने र बिग्रिने गरेकाले यस्ता व्यावसायिक फार्ममा नयाँ लगानीको लागि लगानीकर्ता सशंकित भएका छन् ।
बल्ल तल्ल विदेशबाट स्वदेश फर्की सो व्यवसायमा लगानी गरेका युवाहरू राज्यको अस्थिर राजनीति र कृषिप्रति देखिएको निरुत्साहित दृष्टिकोणले आफ्नो व्यवसाय लिलाम बिक्री गरेर पुन: बिदेसिनुपर्ने बाध्यतामा रहेकोमा गुनासो गर्छन् । लामो समयदेखि विदेशी भूमिमा आफ्नो श्रम पोखी अब केही गर्नुपर्छ भन्ने सोचाइ राखेर नेपाल फर्किएर चितवनको पर्सामा ताज पशु विकास फार्म सञ्चालन गर्दै आएका सञ्चालक रिसभ थपलियाले बताए ।
चितवनका पशु फार्ममा हाल खान बस्नसहित न्युनतम् चार हजारदेखि अधिकतम आठ हजारसम्म मजदुरहरूले तलब पाउने गरेका छन् । यसरी आन्तरिक रोजगारीको अवसर रहँदारहँदै पनि राज्य र समाजले यस क्षेत्र प्रति सम्मानजनक दृष्टिले हेर्न नसक्नाले बेरोजगार युवाहरूमा समेत कुनै किसिमको काम गर्ने जाँगर नरहेको बताउँछन् । लामो समयदेखि प्रवासी जीवन बिताई स्वदेश फर्की बंगुर पालन व्यवसायमा संलग्न भरतपुर–८ का आले बंगुर फार्मका सञ्चालक मोहन आलेले मजदुरहरू अभावमा प्रतिदिन फार्म बन्द हँुदै जाने हो भने लाखौँ रुपियाँ लगानी गरी कृषि क्षेत्रमा आफ्नो उज्जल भविष्य खोजिरहेका युवापुस्ताहरू उठ्नै नसक्ने गरी थला पर्ने बताउँछन ।

प्रतिक्रिया