भत्केको पुल र लोकतन्त्र

Shyam-Adhikariम सर्वप्रथम काठमाडौं ०२३ सालमा आएको थिए । त्यसबेला काठमाडौंबाट भक्तपुर जाने अरू कतिवटा बाटा थिए थाहा भएन तर मुख्य राजमार्गचाहिँ सिनामंगल हुँदै अहिलेको एयरपोर्ट छिचोलेर जाने पुरानो ठिमीको बाटो नै थियो । बाटोमा पर्ने बाग्मती र मनोहरा खोलामा काठको खम्बा गाडेका पुलहरू थिए । बाग्मतीमा रहेको पुलका खम्बा ४/५ वर्ष अघिसम्म पनि बेवारिसे अवस्थामा सिनामंगलको अहिलेको भत्केको पुलभन्दा अलिकति मास्तिर लडेका देखिन्थे । अहिले ती कहाँ छन् थाहा छैन । तर, के थाहा छ भने नेपालमा ठूला ऐतिहासिक महत्त्वका मूर्ति र शिलालेखहरू त स्वयं यो देशलाई आफैँले अर्जेको ठान्ने राजाका सन्तानले नै विदेश पुर्‍याएका छन् भने नाथे राणाकालका पुलका खम्बा कसैले घरमा लगेर दाउरा बाल्नु वा कसैले झ्यालढोका हाल्नु कुनै ठूलो कुरै भएन । तर, अचम्म लाग्दो ठूलो कुरोचाहिँ के भइरहेछ भने सिनामंगलको बाग्मतीको पुल जसलाई आजभोलि भत्केको पुल पनि भन्छन् । मेरो नजरमा युथको जिउँदो जाग्दो प्रतिबिम्व बनेर उभिएको छ । माफ गर्नुहोला, काठमाडौंले भत्केको पुल भनेर धोवीखोला चावहिल पश्चिमपट्टिको पुललाई जान्दछन् । तर, जबदेखि लोकतन्त्र आएको छ तब भत्केको पुल भनेर सिनामंगलको बातमतीको पुल चिनिन थालेको छ ।
यो भत्केको पुल यस अर्थमा पनि भत्केकै रूपमा चिनिन्छ कि हरेक राजनीतिक युगमा पनि यो भत्केरै छोड्छ । मैले थाहा पाउँदा नै पनि यो दुईपटक भत्किसकेको छ । पहिलोपटक राणाशासनको अवशेषलाई सेलाउनैका लागि पञ्चायत व्यवस्थाले यसलाई भत्कायो र काठको खम्बाहरूको ठाउँमा सिमेन्टको पक्की पिलरमाथि ढलान गरेर बनायो । त्यसबेला पनि सिनामंगलको पुल भत्केकै थियो । अचम्म त के भने त्यसबेला बनाएका बाग्मतीका पुल अन्त कतै भत्किएनन् जब पञ्चायत ढलेर लोकतन्त्र आयो सिनामंगलको पुल पनि फेरि भत्कियो । प्रथम गणतन्त्रवादी सरकारकै पालामा नै यो भत्कियो । लौ, यो त भत्कियो नै तर त्यसबेलाको सरकार पनि भत्कियो । यस्ता पुल कति भत्किन्छन् कति बन्छन् भनेर भत्केपछि बनेको नयाँ लोकतान्त्रिक गठबन्धन सरकारले नयाँ पुल बनाउन सिलान्यास पनि गरिहाल्यो । बरु गणतन्त्र स्तम्भ निर्माणलाई स्थगित राख्यो । तर, धूँवाधार विरोधबीच नेपालका एक शक्तिशाली मन्त्रीले शिलान्यास गर्दै भनेका थिए— जसले जतिसुकै विरोध गरिरहोस् तर पुल एक बन्छ, दुई बन्छ र तीन बन्छ । हामी सिनामंगलबासीले पनि जोरदार ताली पिट्दै भन्यौँ, ठट्टा सम्झेको छ लोकतन्त्रलाई ?
अचम्मै भन्नुपर्छ कि पुल शिलान्यास गरेपछि सरकारको गठबन्धन नै पो भत्कियो । लोकतान्त्रिक मोर्चा भंग भयो र आयो गणतान्त्रिक मोर्चा । पुल आफू मात्रै भत्केन लोकतान्त्रिक मोर्चासमेत भत्काएर हिँड्ने भयो भनेर हामी के डराइरहेकै थियौँ कि शिलान्यास गर्ने उनै मन्त्री महोदय लोकतान्त्रिक मोर्चाको अवधारणा त्यागेर गणतान्त्रिक मोर्चाको अवधारणका साथ मन्त्रिमण्डलमा पदार्पण गरे । गणतान्त्रिक मोर्चाको सरकारले जताततै बाटो भत्काएर धूलो उडाउने काम गर्न थाल्यो । सबैले बाटो फराकिलो हुने भयो भनेर ताली पिटे । यत्रा बाटा त बनाउने सरकारले अब संविधान पनि बनाएरै छाड्छ पुल त के कुरा भयो र ? भन्दै हामीले स्वेत डेरीका धेरै चिया कप आँैला हल्लाउँदै रित्यायौँ । तर, जब जेठ १४ मा संविधान बनेन हाम्रा मनमा अलिकति चिसो त पसेको थियो कतै काम अधुरो त हँुदैन भनेर । नभन्दै गणतान्त्रिक मोर्चाको सरकार पनि ढल्यो । अचम्म † भत्केको पुल त अझै भत्केको भत्क्यै छ । करोडौँ करोडका २००/५०० मिटरका पुल दुई वर्ष, तीन वर्षमा बन्छन् तर मात्रै सय डेढसय मिटर लामो पनि छैन होला । बाग्मतीको यो भत्केको पुल, ५ वर्षदेखि भत्केको भत्किएकै छ । किन होला ? सोच्नु त पर्‍यो नि । सोच्दै जाँदा के पत्ता लागेको छ भने बाग्मतीको भत्केको पुल युगको प्रतीक पो रहेछ । यो राणाकालमा अर्कै, पञ्चायत कालमा अर्कै, अनि लोकतन्त्रमा अर्कै । जब लोकतन्त्र नै पूरा भएको छैन भने भत्केको पुल पो कसरी बन्न सक्छ र ?
हो, अहिले लोकतन्त्र भत्केको छ । त्यसैले सिनामंगलस्थित बाग्मतीको पुल पनि भत्केको छ । पुल र पुल वरपरको वातावरणले नै देशमा लोकतन्त्र भत्केको संकेत गरिरहेका छन् । पुल आफैँ भत्केर बांगो, एकातिर ढल्केको, सवारीसाधन चलाउन नमिल्ने गरी चर्केको छ । पुल पुलको प्रयोजनमा छैन, बरु तरकारी हाटको ठाउँ बनेको छ । तल ढल र मलका छाँगा र छहरा ढलमती बनेको ऐतिहासिक बाग्मतीमा मिसिएका छन् भने त्यहाँबाट उडेर आएका झिँगाले पुलमाथि बिक्रीका लागि राखिएका तरकारी र ठेलामा पकाएर ग्राहकका लागि सजाइएका फ्राई माछा र आलुचपहरूलाई छपक्क ढाकेका छन् । पुलदेखि वरपर नसाले लोलाएका र बेहोस बनेका आँखा लिएका युवाहरू सडक किनारामा लम्पसार परिरहेका छन् । छेउको नालामा कुकुरले तुक्र्याउँदै सडकमै बेहोस भएर सुतेका युवासँग टाँसिएर जाडो भगाउने प्रयास गरिरहेका छन् । प्रौढ पुरुषहरू नसाले लर्बरिएको स्वरमा एक अर्कोलाई आमा चकारी गाली दिँदै छन् । नजिकै सुकुम्बासीले बनाएका छाप्राहरूबाट सुँगुरको गुहुको गन्ध ह्वास्स आउँछ । केटाकेटीहरू त्यतै हिलोमा जीउभरि मयलका पाप्रा लिएर उफ्रिरहेका छन् । छेउको छाप्राभित्रको भट्टीबाट कसैले कुनै एक राजनीतिक पार्टीलाई आमाचाक्री गाली गर्दै छ । भट्टी बहिरपट्टि सडकको भत्केको पेटीमा युवकहरूको झुन्डले पेटीबाट हिँड्दै आएकी एक सुन्दर महिलाको बाटो छेक्छ । ती महिला सलले मुख छोप्दै आफैँ पेटी छाडेर सडकतिर ओर्लेर अगाडि बढ्छिन् । सडक पनि के भन्नु छ र ? ढुंगा उप्किएर हिँड्दा– हिँड्दै ठेस लागेर लडिन्छ कि जस्ता पेटीहरू र जताततै माटो, प्लास्टिक, तयारी कुरकुरे र चाउचाउजस्ता खाने कुराका लेमिनेसन गरिएका थोत्रा खोलहरू, खानेपानीको पाइप लग्न खनिएका पिच रोडका माटाका डोबहरू, कालो नालाको पानी बगिरहेको भत्केको पुल छेउका सडकका दृश्य हुन् यी । बीच सडकमा उठेका ढल छोप्ने मंगलमा पनि बेफिक्रीसँग मोटर साइकल कुदाइरहेका साँढेजस्ता जंकीहरू दौडिरहेका छन् । यस्तै छ भत्केको पुल र वरपरको अहिलेको भत्केको लोकतन्त्रको चित्र ।
भानुभक्तको ‘अलकापुरी कान्तिपुरी नगरी’ सबैतिर यस्तै छ भन्ने होइन तर अहिले ५ वर्षभन्दा बढी समयदेखि अलपत्र परेको लोलतन्त्र र सिनामंगलको भत्केको पुलको कथा व्यथाचाहिँ उस्तै छन् । यतिबेला लोकतन्त्रलाई सही दिशा दिन गलतै सही एउटा बाटाको निकास त खोजिएको छ । थाहा छैन, यो निकास कत्तिको सार्थक हुने हो । कुनै दिन लोकतन्त्रले आफ्नो बाटो लेला र सिनामंगलमा भत्केको पुल पनि बन्ला भन्ने आशाचाहिँ अझै जीवित नै छ । लोकतन्त्र बीचैमा तुहेर अर्कै तन्त्र आयो नै भने पनि कमसेकम त्यही तन्त्रको प्रतीकका रूपमा भत्केको पुलको निर्माण त गर्ने नै थियो । अहिले त हामी समग्र देशकै जस्तो भिरको चिन्डो उँभो न उँधो भएर त्रिशंकु बनिरहेका छौँ । अब यो स्थिति रहिरहन भएन भत्केको पुल चाँडै बन्नुपर्छ र लोकतन्त्रको बाटो पनि तयार हुनुपर्छ ।

प्रतिक्रिया