सौर्य ऊर्जाबाट खानेपानी आयोजना

रुकुम : जिल्लामै पहिलोपटक सौर्य ऊर्जा प्रणालीमार्फत खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ ।

नेपाल सरकार, सरोकार राख्ने निकाय, स्थानीय उपभोक्ताको श्रमदान र प्राविधिक सहयोगसहित ३६ लाख १९ हजारको लगानीमा खोलागाउँ गाविसको वडानम्बर–६ को लामीरह–सुर्कीमारे ग्रामीण सौर्य खानेपानी आयोजना निर्माण सम्पन्न भएको हो ।
त्यस क्षेत्रका ७५ घर परिवारलाई लक्ष्य गरी गाउँभन्दा झन्डै एक किलोमिटर तल (गाउँमुनि)बाट सौर्य ऊर्जा प्रणालीको सहायताले गाउँसम्म खानेपानी आपूर्ति गरिएको हो ।
गाउँ आसपासमा खानेपानीका मुहान नभएपछि तथा भएका पनि सुकेपछि गाउँभन्दा तलबाट पानी लिन सौर्य ऊर्जामार्फत खानेपानी आयोजना निर्माण गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष डण्डवीर ओलीले जानकारी दिए ।
नेपाल सरकार वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रअन्तर्गतको ग्रामीण ऊर्जा कोषको रु १० लाख, जिल्ला विकास समिति रुकुमको १७ लाख २३ हजार, गाविसको एक लाख र स्थानीयवासीको तीन लाख ८६ हजार श्रमदान र डिसिआरडिसी बाग्लुङको प्राविधिक सहयोगमा सौर्य ऊर्जामार्फत गाउँमा पानी पुर्‍याइएको हो ।
सौर्य ऊर्जामार्फत गाउँसम्म पानी पुर्‍याएपछि सर्वसाधारणले खानेपानीको सहज उपयोग गर्न पाएका छन् । योजना निर्माण पूर्व झन्डै डेढ घन्टाको पैदलदूरीमा रहेको लामीरहखोलाको पानी उपयोग गर्न स्थानीयवासी बाध्य थिए । खानेपानी आयोजनाको निर्माणपछि टाढाबाट पानी बोकेर हैरान त्यस क्षेत्रका महिला सबैभन्दा बढी लाभान्वित भएको स्थानीय प्रशाराम खत्रीले बताए ।
यस्तै प्रकृतिको अर्को आयोजना पनि सोही गाविसको वडानम्बर–३ जोगिनेटामा सुरु भएको छ । ६२ घर परिवारलाई लक्ष्य गरी निर्माण थालिएको सो आयोजनाको सर्भेदेखि आधारभूत सबै काम सकिइसकेका छन् । यसका लागि गाउँदेखि झन्डै दुई किलोमिटर तलबाट सौर्य ऊर्जामार्फत पानी ल्याउनु पर्नेछ । सरकारको ३९ लाख सात हजार ७० को लगानीमा सो आयोजनाको निर्माण थालिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रेमबहादुर केसीले जानकारी दिए । (सौस)

प्रतिक्रिया