विद्रोहीले शासन कब्जा गरेकामा मुनद्वारा भत्र्सना

न्युयोर्क : मध्यअफ्रिकी गणतन्त्रमा बिद्रोहीले शासन नियन्त्रण लिएकोमा संयुक्त राष्ट्र संघका महासचिव बान कि मुनले भत्र्सना गरेका छन् । महासचिव मुनका प्रवक्ता मार्टिन नेसर्कीले विज्ञप्ति जारी गरी महासचिवले मध्यअफ्रिकी गणतन्त्रमा असंवैधानिक रूपमा शासन नियन्त्रणमा लिइएकोमा भत्र्सना गरेको र छिटै संवैधानिक व्यवस्था लागू गर्न आग्रह गरेको जानकारी दिएका छन् ।
महासचिव मुनले विद्रोह भएको क्षेत्रमा मानवअधिकार उल्लंघन भएको समाचारबाट आफू चिन्तित भएको र यस्तो कार्यप्रति जिम्मेवार व्यक्तिलाई कानुनी कारबाही हुनुपर्नेमा जोड दिएको बताइएको छ । मध्यअफ्रिकी गणतन्त्रमा विद्रोहीले राजधानी बांगीलाई नियन्त्रणमा लिएका छन् भने राष्ट्रपति फ्राँस्वा बोजिजे मुलुक छोडी भागेका छन् ।
विद्रोहीले गत साता राष्ट्रपति बोजिजेले पछिल्लो शान्तिसम्झौता तोडेको आरोप लगाउँदै आक्रमण पुन: आरम्भ गरेका थिए । उनीहरू शनिबार राति राजधानी प्रवेश गरेका थिए । उनीहरूको दक्षिणी अफ्रिकी सेनासँग आइतबार संघर्ष भएको थियो । यसैबीच सशस्त्र व्यक्तिले नगरमा प्रवेश गरी घर, पसल, रेस्टुरा तथा कार्यालयमा लुटपाट गरेको बताइएको छ । यस आक्रमणमा राष्ट्र संघीय बालकोष (युनिसेफ) को कार्यालय पनि परेको बताइन्छ । महासचिव मुनले शान्ति स्थापना गर्न र कानुनी राज्यलाई सम्मान गर्न आग्रह गरेका छन् । सयुक्त राष्ट्र संघले आफ्ना कर्मचारीको सुरक्षाका लागि आवश्यक सबै पूर्वसावधानी लिएको छ ।
विद्रोहीले जनवरीमा भएको शान्ति सम्झौतालाई सम्मान गर्ने र तीन वर्षभित्र निर्वाचन गराउने दृढता व्यक्त गरेको छ । विद्रोहीले राष्ट्रपति निवासलाई नियन्त्रणमा लिएपछि आफू विजयी भएको घोषणा गरेको थियो । सेलेका गठबन्धनका नेता मिसेल डिजोटोडियाले रेडियो फ्रान्स इन्टरनेसनललाई आफूहरूले फ्राँस्वा बोजिजेको शासनसँग गरेको शान्ति सम्झौताका सर्तलाई पालना गर्ने बताए । सम्झौताअनुसार गठन भएको राष्ट्रिय एकताको सरकारका प्रधानमन्त्री निकोलस टायानगेय आफ्नो पदमा यथावत रहने बताइएको छ ।
अन्तर्राष्ट्रिय रेडक्रस समितिले हाल घाइतेहरूको भीड अस्पतालमा आउन थालेको जानकारी दिएको छ । हालसम्म बोजिजे कहाँ रहेका छन् भन्ने कुरा थाहा हुनसकेको छैन । बोजिजे सन् २००३ मा सैनिक बिद्रोह गरी शासनमा पुगेका हुन् । उनी हेलिकोप्टरबाट मुलुकबाट बाहिरिएको बताइएको छ । फ्रान्सेली विदेशमन्त्री लरा फेबियसले बोजिजेले मुलुक परित्याग गरेको मात्र आफूले जानकारी दिनसक्ने बताए । पहिले मध्यअफ्रिकी गणतन्त्रलाई उपनिवेश बनाउने राष्ट्र फ्रान्सका राष्ट्रपति फ्राँस्वा अलोले सबै दललाई जनवरीमा सम्पन्न शान्ति सम्झौताअनुसार सरकार गठन गर्न आग्रह गरे । (एएफपी)

प्रतिक्रिया