राजधानीमा विद्रोहीको नियन्त्रण

Bidrohiबान्ग्वी : मध्यअफ्रिकी गणतन्त्रका राष्ट्रपति फ्राँस्वा बोजिजेको शासन अन्त्यको माग गर्दै संघर्षरत विद्रोहीले राजधानी बान्ग्वी नियन्त्रणमा लिएका छन् । राष्ट्रपति फ्राँस्वाले कंगोमा शरण लिएका छन् ।
एक समय फ्रान्सको उपनिवेश रहेको मध्यअफ्रिकी गणतन्त्रमा दुई महिनाअघि विद्रोही र राज्यबीच भएको शान्ति–सम्झौता तोडिएको थियो । विद्रोही लडाकुले नदीकिनारमा रहेको राजधानीमा भिषण आक्रमण गरी कब्जा जमाएका हुन् । रक्तपात हुन नदिन वार्ताका लागि गरिएको अनुरोधलाई विद्रोहीहरूले अस्वीकार गरेका थिए ।
विद्रोहीले राजधानीमा लुटपाट गरेको प्रत्यक्षदर्शीले बताएका छन् । घर, पसल तथा गाडीमा अन्धाधुन्ध आक्रमणभएको उनीहरूको भनाइ छ । बहुराष्ट्रिय मध्यअफ्रिकी सेना फोमाकको एक स्रोतले विद्रोहीले नगरलाई नियन्त्रणमा लिएको जानकारी दियो । आइतबार बिहान राष्ट्रपति निवासको बाहिरी भागमा गोली चलेको आवाज सुनिएको थियो । विद्रोहीहरू शनिबार नगरमा प्रवेश गरेका थिए । उनीहरूलाई सेनाले खासै अवरोध गरेको थिएन ।
सन् २००३ मा सैनिक विद्रोह गरी राष्ट्रपति बोजिजे सत्तामा आएका हुन् । विद्रोहीका एक कमान्डर कर्णेल डिजुमा नार्कोयोले राष्टपति निवासलाई नियन्त्रणमा लिइएको बताए । साथै रेडियो केन्द्रलाई नियन्त्रणमा लिएर विद्रोही नेताले सम्बोधन समेत गरेको बताइएको छ ।
कमान्डर नार्कोयोले राजधानीमा भएको युद्ध निर्णायक हुने र आफूले मध्यअफ्रिकी सेना फाकालाई हतियार बिसाउन आग्रह गर्ने बताए । यस विषयमा सरकारका तर्फबाट कुनै भनाइ आएको छैन । सेनाका एक उच्च स्रोतले विद्रोहीले नगर नियन्त्रणमा लिएको कुरा सत्य भएको बताए ।
केही समय गोलीबारीको ठूलै स्वर सुनिएको र पछि बिस्तारै कम हुँदै गएको एएफपीका समाचारदाताले बताए । विद्रोही कमान्डरले आफूहरू अफ्रिकी नेतासँग वार्ता गर्न तयार भए पनि राष्ट्रपति बोजिजेसँग वार्ता गर्न अस्वीकार गरेको बताए । उनले सेलेकाले राजधानी नियन्त्रण गरेपछि सरकार गठन गर्ने बताए । विद्रोहीले बोआलीस्थित जलविद्युत केन्द्र नियन्त्रणमा लिएपछि शनिबार राति विद्युत आपूर्ति भएको थिएन ।
प्रधानमन्त्री निकोलस टायानगेएले शनिबार रक्तपात हुन नदिन वार्ताका लागि आग्रह गरेका थिए । टायानगेए आफै पनि प्रतिपक्षी नेता हुन् र उनलाई जनवरी महिनामा विद्रोहीसँग वार्ता गर्न यस पदमा नियुक्त गरिएको हो । गत साता वार्ता टुटेको थियो ।
पेरिसमा रहेका विद्रोही प्रवक्ता एरिक मासीले विद्रोही नेताहरूलाई लुटपाट नगर्न आग्रह गरेका छन् । मुलुकलाई पहिले उपनिवेशमा राख्ने मुलुक फ्रान्सले यहाँको बिग्रदो अवस्थाका विषयमा छलफल गर्न संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को आपत्कालीन बैठक बस्न आग्रह गरेको जानकारी राष्ट्रपति कार्यालयका प्रवक्ता रोमेन नादालले बताए । फ्रान्सले मध्य अफ्रिकी मुलुकमा बसोबास गर्ने आफ्ना नागरिकलाई त्यहाँबाट अन्यत्र जान आग्रह गरेको छ्रैन । यहाँ एक हजार दुई सय ५० फ्रान्सेली नागरिक रहेको र उनीहरूलाई घरमै रहन आग्रह गरिएको जानकारी नादालले दिए । यहाँ २ सय ५० फ्रान्सेली सैनिक रहेको र थप सैनिक त्यहाँ पठाउने निर्णय नभएको पनि जानकारी दिइएको छ ।
शुक्रबार संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले विद्रोही अगाडि बढेकोमा चिन्ता व्यक्त गरेको थियो । राष्ट्रपति बोजिजेले यसअघि भएको शान्ति–सम्झौताको सर्त तोडेको भन्दै डिसेम्बर १० मा सेलेकाले आक्रमण आरम्भ गरेको थियो । यस मुलुकको जनसंख्या ४४ लाख रहेको छ र सन् १९६० मा यो फ्रान्सबाट स्वतन्त्र भएपछि यहाँ सेनाले पटक–पटक विद्रोह गरेको छ । (एएफपी)

प्रतिक्रिया