मनमाया वाईवाको स्वरमा मौलिक तीज कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक

काठमाडौं । नेपाली समाजमा आधुनिकतासँगै सांस्कृतिक मौलिकता फर्काउने प्रयास स्वरूप नयाँ तीज गीत ‘नाच्ने आजै हो’ बजारमा आएको छ । विगतका दिनहरूमा नेपाली महिलाहरूले तीजलाई कसरी आत्मीय, सरल र परम्परागत ढंगले मनाउँथे भन्ने विषयलाई मुख्य विषयवस्तु बनाएर यो गीत तयार पारिएको छ ।

राजधानी काठमाडौंमा आयोजित समारोहका बिच संस्कृतिविद्, प्राध्यापक, वरिष्ठ साहित्यकार तथा सञ्चारकर्मीहरूको उपस्थितिमा गीतको विमोचन गरिएको हो । प्राडा एवम् संस्कृतिविद् विणा पौडेलको प्रमुख आतिथ्यता तथा डा. ध्रुवराज भट्टराईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा वक्ताहरूले गीतले बोकेको मौलिकता र सांस्कृतिक महत्त्वको चर्चा गरेका थिए ।

कार्यक्रममा प्राध्यापक एवं वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल, अनेसासका पूर्वअध्यक्ष राधेश्याम लेकाली, नेपाल प्रज्ञा प्रतिष्ठानका सह–सचिव सन्ध्या पहारी, अनेसास नेपाल च्याप्टरका अध्यक्ष एवं चलचित्र निर्देशक राजेन्द्र केसी र राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतम लगायतको विशेष उपस्थिति रहेको थियो । गीतकार नेत्रबन्धु पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको विमोचन समारोहको सञ्चालन डा. बिदुर वस्तीले गरेका थिए ।

नेत्रबन्धु पोख्रेलको शब्द तथा शेष नारायण पोख्रेलको संगीत रहेको यस गीतमा चर्चित गायिका मनमाया वाईवाको मुख्य स्वर रहेको छ भने कमला पोख्रेल र संगी अधिकारी पोख्रेलले कोरसमा साथ दिएका छन् । हेमराज डाँगीको एरेञ्ज र मिक्सिङ रहेको गीतको भिडियो निर्देशन सुरज खनालले गरेका हुन् ।

नविन पौडेलको कोरियोग्राफी, सागर खड्काको छायांकन र बिनोद बमको सम्पादन रहेको भिडियोमा आस्था न्यौपाने, गोमा न्यौपाने, नेत्रबन्धु पोख्रेल, कमला पोखरेल, डा। बिदुर वस्तीका साथै बाल कलाकारहरू सृष्टी पोख्रेल र आराभ पौडेलको अभिनय देख्न सकिन्छ ।

भिडियोमार्फत तीजको ऐतिहासिक र वास्तविक मर्मलाई पर्दामा उतार्न खोजिएको यो गीत युट्युब च्यानल ‘नेत्रबन्धु मिडिया’ बाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया