अनेरास्ववियु विवादको अप्रेसन

Akhilनेकपा (एमाले) निकट अनेरास्ववियुभित्र राष्ट्रिय सम्मेलन आयोजक कमिटी गठनको विषयलाई लिएर विवाद बल्झिएको छ । गत बुधबार एक पक्षका नेता कार्यकर्ताहरूले पार्टी कार्यालयमा धर्ना दिए र पार्टी अध्यक्षको नाममा पार्टी मुख्यालयमा पाँच दिने अल्टिमेटम सहितको ज्ञापनपत्र दर्ज गराए । ज्ञापनपत्र हेर्दा लाग्छ उनीहरू निकै अन्यायमा परेका छन्, जसलाई दुनियाँले दया गरिदिनुपर्ने अवस्था आएको छ । आखिर यो विवादको चुरो के हो त ?
करिब अढाइ वर्ष पहिले जनकपुरमा भएको अनेरास्ववियुको राष्ट्रिय सम्मेलनले माधव ढुंगेलको नेतृत्वमा एउटा जम्बो कमिटी खडा गरियो । पार्टी अध्यक्षको आशीर्वाद बोकेर मैदानमा उत्रिएका शोभियत ढकाल हारे । नेता खड्ग ओलीको आशीर्वाद बोकेर मैदानमा उत्रिएका माधव ढुंगेलले जिते । तर, समग्रमा परिणाम मिश्रित आयो । उक्त सम्मेलनबाट अनेरास्ववियुको केन्द्रीय कमिटी चयनमात्र गरिएन त्यससँगै विवाद र मतभेदहरू पनि पुनर्गठन भयो । केन्द्रीय कमिटीको पहिलो बैठकस्थल ल्याबोरेटरी कलेज नै रणमैदान बन्यो । पार्टीले विद्यार्थी फाँटको इन्चार्ज भानुभक्त ढकाललाई तोक्यो र उनैको पहलमा केन्द्रीय कमिटी भेला पार्टी मुख्यालयमा डाकियो । करिब डेढ सय जना अखिलका कार्यकर्तालाई नेतामा ‘प्रोमोसन’ गरेर त्यहीँबाट अखिलको विवाद साम्य भएको घोषणा गरियो । तर, त्यो विवादको समाधान नभएर केवल युद्धविरामको अवस्थामात्रै थियो । जुन जतिबेला पनि भंग हुन सक्थ्यो र आजको अखिलले त्यसैको परिणति भोगिरहेको छ ।
अनेरास्ववियुभित्रका विवादहरूबारे छलफल गर्दा केही आन्तरिक कुराहरू पनि केलाउनु जरुरी छ । पहिलो कुरा त अनेरास्ववियुले पछिल्लो समयमा वर्गीय चरित्र गुमाउँदै गएको छ । अनेरास्ववियु राजनीतिक चरित्रको वर्गीय संगठन हो, जहाँ राजनीतिक चरित्रको कुरा आउँछ, त्यहाँ राजनीतिक लक्ष्यको कुरा पनि आउँछ । जहाँ राजनीतिक लक्ष्यको कुरा आउँछ, त्यहाँ आन्दोलनको संचालन र परिचालन अनिवार्य हुन्छ्र । आन्दोलनको सफलतामा कार्यनीति, रणनीति र कार्यक्रमहरूको निर्धारण अपरिहार्य हुन्छ । आधारभूत र प्रधान अन्तरविरोधहरूको किटानीबिना गरिएका आन्दोलनहरू केवल खेलाँची बन्छन् कुनै निश्चित बिन्दुमा पुग्दैनन र लक्ष्यभन्दा धेरै टाढा पुग्छन् । अनेरास्ववियुले आन्दोलनभित्र प्रधान र आधारभूत अन्तरविरोधको विषयमा गोलमटोल भाषा प्रयोग गरेर आफ्नो राजनीतिक चरित्रलाई अपांग बनाएको छ । यो नै अनेरास्ववियुभित्र देखिएको विवादको आधारभूत कारण हो । जब आन्दोलन कार्यक्रमविहीन बन्छ तब कार्यकर्ता फुर्सदिला हुन्छन् । अनि, जब संगठन राजनीतिक कार्यदिशाविहीन बन्छ, तब संगठनभित्र अराजकता मौलाउँछ । यिनै फुर्सदिला र अराजक नेता कार्यकर्ताले संगठन र आन्दोलनलाई ध्वस्त पार्छन्, जुन अभियानमा केही नेताहरू कम्मर कसेर लागेका छन् ।
भन्न हिच्किचाउन आवश्यक छैन– जनकपुर सम्मेलनबाट चुनिएको नेतृत्व असफल भएकै हो । असफल अरू कसैका कारण नभएर नेतृत्वकै कारणले भएको हो । नेतृत्व गर्ने मान्छेमा दुईटा गुण हुनुपर्छ– एउटा ‘कन्भिन्सिङग पावर’ र अर्को ‘कमान्डिङ पावर’ । तर, अध्यक्षमा यी दुवै क्षमताको अभाव देखियो । जनकपुर सम्मेलनपछि अनेरास्ववियुभित्र एउटा यस्तो तप्का थियो जसले माधव ढुंगेलमा सम्पूर्ण विद्यार्थी आन्दोलनको भविष्य देखेको थियो । आज तिनै माधव ढुंगेलले त्यो समूहलाई निराश बनाए । आन्दोलन हाँक्ने कुरा त परको भयो, सामान्य संगठन नै चलाउन नसकेर पार्टी केन्द्रीय कमिटीले हस्पक्षेप गर्नुपर्ने स्थिति आयो । भन्न त उनले बेला बखत भन्ने गर्छन्– ‘काम गर्न दिइएन’ । तर, सक्षम नेताले त चुनौतीका बीचमा सफलता हात पार्ने हो, सहज परिस्थितिमा त अरूले पनि गर्थे होला नि काम । माधव ढुंगेल नै किन रोज्नुपथ्र्यो ? तपाईंले आफ्नो महत्त्व आफैँ बुझ्नु भएन अनि कार्यकर्ताको मनोविज्ञान बुझ्ने काममा ढिलाई गर्नुभयो । यी चुनौतीहरू तपाईंका निम्ति अवसर बनेर आएका थिए आफ्नो सांगठानिक क्षमता प्रदर्शन गर्ने । तर, तपाईंले विवाद र अन्तरविरोधहरूलाई केवल टाउको दुखाइको विषय मात्र ठान्नुभयो र सधैँ उही रुन्चे बोली बोलिरहनुभयो । तपाईंले आफ्ना कार्यकर्तालाई अनुशासनको डोरीले बाँध्ने ‘मेकानिज्म’ बनाउन सक्नुभएन । अनुशासनहिन काम गर्ने र सांगठानिक मर्यादाबाहिर जानेलाई घोक्रेठ्याक लगाउने आँट गर्नुभएन, त्यसैले अब इमान्दारिताका साथ भन्ने समय आएको छ– ‘काम गर्न सकिएन’ ।
‘राम्रो जति आफूले नराम्रो जति अरूले’ यो नेपाली समाजको विशेषता हो । अनेरास्ववियु यही नेपाली समाजका उत्पादनहरूको जमात हो । पहिलो केन्द्रीय कमिटी बैठकबाट नै प्रतिशोध साँध्न सुरु गरेका लक्ष्मण लम्सालहरू आज पनि त्यही खेतीमा छन् । उनीहरूले हिजो केन्द्रीय कमिटीमा आफूहरू बहुमतमा भएको दावीसहित कार्यविभाजनमा सम्मानजनक उपस्थितिको माग गरे । आज पनि आफूहरू बहुमतमा हुँदाहुँदै आयोजक कमिटीमा अल्पमतमा पारिएको गुनासो पोख्दै छन् । आज सम्मेलन भएको करिब अढाइ वर्ष पुग्यो, अल्पमतमा रहेका माधव ढुंगेल असफल भए, तर बहुमतको नेतृत्व गरेर हिँडिरहनुभएको तपाईंचाहिँ कति सफल हुनुभयो ? यो अढाइ वर्षमा तपाईंको बहुमतले विद्यार्थी आन्दोलनको सवालमा गुटबन्दीको संस्थागत विकासबाहेक एक, दुई, तीन केके गर्‍र्या ? यो अढाइ वर्षको अन्तरालमा महँगी तेश्रो अंकले बढ्यो, त्रिविभित्रको शैक्षिक अराजकताले नेटो काट्यो, यी विषयमा कतिपटक धर्ना बस्नुभयो ? अल्पमतका माधव ढुंगेलले नगरे पनि बहुमतका तपाईंहरूले चाहिँ गर्नुपर्ने होइन र यी कामहरू ?
असन्तुष्ट विद्यार्थी नेताहरूले पार्टी अध्यक्षलाई बुझाएको ज्ञापन पत्रमा विद्यार्थी आन्दोलनको चिन्ता र चासो कहीँ कतै भेटिँदैन । उनीहरूले उठान गरेका विषयहरू सम्पूर्ण रूपमा गलत छन् र तिनको सम्बोधन गर्न आवश्यक नै छैन भन्ने होइन । तर, उनीहरूले परिस्थितिको संश्लेषणसहित जुन मुद्दाहरू उठान गर्नुपर्ने हो तिनीहरूलाई नितान्त पद र प्रतिनिधिको चिन्ता लिँदामात्रै विद्यार्थीको भविष्य कसरी देख्न सकिन्छ ? उनीहरू नेतृत्वको विषयमा असन्तुिष्ट पोखिरहेका छन् तर ती धर्नामा बस्नेहरूलाई अझै पनि थाहा छैन कि उनीहरूको साझा र न्यायसंगत नेतृत्व को हो ? पछिल्लो समयमा अनेरास्ववियु बहुपदमा गयो, यसले गर्दा संगठनभित्र नेताहरू धेरै भए । त्यति मात्र होइन यो परम्पराले पुराना र सिनियर नेताहरू पछि परे भने नयाँ–नयाँ मान्छे रातारात नेता बने । यसरी रातारात नेताहरू जन्मे, रातारात जन्मेका नेताहरूमा घमण्डको बोसो राम्रै गरी पलायो र बिगत सम्झने बुद्धि पलाएन भने मर्यादाक्रममा पछाडि परेका नेताहरूमा वर्तमानलाई स्वीकार्ने उदारता पलाएन । यसले व्यक्तित्वको टकरावलाई पेचिलो बनाइदियो । अखिलमा कार्यकर्ताभन्दा नेताको संख्या धेरै भयो । कोहीभन्दा कोही कम नहुने प्रवृत्तिले अराजकता मौलाउँदै गयो र विचार मर्दै गयो ।
विवाद समाधानको कुरा नेताको चरित्र र कार्यशैलीमा पनि भर पर्छ । भानुभक्त ढकाल आफूलाई के ठान्छन् ? त्यो उनको कुरा हो तर यति कुरा बुझ्दा हुन्छ कि आजका कार्यकर्ता उनको जस्तो जंगी शैलीको अगाडि लत्रक्क पर्न तयार हुँदैनन् । कार्यकर्तालाई पनि सम्मान गर्न सक्नुपर्छ । कार्यकर्तालाई नत्थी लगाएर समस्याको समाधान गर्ने सपना नदेखेकै राम्रो हुन्छ । हिजोदेखि सकियो, आज देख्दै छाँै र भोलि पनि देखिएला । तर, कामना छ लाखौँ विद्यार्थीको भविष्यसँग जोडिएको विद्यार्थी आन्दोलन अनि विद्यार्थी आन्दोलनको मूलप्रवाह अनेरास्ववियुभित्रको विवाद चाँडै सल्टियोस् र आन्दोलनले गति लिन सकोस् ।
[email protected]

प्रतिक्रिया