सिरिया आतंकवादीको आश्रयस्थल बन्ने आशंका

Barak-Obamaओमान : अमेरिकी राष्ट्रपति बाराक ओबामाले सिरिया चरमपन्थीहरुको आश्रयस्थल बन्ने जोखिम बढेको बताएका छन् । जोर्डन भ्रमणका शुक्रबार त्यहाँ पुगेका राष्ट्रपति ओबामाले यस्तो बताएका हुन् ।
सिरियाका सीमानजिकै जोर्डनले निर्माण गरेको शरणार्थी शिविरका लागि २० करोड अमेरिकी डलर सहयोग उपलब्ध गराउने वचन पनि उनले दिएका छन् । भ्रमणका क्रममा उनले इरानले इजरायललाई दिएको पारमाणविक चेतावनी तथा प्यालेस्टाइनी राज्य निर्माणको सम्भावनाबारे पनि आफ्नो धारणा व्यक्त गरे । राष्ट्रपति ओबामाले ओमनमा जोर्डन नरेश अब्दुल्लाह दोस्रोसँग भेटवार्ता गरे । जोर्डनले हाल चार लाख सिरियाली शरणार्थीलाई आश्रय दिएको छ । राष्ट्रपति ओबामाले सिरियाली राष्ट्रपति बसर अल असद पदमुक्त भएपछि सिरियामा उत्पन्न हुनसक्ने अवस्थाबारे पनि चिन्ता व्यक्त गरे ।
जोर्डानका एक पत्रकारले राष्ट्रपति ओबामालाई अमेरिकासँग सिरियाली जनतालाई राज्य आतंकबाट जोगाउने कुनै योजना छ कि छैन भनी गरेको प्रश्नमा ओबामाले अमेरिकी कंग्रेसलाई आफूले घुमाउरो पारामा जोर्डानलाई सिरियाली शरणार्थीको भरणपोषणका लागि २० करोड अमेरिकी डलर उपलब्ध गराइदिन आग्रह गर्ने बताए । जोर्डनले यस वर्ष सिरियाली शरणार्थीको संख्या सात लाख पुग्ने अनुमान गरेको छ ।
राष्ट्रपति ओबामाको यसै भ्रमणका क्रममा इजरायल र टर्कीबीचको सम्बन्ध पुन: सुधारिएको छ । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले गाजामा टर्कीको सहयोगसहितको जहाजमा इजरायली सैनिकबाट भएको आक्रमणका निम्ति आफ्नो टर्किस समकक्षी रेसेप ताइप इदोर्गानसँग माफी मागेपछि दुई देशबीच सम्बन्ध सुधारिएको हो । दुई मुलुकबीच सम्बन्ध सुधार्न ओबामाले पहल गरेको बताइएको छ ।
इजरायलबाट मध्यपूर्व भ्रमण आरम्भ गरेका ओबामाले इजरायली भूमिका पुगेर अमेरिका र इजरायलबीच विद्यमान विशेष सम्बन्ध अनन्त कालसम्म कायम रहने बताएका थिए । उनले इजरायलको पक्षमा उभिनु अमेरिकाका लागि समेत आवश्यक रहेको बताउँदै यसलाई अमेरिकाको आधारभूत सुरक्षा चासोको संज्ञा दिएका थिए ।
यसैबीच, अमेरिकी केन्द्रीय गुप्तचर संस्था
(सिआइए)ले सिरियाली विद्रोहीलाई सिरियाका विषयमा गोप्य जानकारी उपलब्ध गराउने भएको तथा यसले उनीहरूलाई सरकारविरुद्धको संघर्षमा सघाउने अनुमान गरिएको समाचार अमेरिकी पत्रिका ‘वाल स्ट्रिट जर्नल’ले शनिबार प्रकाशन गरेको छ । सिआइएले विद्रोहीहरूसँग परामर्श गर्न आºना अधिकारीहरूलाई मध्यपूर्व पठाएको समाचारमा जनाइएको छ ।
अमेरिकी सरकारले सिआइएलाई अलकायदासँग सम्बद्ध लडाकुहरू इराकी सीमा भएर सिरियामा जान नदिन प्रयास गर्न निर्देशन दिएको समेत समाचारमा उल्लेख छ । पश्चिमी मुलुकले सिरियन प्रतिपक्षी समूहलाई समर्थन गर्ने ‘फ्री सिरियन आर्मी’लाई सहयोग गर्दै आएका छन् । सिरियाका प्रतिपक्षी कमान्डरहरूले सिआइएले बेलायती, फ्रान्सेली तथा जोर्डानी गुप्तचर सेवासँग मिलेर विद्रोहीलाई विभिन्न प्रकारको हतियार उपयोग गर्न प्रशिक्षण दिइरहेको जानकारी दिएको वाल स्ट्रिट जर्नलले लेखेको छ । (एजेन्सी)

प्रतिक्रिया