शब्दहरूको नेपथ्यमा एउटा कवि

Prollas-Shinduliya०३२ मा सिन्धुलीमा जन्मेका प्रोल्लास सिन्धुलीय कवितामा सामान्य वर्गका अनुहार खोज्छन् । कवितामा माटोको गन्ध, प्रेम लेखिबस्ने उनी अहिले नयाँ कवितासंग्रह ‘झन्डालाई डिभी पर्‍यो भने के हुन्छ ?’ बाट चर्चामा छन् । यसअघि उनका ‘बाहिर एकमुठी तुसारो छ’, ‘शब्दहरूको नेपथ्य,’ ‘चुपचापको अन्त्य,’ (कवितासंग्रह), ‘आँखाभरि भुइँकुहिरो’ (गलजसंग्रह) लगायत केही बालकथाकृति र गीतसंग्रह प्रकाशित छन् ।
‘झन्डालाई डिभी पर्‍यो भने के हुन्छ ?’ कविताको रचनागर्भ बताइदिनुस् न .
एकै वाक्यमा भन्नुपर्दा बहुचर्चित राजनीतिक नारा ‘अमेरिकी साम्राज्यवाद–मूर्दावाद’ को काव्यिक अनुवाद हो यो । भाउजूलाई परेको डिभी चिठ्ठा क्यान्सिल नहुँदै दुई–तीन वर्षको भतिजले भन्यो, ‘काका, प्लेन चढेपछि म रुँदा पनि रुँदिनँ, नानामा सुसु पनि गर्दिनँ ।’ त्यो बालसुलभ इच्छाभित्र लुकेको हाम्रो नियतिले नमिठोगरी घोच्यो । त्यही प्रहारको बदला लिन यो कविता लेखेको हुँ ।
कविहरू ‘आफू बाँचेको समय र समाजसँग संवाद गर्न कविता लेख्छु’ भन्छन् । तपाईंचाहिँ कविता किन लेख्नुहुन्छ ?
यस मानेमा हामी सधैँ ढोँगी बनिरहेका हुन्छौँ । नढाँटी भन्ने हो भने आत्मसन्तुष्टिका लागि कविता लेखिन्छ । बच्चालाई दूध ख्वाउँदा अलौकिक आत्मसन्तोष नहुने हो भने आमाले पनि दूध खुवाउँदिनन् होला भने कवितालेखनको के कुरा गर्नु † यत्ति हो, आत्मगौरवका लागि लेखिएको कविता समाजलाई पनि काम लागोस् भन्ने चाहना अवश्य हुन्छ । कसैले बाबुआमाको स्मृतिमा बनाएको चौतारोजस्तै हो त्यो ।
‘कविताको मृत्यु भइसक्यो, यो आख्यानको जमाना हो’ पनि भनिन्छ नि .
फुटपाथमा बिक्ने मार्काका आख्यानसँग दाँजेर कसैले त्यसो भनेको हुनुपर्छ । सबभन्दा धेरै पढिने, लेखिने र सबैभन्दा धेरै मान्छेले श्रम लगाइआएको विधा कवितै हो । साहित्यिक आख्यानको जमाना आएकै कहाँ छ र ? हल्ला गर्न सक्यो भने अलिअलि किताब बिक्दो रहेछ भन्नेचाहिँ पछिल्लो समयले देखाएको छ, त्यो सकारात्मक छ ।
के यो ‘कविताको हत्या गर्ने र आख्यान बचाउने’ एउटा राजनीति हो ?
कविता मर्ने खालको जातै होइन । यो बर्खाको भेल होइन, बर्खाको भेल यसमा मिसिने मात्र हो । कविता मरेर आख्यान बाँच्ने हँुदै होइन । दुवै एउटै तुलाका जिनिस हुन् । साहित्यिक आख्यानले बजार लिन थाल्यो भने त्यसले कविताको बजार पनि बढाउँछ ।
कविताका शक्ति र सीमाहरू केके हुन् ?
हुँदै नभएको कुरो उत्पत्ति गर्नु सिर्जनशीलता हो । कुनै सीमाभित्र बसेर गरिँदै आएका कुरा दोहोर्‍याउन सकिएला, नयाँ सिर्जना गर्न सकिन्न । कवितामा क्षणिक होइन, दीर्घकालीन शक्ति हुन्छ । त्यो एक प्रकारको मानसिक उपचार हो, टाउको दुखेको तुरुन्तै चट् पार्ने खालको सिटामोल होइन ।
कविले कविताजस्तै जीवन बाँच्न सक्छ कि सक्दैन ?
कसैले राम्रो कविता लेख्छ भने नालीमा मुन्टो जोते जोतोस् † मान्छे असाध्यै राम्रो छ, तर राम्रो लेख्न सक्दैन भने त्यसको के अर्थ ? आफू बिग्रिएर पनि कसैले अरू नबिग्रियून् भन्छ भने त्यो राम्रो हुन्छ ।
तपाईंको चर्चित कविता ‘हायुनी बूढी’की नायिका को हुन् ? उनी अहिले कहाँ छिन् ?
किशोरी उमेरमा ‘सुन्दरी हायुनी’ सिन्धुलीगढी दरबारमा छिरेकी थिइन्, जुन त्यसबखत पूर्व २ नं. को सदरमुकाम थियो । पछि त्यो ठाउँ खण्डहर बन्यो, सबैले छाडेर गए, तर तिनले छाडिनन् । गढी दरबारको अनकन्टारमा एक्लै तिनले आफ्नो सारा जिन्दगी बिताइन् । केही वर्ष भयो, उनी बितेको । उनीसँगै गढीदरबारको ‘सह’ पनि गएजस्तो भएको छ ।
तपाईंको कवितामा आफ्नो चरित्र कत्तिको निकट हुन्छ ?
भनिन्छ, आफैँमा रहेको कमजोरी नै अर्काका औँल्याउन सकिन्छ । मेरा अधिकांश कवितामा मेरा निकटका पात्र र तिनको चरित्र आउँछ । त्यससँग जोडिएकाले मेरो आफ्नो चरित्र पनि सँगै मिसिने नै भयो । आफूले भोगेका सुखदु:खका बारेमा लेखिएका कविता जीवन्त हुन्छन् भन्ने भ्रम मलाई छ ।
कसका लागि लेख्नुहुन्छ ?
एउटा कविसाथीले भनेको सम्झन्छु, ‘म तपाईंलाई कवि भन्छु, तपाईं मख्ख पर्नुहुन्छ । तपाईं मलाई कवि भन्नुहुन्छ, म मख्ख पर्छु । तर, पल्लो कोठामा बस्नेले पनि हामीलाई कवि भनेर चिन्दैन ।’ यो हाम्रो नियति हो, हामी जसलाई काम लाग्ला भनेर कविता लेख्छौँ, उसले ‘बुझिँदैन’ भन्ने बहाना बनाएर पढ्दैन, जसले पढ्छ, उसका लागि हामीले लेखेका हुँदैनौँ ।
आफूले लेखेको कविता कत्तिको परिमार्जन गर्नुहुन्छ ?
कवितामा परिमार्जनभन्दा पनि सम्पादन बढी गरिन्छ । एउटा राम्रो कवि हुन राम्रो सम्पादक नबनी सुखै छैन । थोरै शब्दमा धेरै कुरा भन्ने माध्यम कवितालाई मान्ने हो भने हरेक कवि आफ्ना कविताको सम्पादक बन्नै पर्छ । मैले भने जति माथापच्ची गर्नु छ, लेख्ने बेलामै गर्ने गरेको छु । अत्यन्त थोरै कवितामात्र लेखिसकेपछि सच्याएको छु ।
लेखनमा विषय झूर हुन्छ कि लेखक ?
विषय कहिल्यै झूर हुँदैन । समाजले झूर ठानेको विषयमै सबभन्दा बढी साहित्य लेखिन्छ । धन र शक्तिको पछाडि सारा विश्व कुदेको छ, तर त्यसैको विरुद्धमा साहित्य केन्द्रित किन छ त ? लेख्न नजानेर लेखन भने झूर हुनसक्छ । झूर लेख्ने लेखक त त्यसै पनि झूर भइहाल्यो ।
नेपाली कविताको धार कता गइरहेको पाउनुभएको छ ?
प्राध्यापकीय शैलीको वाद, सिद्धान्त वा धारका बारेमा मलाई केही भन्नु छैन । आफ्नामात्र कुरा गर्ने, अर्काको नसुन्ने प्रवृत्ति नेपाली कवितामा हावी छ । हामीले ‘राम्रा’लाई ‘हाम्रा’ भन्न जानेका छैनौँ, ‘हाम्रा’लाई ‘राम्रा’ भन्दै हिँड्छौँ । जसका कारण अझै लक्ष्मीप्रसाद, भूपी, रिमाल, लेखनाथ आदिले नेपाली कविताको नेतृत्व धानिराख्नुपर्ने अवस्था छ । यथार्थमा हिजोको पुस्ता हाम्रो पुस्ताका अघिल्तिर र हाम्रो पुस्ता हामीपछिको पुस्ताको अघिल्तिर फिका छ । इतिहास बन्नुपर्ने कविताहरू वर्तमानमा शासन गरिरहेका छन् ।
के अरू कविले भनेझैँ ‘झिल्का’ उठेपछि मात्र कविता लेखिन्छ कि कविता लेख्ने अरू पनि कुनै रीत छ ?
‘झिल्को उठ्ने’, ‘फुर्ने’ जस्ता शब्द कविलाई खिज्याउने नियतले उत्पत्ति भएका हुन् । आफूले जानेको, बुझेको कुरा अरूलाई बुझाउन ‘फुरर्र फुर्ने’ वा ‘झिलिक्क झिल्का उठ्ने’ हुँदैन । संवेदनशील तरिकाले मात्र संवेदनशील कविताको उठान गर्न सकिन्छ । कसैले ‘झिल्का उठ्ने’ या ‘फुर्ने’ सूत्र लगाएर कविता लेख्छु भन्छ भने कि ऊ झुटो बोलिरहेको हुन्छ कि कविता लेख्नै जान्दैन ।
–प्रस्तुति : दीपक सापकोटा

प्रतिक्रिया