यथार्थको जीवन्त प्रस्तुति

Jayadev-gautamपछिल्ला केही वर्षदेखि जसरी उपन्यास विधाले बजार लिएको छ, त्यसैगरी बग्रेल्ती पाठक पाएको विधा यात्रा–साहित्य पनि हो । नेपालीमा विदेशी भाषामा लेखिएका यात्रा–पुस्तकहरू खासै उपलब्ध नभए पनि स्वयं नेपाली लेखकहरूले यस दिशामा साना–ठूला पुस्तकाकार रचना सिर्जेका छन् । यात्रासाहित्यका अनुरागीहरूले यस्तै स्वदेशी सिर्जनाबाटै पनि यायावरीय स्वाद लिँदै आएका छन् । यद्यपि, सानोतिनो घुमक्कडी गरेकोलाई नै विषय बनाएर जबर्जस्ती ‘नियात्रा’ लेख्नेहरूको जमात पनि यहाँ सानो छैन । यात्रासाहित्यको बजार देखेर बलात् यसतर्फ हात चलाउनेहरूले समयसमयमा यसको राम्रै हुर्मत नलिएका पनि होइनन् । तर, गुल्मेली धर्तीपुत्र हरिप्रसाद भण्डारीले हालै सार्वजनिक गरेको यात्रा–पुस्तक ‘कुनमिनको सेरोफेरो’ यस्ता तिलस्मभन्दा माथि छ र धेरै अर्थमा फरक पनि ।
‘चिराग’ र ‘अस्व ीकृत कथाहरू’ गरी दुई कथासंग्रह, ‘अविरल यात्रा’ र ‘काला सर्पको खोजी’ गरी दुई लघुकथासंग्रह अनि एक बालकथासंग्रह ‘चरीका रमाइला कथा’ यसअघि नै प्रकाशित गराइसकेका भण्डारी दुई वर्षपहिले सेप्टेम्बर २०११ मा चीनको चौथो ठूलो सहर कुनमिनको दुई हप्ते औपचारिक भ्रमणमा जाने मौका जुरेको रहेछ । चीन सरकारको निमन्त्रणा र मिनिस्ट्री अफ पब्लिक सेक्युरिटीको आयोजनामा चिनियाँ युनान प्रान्तको कुनमिन सहरमा हुन लागेको दुई साता लामो ‘नेपाल बोर्डर ल इन्फोर्समेन्ट वर्कसप’ मा सहभागी हुन निजामती अधिकृत, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका अधिकृतसमेत २० जनाको टोलीका एक सदस्य भएर उनी त्यता लागेका थिए । उनले लेखेका छन्– ‘चीनले बोलायो, लग्यो । राम्रो ठाउँमा बसायो । मीठो खाना खुवायो । राम्रा ठाउँ देखायो । ज्ञानगुनका कुरा सुनायो र सकुशल नेपाल फर्कायो । यतिविधि माया आमा न मामा, कसैले गरेन । …भन्नलाई वर्कसप भनेर बोलाए पनि घुमाउने कार्यक्रम नै बढी हुँदो रहेछ, घुमाउने र खुवाउने । कति खान सक्छौ खाऊ, कति हेर्न सक्छौ हेर ।’
‘यात्राको वीजारोपण’ बाट सुरु भएर ‘हङकङ एअरपोर्टमा म्याराथन’ मा समाप्त हुने क्रममा पुस्तक यस्तै २७ शीर्षकमा विस्तारित छ । लेखक भण्डारीले यसमा आफूले पहिलोपटक एअरबस चढ्न पाएको, भारतबाहेक कुनै विदेशी मुलुक पहिलोचोटि टेक्न पाएको, अंग्रेजी राम्ररी सिक्न नपाएको दुखेसो, कुनमिनमा रहँदा–बस्दाका तीतामीठा अनुभव, चीनको विकास र नेपालको पछ्यौटेपन आदि अनेक कुरालाई समेटेका छन् । उनले यसमा नेपालीको समयलाई विचार नगर्ने बानीप्रति पटकपटक व्यंग्य गरेका छन्, एक ठाउँ त यसो भन्न भ्याएका छन्– ‘…नेपालीहरूले भैँंm गर्ने हो भने त बिहान ६.०० बजे उदाउनुपर्ने सूर्य १०.०० बजे उदाउँथ्यो होला । त्यस्तो भए के हाल हुँदो हो † …’
पुस्तक पढ्दा लाग्छ, लेखक हरिप्रसाद आफैँमा एकजना अत्यन्त सरल मनुवा हुन् । उनी जस्ता छन्, जस्तो बोल्छन्, त्यस्तै किताबभरि छरिएका छन् । भाषा रिडी र छल्दी खोलाहरूजस्तै सलल बगेको छ, कतै भँगालाहरू भेटिँदैनन् । ठुल्ठूला साहित्यिक जार्गन पनि कतै प्रयोग भएका छैनन् । वास्तवमा यात्रा लेख्ने व्यक्तिले ढाँटेर पाठकलाई ठग्नु हुँदैन । केवल कल्पना र सुनेको भरमा मात्र आफू त्यहीँ नै पुगेसरी लेखेर यात्रालेखक बन्ने ‘चतुरदास’ हुनुहुँदैन । भण्डारी यहाँ पनि अब्बल देखिन्छन् । उनले कुनमिन यात्रामा जे देखे, जे भोगे, जे अनुभव गरे, जे खाए र जे बोले– त्यो सबै जस्ताको तस्तै शब्दमा उतारिदिएका छन्, त्यो चाहे स्टोन फरेस्ट अथवा ढुंगाको संसार पुग्दाको होस् याछेन जियाङ तालको यात्रा र बर्मेली सिमानातिर पुग्न पाउँदाको अनुभव । उनीभित्रको साहित्यकारले घटना र प्रसंगहरूलाई एकपछि अर्को गर्दै मालामा फूल गुथेजस्तै गुथ्दै गएको छ, जसले गर्दा पुस्तक पढ्दै जाँदा पाठकले आफूलाई लेखकका विचारसित एकाकार भएको पाउँछ ।
समय र स्थान उल्लेख नगरे पनि लगभग डायरी शैलीमा यो पुस्तक सिर्जना गरेका लेखक भण्डारीले बीचबीचमा नेपाली उखान–टुक्कालाई राम्रै प्रयोग गरेका छन् । निजामती प्रशासनको प्रवृत्तिबारे एक ठाउँ ‘काम गर्ने रामे, सुविधा लिने श्यामे’ भन्ने उखान कोट्याएका छन् । अर्को एक ठाउँ बुद्धको प्रसंगमा चिनियाँ गाइडसित कुरा हुँदा मनमनै भनेका छन्– आमाका अगाडि मामाघरको बखान । यस्तो शैली उनले अनेक स्थानमा अपनाएका छन् । लुम्बिनी अञ्चलतिर व्यापक प्रयोग हुने कनकर्नो, सुपो, भाँउतो, तुर्नु आदि अनेक शब्दले उनको लेखनलाई ‘टिपिकल’ तुल्याएका छन् । यद्यपि, उनले हरेकपटकको उल्लेखमा श्रीमती मीनालाई ‘घरबुढी’ भनेरै सम्बोधन गरिरहेको पढ्नुपर्दा त्यो शब्द नभनेको भए उनको लेखनको गरिमा अझ बढ्ने थियो भन्ने महसुस हुन्छ ।
सबै खुराक भएर पनि वर्णनात्मकता र मन आलोडित पार्ने सूक्ष्मतायुक्त खुराकको कमी खट्किन्छ । यसले गर्दा साहित्यिक मूल्यवत्ताका आँखाले हेर्दा प्रस्तुत पुस्तक यात्रासाहित्यमा अब्बल कृतिको रूपमा गणना हुन नसके पनि सीमको श्रेणीभन्दा भने धेरै माथि छ । सायद लेखक भण्डारीलाई यस्तै लाग्दो हो किनभने कुनमिनबाट उनी फर्केको धेरै समय बितिसकेको छ र पनि उनको अनुभव छ– (कुनमिनमा भए गरेका) सबै घटनाहरू विपना हुन् भन्ने जान्दाजान्दै पनि सपनाजस्तै लागिरहेछ ।

प्रतिक्रिया