काठमाडौं, ९ चैत । फाइनान्सबाट फड्को मारेर वाणिज्य बैंक बनेको किस्ट बैंक र हालै भाजुरत्न फाइनान्सलाई आफूमा गाभेको भिबोर विकास बैंकबीच मर्ज हुने भएको छ । राष्ट्र बैंकले मर्जर विनियमावली ल्याएर केही सहुलियत दिएपछि बैंक तथा वित्तीय संस्था स्वत:स्फुर्त रूपमा मर्जरमा जान तम्सिएका छन् । दुवै संस्थाको खराब कर्जा अहिले राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी छ । घरजग्गामा कर्जा केन्द्रित कर्जा उठ्न नसकेपछि दुई बैंक मर्जरमा जाने निर्णयमा पुगेको हो । राजधानीमा आयोजित एक समारोहबीच दुवै संस्थाका प्रतिनिधिको उपस्थितिमा मर्जरसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा किस्ट बैंकका प्रबन्ध सञ्चालक कमल ज्ञवाली र भिबोरका सञ्चालक रूप ज्योतिले हस्ताक्षर गरेका छन् ।
मर्जर प्रक्रियालाई गति दिन एक मर्जर कमिटिको गठन गरिने र सम्पत्ति तथा दायित्व मूल्यांकन (डिडिए)को लागि ख्यातिप्राप्त लेखापरीक्षकलाई नियुक्त गरिने कार्यक्रममा जानकारी दिइयो । डिडिएको प्रतिवेदन प्राप्त भएपछि मात्र स्वाप अनुपातबारे निर्णय गरिनेछ । स्रोतका अनुसार घरजग्गामा अत्यधिक लगानी गरेर समस्यामा परेका गुण समूहका राजेन्द्र शाक्यले किस्ट बैंकमा भएको सेयर ज्योति समूहले किन्ने भएपछि मर्जरमा जानुपरेको हो । गुण सिनेमा, गुण ज्यास: पस:, गुण को–अपरेटिभ, गुण कोलोनीलगायतमा लगानी गरेका शाक्यले पछिल्लो समयमा घरजग्गा क्षेत्रमा मन्दी छाएपछि समस्यामा परेका छन् ।
यसअघि ज्योति समूहले घरजग्गा क्षेत्रमै अत्यधिक लगानी केन्द्रित गरेका कारण समस्यामा परेको भिबोर विकास बैंकमा समूहको अत्यधिक लगानी रहेको भाजुरत्न फाइनान्स गाभेका थिए । एक व्यक्ति वा समूह दुई फरक वित्तीय संस्थामा रहन नदिने राष्ट्र बैंकको नीतिका कारण मर्जरमा जान बाध्य भएका हुन् ।
मर्जरका लागि किस्टबाट चार जना र भिवोरबाट दुई जना मर्ज कमिटीमा हुनेछन् । भिवोरबाट रूप ज्योती र अजय घिमिरे छन् । किस्टबाट कमल ज्ञवाली, ज्ञानबहादुर जिसी हुनेछन् भने किस्ट बैंककै नायव प्रमुख कार्यकारी अधिकृत बिएन घर्ती सदस्य सचिव हुनेछन् ।
मर्जरपछि पनि बैंकको नाम किस्ट नै राखिने र अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत पनि किस्टबाटै हुनेछन् । मर्जर ६ महिनाभित्र सकाउने गरी प्रक्रिया अघि बढेको बताउँदै उनले चाँडोमा असारसम्म मर्जर सकाउने गरी कार्य अघि बढेको बताए । मर्जअघि दुवै बैंकको खराब कर्जा अनुपात पाँच प्रतिशतको सीमामा राखिनेछ । अहिले भिबोरको खराब कर्जा ३३ प्रतिशत छ भने किस्टको साढे ७ प्रतिशत खराब कर्जा छ ।
अहिले किष्टका ५१ शाखा छन् भने भिबोरका ६ शाखा छन्, मर्जपछि दुवैका गरी ५७ शाखा हुनेछन्, दुवै बैंकका एकै स्थानमा शाखा भए शाखा रिलोकेट गरिने भएको छ । किस्टको करिब साढे तीन लाख ग्राहक छन् । त्यसैगरी ज्योती समूहको शाखाले पनि संस्था बलियो बन्नेछ । मर्जपछि बन्ने किस्टमा पनि ज्योती समूहको २५ प्रतिशत सेयर रहनेछ ।
किस्ट बैंक स्रोतका अनुसार ज्योति समूहले अहिले नै किस्टको केही सेयर खरिद गरिसकेको छ । ज्योतीले किस्टमा योसहित २५ प्रतिशत सेयर खरिद गर्नेछन् । शाक्यको समूहसँग किस्टमा २५ प्रतिशत सेयर छ, यो सेयर ज्योतिले किन्न लागेका हुन् । अहिले किस्टको चुक्ता पुँजी दुई अर्ब रुपियाँ छ भने भिबोरको ९१ करोड ६२ लाख रुपियाँ छ । नेपाल स्टक एक्सचेन्जमा मंगलबार किस्ट बैंकको प्रतिकित्ता २ रुपियाँ घटेर १ सय ३७ रुपियाँ र भिबोर विकास बैंकको १ सय ९ रुपियाँ कारोबार भएको थियो ।
किस्ट बैंकसँग करिब २१ अर्ब रुपियाँको निक्षेप छ भने १७ अर्ब ५९ करोड रुपियाँ कर्जा लगानी गरेको छ । बैंकको पुँजी पर्याप्तता अनुपात १० दशमलव ८० प्रतिशत रहेको छ । त्यसैगरी भिबोर बैंकसँग २ अर्ब ८६ करोड रुपियाँ निक्षेप र एक अर्ब ६८ करोड रुपियाँ ऋण लगानी छ । भिबोरको पुँजी कोष १३ दशमलव ७८ प्रतिशत रहेको छ । किस्टले रियलस्टेटमा दुई अर्ब ५६ करोड रुपियाँ र भिबोरले ५० करोड रुपियाँ कर्जा प्रवाह गरेका छन् । दोस्रो त्रैमासिकको वित्तीय विवरणमा किस्ट बैंक सात करोड रुपियाँमा र भिबोर बैंक ११ करोड रुपियाँ घाटामा छ ।
पछिल्लो समय स–साना वित्तीय संस्था मात्र होइन, ठूलो आकारको कारोबार गर्ने वाणिज्य बैंकहरू पनि मर्जरमा जान थालेका छन् । ग्लोबल बैंकले आइएमई फाइनान्स र लर्ड बुद्ध फाइनान्सलाई आफूमा गाभेर ग्लोबल आइएमइका रूपमा कारोबार गरिसकेको छ भने माछापुच्छ्रे बैंकले पनि स्ट्यान्डर्ड फाइनान्सलाई आफूमा गाभिसकेको छ । निकट भविष्यमा ‘क’ वर्गका दुई ठूला बैंकहरू एनआइसी बैंक र बैंक अफ एसिया एक आपसमा गाभिएर संयुक्त रूपमा कारोबार गर्नेछन् । दुवै बैंकले डिडिए सकाएर विशेष साधारण सभाबाटसमेत एक आपसमा मर्ज हुने प्रस्ताव पारित गराइसकेका छन् ।
प्रतिक्रिया