चिनियाँ राष्ट्रपति रुस जाने

बेइजिङ : चिनियाँ राष्ट्रपति सि जिनपिङले रुस भ्रमण गर्ने भएका छन् । चीनको सर्वोच्च कार्यकारी पदमा निर्वाचित भएपछि उनले रुसलाई पहिलो विदेश गन्तव्य बनाउने भएका हुन् । यसबाट चीनले जिनपिङको कार्यकालमा रुससँगको सम्बन्धलाई मुख्य प्राथमिकता दिने देखिएको छ ।
राष्ट्रपति जिनपिङले आगामी शुक्रबारदेखि रुस भ्रमण गर्ने तय भएको छ । आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनको निमन्त्रणमा रुस जाने भएका उनले पुटिनलगायत रुसका मुख्य नेतासँग भेटवार्ता गर्ने तय भएको छ ।
सबैभन्दा बढी ऊर्जा खपत गर्ने मुलुकका रूपमा परिचित चीन रुसको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । विश्वको दोस्रो ठूलो अर्थतन्त्रकासमेत रहेको चीन र रुसबीच विभिन्न अन्तर्राष्ट्रिय राजनीतिक, आर्थिक तथा सुरक्षासँग सम्बन्धित विषयमा समान धारणा रहने गरेको छ । दुवै राष्ट्र राष्ट्रसंघ सुरक्षापरिषद्का स्थायी सदस्य हुन् । (एएफपी)

प्रतिक्रिया