“संविधान बनाउन कांग्रेसले बहुमत ल्याउनुपर्छ”

Ramchandra Poudelपोखरा, ७ चैत । कांग्रेस उपसभापति रामचन्द्र पौडेलले नयाँ संविधान बनाउन अबको चुनावमा कांग्रेसले बहुमत ल्याउनुपर्ने बताएका छन् ।

पोखरामा मंगलबार नेपाल नाई संघको छैठौँ राष्ट्रिय महाधिवेशन उद्घाटनपछि उपसभापति पौडेलले विगतमा कांग्रेस हार्दा संविधानसभा नै हारेको जिकिर गर्दै यस्तो दाबी गरेका हुन् । ०६२/६३ को जनआन्दोलनमार्फत जनताले पूर्ण स्वतन्त्र र लोकतान्त्रिक पद्धतिको विकास चाहेकोमा चुनावी परिणाम उल्टो आउँदा ‘मूढोलाई ताकेर हान्दा घुँडो’मा लागेजस्तै भएको पौडेलले बताए ।
संविधानसभाको नयाँ चुनावका लागि एमाओवादी नेतृत्वको सरकार हट्नै पर्ने र नयाँ सरकार बनाउन चार दलको सहमति चाहिने भएकाले प्रधानन्याधीश खिलराज रेग्मीको नेतृत्व स्वीकार गर्नुपरेको उनले सुनाए । संविधानसभा विघटनपछि आफूहरूसँग भट्टराई सरकार हटाउने कुनै आधार नभएको र राष्ट्रपतिले चार दलको सहमतिमा जे हुन्छ त्यही मात्र मान्छु भनेकाले चुनावमा जान अन्य विकल्प नभएको उनको भनाइ थियो । ‘माओवादीले यसै सत्ता छाड्दैनथ्यो, हामीले माओवादी र माओवादीले हामीलाई स्वीकार्न सक्ने अवस्था रहेन,’ पौडेलले भने, ‘स्वस्थानीमा हात्तीलाई राजा चुन्न लगाएजस्तो गर्न पनि सुहाएन, त्यसैले चुनावका लागि प्रधानन्यायाधीशलाई स्वीकार गरेका हँैँ ।’
पौडेलले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीशको पासो फालेको र त्यो पासोमा आफूहरूले एमाओवादीलाई नै फसाएको दाबी गरे । पहिले कांग्रेस सभापति सुशील कोइरालालाई प्रधानमन्त्री बनाउँ भनेर प्रचण्ड पछाडि हटेको प्रसंग उल्लेख गर्दै उनले प्रधानन्यायाधीशको पासो पनि त्यसैगरी प्रचण्डले नै फालेको र आफूहरूले स्वीकार गर्दा उनी फसेको टिप्पणी गरे ।
प्रधानन्यायाधीश खिलराज रेग्मीलाई सरकारको नेतृत्व दिँदा प्रधानन्यायाधीश पद त्याग गर्नुपर्ने कुरा आफूहरूले जोडदारका साथ उठाएको उल्लेख गर्दै सोमबारको सर्वोच्च अदालतको फैसलाले त्यसलाई पुष्टी गरेको उनको भनाइ थियो । शक्ति पृथकीकरणको सिद्धान्त भने संविधानसभा विघटन भएदेखि नै तोडिएको उनले जिकिर गरे ।
पछिल्लोपटक प्रधानन्यायाधीशको नेतृत्वमा अन्तरिम चुनावी मन्त्रिपरिषद् गठनपछि नेताहरूको आलोचना भइरहेका बेला उनले भने नेतालाई गाली गर्ने फेसन विवेकहीन प्रवृत्ति भएको बताए । ‘सय भारी खर काट्ने र सय भारी खरमा सलाई कोरेर आगो लगाउनेलाई एउटै ढंगले हेर्नुभएन,’ उनले भने, ‘कांग्रेसले हलो जोतेर आन्दोलन सुरु गरेको छ । माओवादी ले रक्तपातबाट गरेको छ, माओवादीको सुरुआत नै गलत थियो, इतिहास हेरे हुन्छ ।’

प्रतिक्रिया