‘प्रभावशाली विकास नतिजा हासिल’

काठमाडौं, ६ चैत । ‘अनगिन्ती चुनौतीका बाबजुद नेपालले प्रभावशाली विकास नतिजा हासिल गरेको छ । यो नतिजाले नेपाललाई अन्य युद्ध अन्त्य भएका देशभन्दा भिन्न बनाएको छ,’ विश्व बैंक दक्षिण एसियाका उपाध्यक्ष इसाबेल गुएरेरोले भने ।

नेपाल र विश्व बैंकले विकास साझेदारी गरेको ५०औँ वर्ष मनाउन आयोजित कार्यक्रममा गुएरेरोले ५ दशकमा गरिबी निवारण, पूर्वाधार विकास, सार्वजनिक सुनुवाइ र मानव संशाधनको सुधारमा उल्लेख्य प्रगति भएको बताए ।
‘अहिले जन्मेको बच्चाले सन् १९७० मा जन्मेको बच्चाभन्दा २५ वर्ष बढी जीवन बाँच्न सक्नेछ । हरेकजसो नेपाली बालबालिका स्कुल जाने गर्छन् भने स्कुल करिब आधा घन्टाको दूरीमा अवस्थित छ,’ गुएरेरोले भने । नेपाली युवा जनसंख्या, बढ्दो निजी क्षेत्रको लगानी र समुदायमा आधारित विकास तथा विकासका लागि राजनीतिक वृत्तबाट सहयोग जस्ता कुरामा विस्तारै अगाडि गइरहेको उनले बताए । ‘नेपालको सामाजिक विकास गर्नसक्ने क्षमताले भविष्यमा राजनीतिक स्थायित्व ल्याउन र अहिलेको लगानीका लागि भएका अवरोध हटाएर निजी क्षेत्रलाई उत्साहित गर्नसमेत सहायक सिद्ध हुनेछ,’ उनले भने । भविष्यको शासकीय संरचना र संगठनलाई बढी उत्तरदायी र फलदायी बनाउनसमेत मद्दत मिल्ने उनले बताए ।
परराष्ट्र एवं गृहमन्त्री माधवप्रसाद घिमिरेले नेपालको सबैभन्दा ठूलो सफलता भनेको गरिबी घटाउनु रहेको बताउँदै नेपालले गरिबी निवारणको सन्दर्भमा सहस्राब्दी विकास लक्ष्य हासिल गर्ने काम पहिल्यै पूरा भइसकेको बताए । नेपालका पुरुष र महिलाको अत्यावश्यक सामाजिक सेवामा समेत पहुँच पुगेको उनले जानकारी दिए ।
विश्व बैंक समूहले सन् १९६३ मा पहिलो आर्थिक मिसनका रूपमा नेपाल भित्रेकोमा सन् १९६९ मा दूरसञ्चार आयोजनाका लागि पहिलोपटक ऋण सेवा प्रदान गरेको थियो । त्यसपछि अहिलेसम्म गरेर नेपालले २ अर्ब ६० करोड अमेरिकी डलर ऋण र ९७ करोड ५० लाख अमेरिकी डलर अनुदान प्रदान गरिसकेको छ । हाल बैंकले विभिन्न १७ आयोजनामा १ अर्ब ३५ करोड अमेरिकी डलर सहयोग गरिरहेको छ । बैंकले हरेक वर्ष २० करोड अमेरिकी डलर अन्तर्राष्ट्रिय विकास संघ (आइडिए)मार्फत सहयोग गर्दै आएको छ । विश्व बैंक समूहको निजी लगानी गर्ने निकाय अन्तर्राष्ट्रिय वित्त निगमले ५० करोड अमेरिकी डलर विभिन्न पोर्टफोलियोमा र ६ लाख ३५ हजार डलर विभिन्न परामर्श सेवामा लगानी गरेको छ ।

प्रतिक्रिया