‘चुनाव गरे हातखुट्टा भाँच्छौँ’

Mohan-Baidhyaकाभ्रे, ६ चैत । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले यही अवस्थामा निर्वाचनमा गए सबै दलका नेता तथा कार्यकर्ताको खुट्टा भाँचिदिने चेतावनी दिएका छन् । खुट्टा मात्रै भाँच्ने होइन, गाउँ आए मोसो दलेर लखेट्ने उद्घोष गरे । ०५५ साल चैत ५ गते काभ्रेको अनेकोट गाविस–१ मा तत्कालीन नेकपा–माओवादीका ७ जना कलाकारलाई जिउँदै आगो लगाएर मारेको विरोधमा नेकपा–माओवादीको अखिल नेपाल जनसांकृतिक महासंघले आयोजना गरेको १४औँ सांस्कृतिक प्रतिरोध दिवसमा वैद्यले उक्त चेतावनी दिएका हुन् ।

‘संविधानसभा ध्वस्त बनाएर, भारतीय सामन्तवादलाई बुझाउँदै न्यायालयसमेत कब्जा गरेर चार दलले घोषणा गरेको निर्वाचन स्वीकार्य हुँदैन, हामी चुनाव मान्दैनौँ,’ वैद्यले भने । ‘अब नयाँ खालको युद्ध हुन्छ, कांग्रेस, एमाले, एमाओवादी, मधेसी मोर्चा र पञ्चसमेतका क्रान्तिकारी र बाहिर रहेका क्रान्तिकारीहरूको एउटै मोर्चाबाट क्रान्तिको घोषणा हुनेछ,’ उनले भने, ‘हामीले सुरु गरेको क्रान्ति र बन्दुकले सबै ध्वस्त पार्नेछ । त्यतिबेला कोही दलका नेताहरूले संसद्वादी मोर्चा बनाएर सत्तामा रहने सपना नदेखे हुन्छ ।’ बन्दुक पक्रिएर सबै ध्वस्त बनाइदिने उद्घोष वैद्यले गरे । जनयुद्ध र जनविद्रोह नेकपा–माओवादीका लागि ठूलो नभएको बताउँदै अध्यक्ष वैद्यले एमाओवादी अध्यक्ष प्रचण्ड र बाबुरामले जनतालाई धोका दिँदै सहिदको रगतमा होली खेलेकाले जनजीविकाको समस्या र सहिदको सपना पूरा गर्न क्रान्ति र बन्दुक आवश्यक भएको बताए । ‘म आजै घोषणा गर्न तयार छु, सहिद बनेर मर्न तयार भएँ तर जनता र देशलाई धोका दिन्नँ,’ वैद्यले उद्घोष गरे । संविधानसभा भारतमा लगेर बुझाएर फेरि केको संविधानसभा ? सामन्त, दलाल र भ्रष्टहरूलाई गाउँमा भोट होइन मोसो दल्ने अभियान सुरु भइसकेको उनले बताए ।
दैलेखेको घटना ब्युँत्याएर कांग्रेस, एमालेले देखेको सपना पूरा हुन नदिने चेतावनी दिँदै वैद्यले भने दैलेखका जस्ता घटना हजाराँै घटेका छन्, कसैलाई मुद्दा चलाइन्छ भने त्यसको सामना र प्रतिवाद गर्न तयार भएको उद्घोष गरे । कार्यक्रममा नेकपा–माओवादीका संयोजक मातृका यादवले युद्धको तयारी सुरु भएको बताए । क्रान्तिकारीहरूको एकता सुरु भएकाले छिट्टै त्यसको घोषणा हुने र अब हुने निर्वाचन जसरी भए पनि हुन नदिने यादवले बताए । सोही कार्यक्रममा नेता मणि थापाले बाबुराम र प्रचण्डजस्ता गद्दारले सहिद र देशको सपनालाई लात हानेको टिप्पणी गरे । दुवै माओवादीको एकै स्थानमा एकै प्रकृतिको कार्यक्रम आयोजना गरिएकाले झडपको सम्भावना बढेको थियो । आइतबार साँझसम्म दुवै पक्षले सहिदपार्क नछाड्ने अडान लिएपछि प्रमुख जिल्ला अधिकारी ऋषिराम ढकालले मध्यस्थताको भूमिका निभाएका थिए । झडप हुने आशंकामा २ सयभन्दा धेरै सशस्त्र र जनपद प्रहरी परिचालन गरिएको थियो । दुवै माओवादीले ५ सय मिटरको फरकमा कार्यक्रम आयोजना गरेका थिए । कार्यक्रम अवधिभर प्रजिअ ढकाल र एसपी गीता उप्रेती बीचमा अनुगमन गरिरहेका थिए ।
एमाओवादीले अनेकोटमै आयोजना गरेको जनसांस्कृतिक विरोध सभालाई एमाओवादी नेता कृष्णबहादुर महराले सम्बोधन गरे । महरासँगै पार्टी प्रवक्ता अग्नि सापकोटा, पोलिटब्युरो सदस्य विश्वभक्त दुलाललगायतले बोलेका थिए । वैद्य समूह चोइटिएकाले फर्कने बताउँदै कार्यकर्तालाई आश्वासन बाँड्न भुलेनन् । अनेकोटका सामूहिक हत्याकाण्डमा अग्नि सापकोटाकी भतिजी सुभद्रा पनि मारिएकी थिइन् ।

प्रतिक्रिया