इलाम उवा संघमा सापकोटा

इलाम : उद्योग वाणिज्य संघ इलामको छैटौँ जिल्ला अधिवेशनबाट महिला उद्यमी सुशीला सापकोटा विजयी भएकी छन् । शनिबार मध्यराति सम्पन्न मतगणनाबाट सापकोटाले दुई सय ७४ मत प्राप्त गरी विजयी भएकी हुन् ।

आफ्ना प्रतिद्वन्द्वीलाई एक सय ३४ मतान्तरले पछि पार्दै सापकोटा नेतृत्वमा आएकी हुन् । उनका निकटम प्रतिद्वन्द्वी केदार श्रेष्ठले एक सय ४० र अध्यक्षकै अर्का प्रत्यासी कृष्णप्रसाद श्रेष्ठले ८९ मत मात्र प्राप्त गरेका थिए । त्यस्तै संघको प्रथम उपाध्यक्षमा तीन सय ५९ मत प्राप्त गरी नुतनदेव दुलाल विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी चन्द्र बस्नेतले एक सय नौ मत मात्र प्राप्त गरे । द्वितीय उपाध्यक्षमा एक सय ८७ मत प्राप्त गरी ईश्वर चिपालू विजयी बने । उनका निकतम प्रतिद्वन्द्वी धनमान बराइलीले एक सय ७७ र ऋषिप्रसाद श्रेष्ठले एक सय २० मत मात्र पाए ।
महासचिवमा दुई सय ७६ मत ल्याई विजय खाकी निर्वाचित भए । उनका प्रतिद्वन्द्वी विजय राईले एक सय १० र चिरञ्जीवी श्रेष्ठले ९१ मत ल्याए । सचिवमा तीन सय २७ मत ल्याएर दुर्गा (मदन) श्रेष्ठ विजयी बने । उनका प्रतिद्वन्द्वी रत्नबहादुर कोइरालाले ८९ र पुष्पलाल आचार्यले ६८ मत प्राप्त गरे । त्यसैगरी कोषाध्यक्षमा तीन सय १८ मत प्राप्त गरी आनन्द कट्टेल चुनिए । उनका प्रतिद्वन्द्वी दिपेन्द्र चापागाईंले एक सय ४१ मत प्राप्त गरेका थिए ।
संघको महिला सदस्यमा अनुजा सुवेदी र दिव्य भट्टराई विजयी भएका छन् । यस्तै अन्य ६ जना कार्यसमिति सदस्यहरूमा बिमल खड्गी, दीपेश श्रेष्ठ, हेमन्त गौतम, महेश कार्की, देवेन्द्र शंकर र मोति गौतम निर्वाचित भएका छन् । शनिबार बिहानबाट नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु भएकोमा गएराति दुई बजे मात्र मतगणना सम्पन्न भएको थियो । अधिवेशनको उद्घाटन सत्र अढाई महिनाअघि नै सम्पन्न गरेको वाणिज्य संघको विवादका कारण शनिबार मात्र निर्वाचन भएको थियो । सात सय ७२ मतदाता रहेको वाणिज्य संघको १३ सदस्यीय समितिका लागि ४० जनाले उम्मेदवारी दिएका थिए ।

प्रतिक्रिया